फुटबलका महारथी डिएगो म्याराडोनाको अन्त्यष्टि

फुटबलका महारथी डिएगो म्याराडोनाको अन्त्यष्टि तरुण खबर १३ मंसिर २०७७, शनिबार १२:३१
फुटबलका महारथी डिएगो म्याराडोनाको अन्त्यष्टि

काठमाडौं । फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको थियो । अर्जेन्टिनाको जनसंख्या ४ करोड ५३ लाख ६३ हजार ६७१ छ । बुधवार ६० वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको थियो ।

उनको निधनमा विश्वभरि नै शोक प्रकट गरिएको छ । तर सबैभन्दा धेरै शोक उनको देश आर्जेन्टिनामा परेको छ, जहाँ उनलाई राष्ट्रिय विभूति मानिन्छ । उनको शवपेटिकालाई आर्जेन्टिनाको राष्ट्रिय झण्डा तथा उनको चर्चित १० नम्बरको जर्सीले बेरिएको थियो । उनको शवलाई राष्ट्रपति भवनमा सार्वजनिक सम्मानका निम्ति राखिएको थियो । उनलाई अन्तिम बिदाइका निम्ति मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए ।

त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो । कैयन मानिसहरू रोएका देखिन्थे भने कैयनले हावामा चुम्बन गरेर उनको स्मरण गरेका थिए । उनको पार्थिव शरीर राखिएको शवपेटिका सामु धेरैले प्रार्थना गरेका थिए । भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो ।

शान्ति कायम गर्नका निम्ति अधिकारीहरूले उनको शवको सार्वजनिक प्रदर्शन रोकेका थिए । त्यसपछि मोटरमा राखेर बेला भिस्टा चिहानस्थलमा लगियो जहाँ उनका आमाबुवालाई गाडिएको ठाउँ नजिकै उनको शव पनि गाडिएको थियो वीवीसीले समाचारमा लेखेको छ । विश्वका एक सर्वकालिक महान फुटबल खेलाडी म्याराडोनाको व्यक्तिगत जीवन भने दोषयुक्त थियो । उनी लागुऔषध कोकेन तथा रक्सीको कुलतमा फसेका थिए । नोभेम्बर महिनाको शुरूमा उनको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । उनलाई रक्सीको कुलतबाट छुटाउन उपचार गरिने भएको थियो ।

प्रारम्भिक जाँचमा उनलाई ’गम्भीर हृदयाघात’ भएको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसबखत उनी आफ्नै घरमा थिए । उनका पाँच छोराछोरी छन् । उनको ५८ वर्षीय पूर्व श्रीमती क्लडिया भिलाफेनसँग २० वर्षको सम्बन्धपश्चात् उनले सन् २००४ मा सम्बन्धविच्छेद गरेका थिए ।