शनिबार मध्य रातमा डा. कोसीको अनसन तोडियो

शनिबार मध्य रातमा डा. कोसीको अनसन तोडियो तरुण खबर २५ आश्विन २०७७, आईतवार ११:३०
शनिबार मध्य रातमा डा. कोसीको अनसन तोडियो

चिकित्सा क्षेत्र सुधारको माग पुरा, कार्यान्वयनमा अझै आशंका

काठमाडौं । डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएपछि अनसन तोडिएको छ । २७ दिनको दिन डा.केसीले १९औं अनसन तोडेका हुन् । चिकित्सा क्षेत्र सुधारको माग राख्दै उनी अनसन बसेपछि सरकारमाथि चौतर्फी माग पुरा गर्न दवाव परेको थियो । डा. केसीले १९औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो ।

वार्तामा सहमति भएपछि उनी २७औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् । सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपिनाथ मैनालीले ट्वीट गर्दै लेखेका छन्– आज राती (शनिबार) १२.५ मा अनसनरत प्रा.डा.गोविन्द केसी र नेपाल सरकारबीच डा.केसीले उठाउँदै आउनु भएको चिकित्सा सेवा सम्बन्धि ८ बुँदे सहमति भै अनसन तोडिएको छ । डा.केसीले उठाउँदै आएका मागमा सरकारले सहमति गरे पनि कार्यान्वयनमा भने सुरुमै आशंका गरिएको छ । किन भने यसअघि गरिएको सहमति कार्यान्वयन भएको भए १९आंै पटक अनसन बस्नु पर्ने अबस्था आउने थिएन ।

डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन साताभित्र सुझाबसहितको मस्यौदा तयार पार्ने, कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने  तथा राष्ट्रिय चिकित्सा ऐन संशोधन गर्न गठित कार्यदलको क्षेत्राधिकारभित्र सरकार र डा. केसीबीच १० साउन २०७५ मा भएको सम्झौता अनुसार छुट भएका विषयलाई समेत राख्ने, स्नातकोत्तर तहको सिट विभाजनमा चिकित्सा शिक्षा आयोगको परामर्शमा पुनरावलोकन गर्ने सहमति पनि भएको छ । सबै सहमति कार्यान्वयन गर्ने सहमति पनि सरकार र डा. केसीबीच भएको छ ।