फुटबलका महारथी डिएगो म्याराडोनाको निधन

फुटबलका महारथी डिएगो म्याराडोनाको निधन तरुण खबर ११ मंसिर २०७७, बिहीबार १२:३५
फुटबलका महारथी डिएगो म्याराडोनाको निधन

काठमाडौं । ६० वर्षकै उमेरमा अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको हिजो बुधबार हृदयघातका कारण निधन भएको हो । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको एक अस्पतालमा म्यारोडोनाको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यो शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेरका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

१९८२ मा पहिलो पटक वर्ड कपमा फुटबल खेलेका म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । उनले त्यतिबेला ५ गोल गरेका थिए भने ५ गोलका लागि सहयोग गरेका थिए । डिएगो सर्वश्रेष्ठ खेलाडी मात्र घोषित भएनन्, गोल्डेन बल पनि उनैले पाएका थिए । अर्जेन्टिनामा मात्र होइन त्यसबेलादेखि डिएगो म्याराडोना विश्व चर्चित बनेका हुन् । कुनै समय ड्रग्स र रक्सीका कारण चर्चामा आएको महान फुटबलर म्याराडोनाको निधनमा अर्जेन्टिनी फुटबल एशोसिएसनले शोक मनाउने भएको छ । डिएगो म्याराडोनाले चार पटक वर्डकपमा भाग लिएका थिए ।

१० वर्षको उमेरदेख उनले स्थानीय क्लब एस्त्रोला रोसामार्फत फुटबल खेल्न सुरु गरेका हुन् । डिएगो म्याराडोना असाधारण खेलका कारण चर्चित बनेका हुन् । १५ वर्षकै उमेरमा अर्जेन्टिनाको पेशेवर खेलाडीका रुपमा देखा परेका उनले १६७ म्याच खेले र ११५ गोल ठोकेका थिए । १९९७ मा म्याराडोनाले खेलजीवनबाट सन्यास लिएको बताइन्छ तर २००८ लियोनल मेस्सीको टिमको कोच बनेका थिए ।

पछिल्लो समय अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटो विरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए । यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए ।