परशु घिमिरे
सन् १७२१–२२ मै जेजुएट पादरी डेसीदेरीले नेवारहरूको शारीरिक बनावट र चेहराका बारेमा यस प्रकार लेखेका थिए– तिनीहरू ठिकैको उचाइ, हृष्टपुष्टका हुन्छन्, तिनीहरूमध्ये एकजनालाई एक हजार हिन्दुस्तानीहरूको बीचमा राखे पनि चिन्न सकिन्छ ।
नेवारहरूको भाषा र साहित्यलाई तिब्बती–बर्मेली भाषा समूहको उप–हिमाली शाखाअन्तर्गत गणना गरिएको पाइन्छ । शास्त्रीय नेवारी भाषमा मैथिली भाषका शब्दहरू पनि प्रशस्त पाइने ह्यान्स जोर्गेनसनको अभिमत छ । नेपालभन्दा बाहिर नेवार भाषाको प्रचारमा डेनमार्कका ह्यान्स जोर्गेनसन, ब्रायन हडसनद र अगस्त कोन्रेडीको महत्वपूर्ण योगदान छ । जोर्गेनसनले त सन् १९३५ मा विचित्र वणिका वदानोदृत, सन् १९३६ मा ए डिक्सनरी अफ क्लासिकल नेवारी, १९३९ मा बत्तीसपुतलीका कथा र सन् १९४१ मा ए ग्रामर अफ क्लासिकल नेवारी पुस्तक प्रकाशित गरेका छन् । जर्मन विद्वान प्राध्यापक लिन हार्डले मणिचुडा बदानोदृत नामक नेवारी ग्रन्थको अंग्रेजी भाषामा अनुवाद गरेका थिए । मिना–एम नामक एक रुसी विद्वानले नेवारी शब्द संकलन गरेका थिए ।
नेवारी कला, संस्कृति असाध्यै धनी मानिन्छ । संगीत नृत्यका प्रेमी नेवारहरू महादेवलाई नासःद्य (नृत्य देवता) को रूपमा पुज्दछन् । तन्त्रवादीहरू षोडस–लास्य नामक १६ नाच–गानका देवताहरूको पनि पूजाआजा गर्दछन् । नेवार समाजमा चर्चा (चर्या) तुतःको पुरानो परम्परा छ । यस्ता तीनवटा गीत राहुल सांस्कृत्यायनले पुरातत्व प्रबन्धवलीमा प्रकाशित पनि गरेको छ । नेवारहरूका परम्परागत राग–रागिनीमध्ये ब्याँचूली, वसन्त, घाटु, पुवज्या, सिना ज्या, शिलु र मालश्री आदि छन् । नेवारी परम्परागत वाद्य–वृन्दहरूमा प्यान्त भनेको दंग (मृदेंगको परिवर्तित रूप) हो । कोटा कोंचा खीं, पोंगा धिमे, देवखीं कहां (मलामी बाजा), दवदव डमरु र घ नदे खीं छन् । नेवाहरूले पछि अपनाएका नव–वाजन भनिने बाजाहरूमध्ये देशी खीं (बंगाली बाजा) मग खीं (मादल) डम्फू र पश्चिमा तवला आदि छन् । गीत गाउन र बाजा बजाउनमा कतिपय परम्परागत नियमहरू पालना गर्ने चलन नेवारहरूमा छ ।
उदाहरणको निमित्त वैशाखमा पर्ने चाड सिठी नखःदेखि असारमा पर्ने गठाँ मुगः सम्मको अवधिमा खीं भएका ढोलक बाजाहरू, देव खीं धीमे आदि बजाउन हुन्न भन्ने नियम नै छ । यी दुई महिनाभर किसानहरू खेतीमा व्यस्त हुनुपर्ने भएकाले गीत–नाचगान आदिमा लागेर कामतिर ध्यान नदेलान् भन्ने आशंकाले नेवार जातिका पुर्खाहरूले बाजा थन्क्याउने परम्परा बसालेका हुन् भन्न सकिन्छ ।
अहिले त उपत्यका नै कंक्रिटको सहरमा परिणत भइसकेको छ । संगीत र भजनलाई प्रोत्साहन दिने भजन गुठी, नृत्यमा प्रोत्साहन दिने तथा सिकाउन नासाः गुठी जस्ता गुठीले संगीत–नृत्यका परम्परालाई जोगाउन धेरै मद्दत गरेका छन् । नेवारहरूको सामाजिक र पारिवारिक परिपाटी बुभ्mनका लागि गुठी बुभ्mनैपर्ने हुन्छ । नेवारहरूको जीवनमा विशेष महत्व राख्ने यी गुठीहरूले उनीहरूको धार्मिक तथा सामाजिक अनुशासन कायम गरेको हुन्छ । गुठी सदस्यका परिवारहरूको गुठीद्वारा सञ्चालित पूजाआजा र भोजमा सम्मिलित हुने र आ–आपूmमा सहयोग गर्ने अधिकार राख्छन् ।
गुठीमा सम्मिलित नहुने व्यक्ति वा परिवारहरूलाई समाजच्यूत हुने परिस्थिति पनि आउन सक्छ । गुठीहरू धेरै प्रकारका हुन्छन् । सबैभन्दा प्रमुख सनाँ गुठी, सी गुठी र देवाली (द्यौ द्यो) गुठी हुन् । सनाँ गुठी र सी गुठीको मुख्या काम मृत्यु संस्कारसँग सम्बन्धित छन् । तापनि काममा केही फरकपन छ । किनकि सी गुठीले लास उठाउने र पोल्ने काम गर्छ भने सनाँ गुठीले भरसक लास उठाउँदा आवस्यक सहयोग गर्ने र मसानघाटसम्म सँगै गइदिने हो । सनाँ गुठीले भरसक मुर्दा पोल्ने काममा हात हाल्दैन । गुठी नाइकेलाई थकाली भनिन्छ । यो समाजमा नासःद्य गुठी (नाच गानसम्बन्धी देवताको गुठी), चःरे सेवा गुठी (अर्थात् चौथी पूजाको गुठी), होली गुठी, ससु गुठी (सरस्वती पूजाको गुठी) आदि । देवाली गुठी सनाँ गुठी जस्तै महत्वपूर्ण गुठी हो ।
ब्रायन हडसनका अनुसार नेवारी भाषामा अघिअघि देवताहरूलाई अपजी जुद्यो (अपजी जिज्यू बाजे) भनिन्थ्यो । यसैको आधारमा पितृ पूजाबाट उनीहरूका देवतालाई अजाज्यू भनेको पाइन्छ भन्ने डा.गोपालसिंह नेपालीको मत रहेको छ । कतिपय नेवारहरूमा मृत व्यक्तिहरूको अस्थि गाडेर तीमाथि चैत्य बनाउने परम्पराले र प्रचलित देवाली प्रथा आदिले पनि यो धारणालाई अझ दरिलो पारेको छ ।
तर परापूर्वकालमा नेवारी देवीदेवताको उत्पत्ति जसरी भएको भए पनि कतिवटा अपवादहरूलाई छाडेर नेवारहरू आज धेरैजसो हिन्दु र बौद्ध परम्परामा विश्वास गर्छन् । नेवार बौद्धहरू एक सर्वव्यापी, सर्वशक्तिमान ईश्वरलाई आदि बुद्धको नाउँमा कल्पना गर्दछन्, जसलाई स्वयम्भु पनि भनिन्छ । उनको एक अनन्त शिखाको रूपमा पूजा–अर्चना गरिन्छ । यी बुद्धका विभिन्न बोधिसत्व नामक अवतारहरू भए पनि तीमध्ये चतुर्थ बोधिसत्व पद्मापाणि (जसलाई मत्स्येन्द्रनाथ पनि भनिन्छ) ले चराचर जगत्को सिर्जना गरेका हुन् भन्ने बौद्धमार्गीहरूमा विश्वास छ ।
तर नेवारहरू बौद्धहरूले पनि हिन्दुहरू झै ब्रह्मा, विष्णु र शिवको अस्तित्व स्वीकार गर्दै आएका छन् । इन्द्र, गणेश, भगवती गरुड, लक्ष्मी र सरस्वतीलगायत आदिलाई पद्मपाणि लोकेश्वरकै सिर्जनाहरू हुन् भन्ने अनुमान गरेर तिनको पनि आराधना गर्ने गर्दछन् । शिवमार्गी नेवारहरूको निमित्त महादेव नै सबैभन्दा शक्तिमान देव हुन् भन्ने मान्यता राख्दछन् । काठमाडौंको पशुपतिनाथलाई श्रेष्ठ तीर्थ स्थान मान्दछन् । महादेवलाई नासःद्यो वा नटराजको रूपमा र लुक्मा द्यो (लुकेका शिव) को रूपमा काठमाडौंका नेवारहरूले पूजा गरेको देखिन्छ ।
तर नेवारहरूले दैनिक जीवनमा गणेश भगवानलाई अति महत्व दिएको पाइन्छ । गणेशको मन्दिर नभएको टोल वा गाउँ पाउन दुर्लभ नै हुन्छ । नेवार समुदायमा घरायसी धर्मकार्यमा थकाली नकीं अर्थात मुख्य महिलाले गणेशका पूजा नगरेको पाउनै मुस्किल हुन्छ । गणेश, भैरवका मन्दिर पनि हरेक टोलटालमा हुन्छन् । धेरै नेवारहरूमा सर्प मार्नु हुन्न भन्ने विश्वास भएकाले नागपूजाको परम्परा भएको अनुमान गर्न सकिन्छ । श्रावण शुक्ल पूर्णिमामा र तिहारमा गरी दुईपल्ट काग पूजा गर्ने, जनै पूर्णिमाको दिन खेतमा भ्यागुतालाई र कात्तिक शुक्ल द्वितीयामा हात्तीलाई पुज्ने रोचक परम्परा पनि नेवारहरूमा पाइन्छ ।