चन्द्रशमशेरको पालामा भारतमा छात्रवृत्ति–३

चन्द्रशमशेरको पालामा भारतमा छात्रवृत्ति–३ तरुण खबर १६ पुष २०७७, बिहीबार ०८:३०
चन्द्रशमशेरको पालामा भारतमा छात्रवृत्ति–३

भवेश्वर पंगेनी

सरकारी खर्चमा अध्ययन गर्न विदेश पठाइने विद्यार्थीहरू आफ्नो अध्ययन पूरा गरी फर्कदा राज्यले उनीहरूलाई सम्मान पनि गर्दथ्यो । यसै क्रममा उनीहरूलाई थानकोटबाट सम्मानका साथ हात्तीमा चढाएर श्री ३ महाराज, प्रधानमन्त्रीको दर्शन गराउन लगिन्थ्यो । राजकीय परम्पराअनुसार विद्यार्थीले श्री ३ महाराजलाई दाम राखेर दर्शन गर्नुपर्दथ्यो । यहाँनेर उल्लेख्य कुरा के पनि छ भने यस्ता विद्यार्थीले श्री ५ महाराज भेट्ने प्रचलन भएको पाइँदैन ।

तर विदेशबाट आफ्नो पढाइमा उत्तीर्ण भएर फर्कने कतिपय विद्यार्थीलाई श्री ५ ले बक्स दिएको उदाहरण पनि छन् । जस्तो, इन्टेन्स एसएलसी उत्तीर्ण गरेर फर्कने कर्णेल हर्षजंग थापा क्षेत्रीका छोरा चन्द्र थापा क्षेत्रीलाई श्री ५ ले दोसल्लाबापत बक्स दिनका निम्ति वि.सं. १९५८ सालमा नगद मोरु ३०० (तीन सय) दिएका थिए भने सोही वर्ष नै कोलकाताबाट पास भएर आउने वकिल लेफ्टिनेन्ट कर्णेल कुलानन्दका छोरा मानिकलाल र शुकदेव पण्डितको छोरा मदनदेव पाध्यालाई बाटो खर्च २१२.५० र दोसल्लाबापत २०० समेत जनही मोरु ४१२.५० (चार सय बाह्र रूपैयाँ पचास पैसा) दरले जम्मा ८२५ (आठ सय पच्चीस रूपैयाँ) श्री ५ को नाममा बक्स भएको थियो ।

अध्ययनका निम्ति भारतमा पठाउन कस्ता विद्यार्थीलाई छान्ने, छनोटको आधार के थियो भन्ने विषय पनि महत्वपूर्ण छ । राज्यको छात्रवृत्तिमा पढ्न भारत पठाउँदा वर्तमानमा जस्तो प्रतिस्पर्धा गराएर योग्य विद्यार्थीको छनोट प्रक्रिया र पढ्न पठाइने आधार निर्धारण गरेको पाइँदैन । यद्यपि भारतमा विभिन्न विषय पढ्न गएका विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमिका आधारमा यसबारे केही जानकारी पाउन सकिन्छ । जस्तो, बम्बईमा एमबी पढ्न पठाइएका यज्ञबहादुर बस्नेत क्षेत्री चन्द्रशमशेरसँग युरोप भ्रमणमा जाने मेजर (?) गंगाबहादुर बस्नेत क्षेत्रीका छोरा थिए । त्यति मात्र नभएर गंगाबहादुर चन्द्रशमशेरको समयका सफल दौडाहका रूपमा प्रसिद्ध पनि थिए ।
बनारसमा मेकानिकल इन्जिनियरिङ पढ्न पठाइएका चन्द्रदास गुप्ता प्रसिद्ध डा. सुरस चन्द्रदास गुप्ताका छोरा थिए ।

कोलकातामा डाक्टरी पढ्न पठाइएका देवमणि आदि चन्द्रशमशेरसँग युरोप भ्रमणमा जाने तथा चन्द्रशमशेरको कान्छी रानीका प्रमुख सल्लाहकारमध्येका पण्डित काशीनाथ आदिका छोरा थिए । यसबाट तत्कालीन प्रधानमन्त्रीसँग राम्रो तथा निकटको सम्बन्ध नै भारतमा पढ्न पठाइने विद्यार्थी छनोटको मूल आधार भएको देखिन्छ । त्यस्तै, भारदारको परिवारका सदस्यलाई मात्र त्यसरी पठाइन्थ्यो । जे होस्, अध्ययन पूरा गरेर फर्कने विद्यार्थीहरूले नेपालमा आई आप्mनो क्षेत्रमा उल्लेख्य योगदान दिएको पनि देखिन्छ । जस्तो रुड्कीबाट इन्जिनियरिङ उत्तीर्ण गरेर नेपाल फर्केका सूर्जेजंग थापा क्षेत्रीले वि.सं. १९८५ तिर नेपाल–तिब्बतबीचको सम्भाव्य युद्धका बखत तिब्बत जाने नाकाहरूमा ठूलो तोप लैजान हुने पक्की सडक बनाउने कार्य गरेका थिए । त्यस्तै, इन्टेन्स उत्तीर्ण गरी फर्केका चन्द्रजंग थापालाई चन्द्रशमशेरले युरोप भ्रमणमा लगेका थिए र वि.सं.१९८२ देखि १९८९ सम्म कोलकाताको वकिल नियुक्त गरेका थिए ।

प्रधानमन्त्री चन्द्रशमशेरको कार्यकालमा अध्ययनका निम्ति भारतमा पठाइएका व्यक्तिहरूले राणा शासनमा मात्र नभएर प्रजातान्त्रिक शासन व्यवस्था अर्थात् २००७ सालपछि पनि मुलुकका निम्ति महत्वपूर्ण योगदान दिएको पाइन्छ । जस्तो, चन्द्रशमशेरकै समयमा भारतमा बीए, बीएल पढ्न गएका गुञ्जमान सिंहलाई राजा महेन्द्रले वि.सं. २०१२ वैशाख १ गतेका दिन प्रिन्सिपल रोयल एड्भाइजर नियुक्ति गरी मुलुकको शासन सञ्चालनको जिम्मा दिएका थिए । त्यस्तै, देहरादुनबाट फरेस्ट रेञ्जर अध्ययन गरी फर्केका शेरजंग थापालाई प्रजातन्त्रको स्थापनापछि पनि वन र मालपोत विभागको सचिव बनाइएको थियो ।

यसप्रकार सरकारी सहयोगमा भारतबाट विभिन्न विषयमा अध्ययन गरी फर्कने विद्यार्थीमध्ये कतिले आ–आप्mनो क्षेत्रमा उल्लेख्य योगदान दिएका थिए । तथापि सरकारीस्तरबाट विदेशमा अध्ययनार्थ पठाइने विद्यार्थी छनोट तथा विषय छनोटको नियमसम्म पनि बनाइएको देखिँदैन । त्यसैले यस क्षेत्रमा प्रधानमन्त्रीको इच्छा नै नियम कानुनका रूपमा लागू भएको पाइन्छ ।

परिशिष्ट नम्बर १ : कौसितोषाखानाका हाकिम कारिन्दाले पूर्जिहेरी देशमा इलम सिक्न पढ्न पठाइबक्सेका तपसिलका लड्काहरूलाई पढुञ्ज्यालसम्म पाउने र पढ्न छोडी आयमा नपाउने गरी गरी वर्ष एकको तपसिलका दरले बक्स गरिबक्सेको छ, सो दरले सुरु मैन्हा मैन्हामा निज लड्काहरूले पढ्दै रहेको छन् भने पाठशाला बन्दोवस्त इन्स्पेक्टर अफिसको लेषौट पूर्जी निस्सा ली नीज लड्काहरूको मानिस हस्ते दीना के कालेज इस्कुल गोस्वाराका हाकिम् हस्ते स्याहामा बक्स खर्च लेषी दिने काम गर ।

परिशिष्ट नम्बर २:  कौसितोसाषानाका हाकिम कारिन्दाले पूर्जी हेरी डाक्टर सुरेशचन्द्र दास गुप्ताका छोरा चारु चन्द्रदास गुप्तालाई बनारसमा मिकानिकल इञ्जिनियरिङ पढ्न पठाइबक्सेको हुनाले नीजलाई ८१ साल मार्ग १ गतेदेखि स्वइलम् पढ्ने कोर्शषतम् गर्ने टाइम ८५ साल कात्तिकतक वर्ष ४ सम्मलाई पढुञ्ज्याल पाउने र पढ्न छोडी आयमा नपाउने गरि मैन्हाको कम्पनी ५० रूपैयाँका दर वर्ष १ को कम्पनी ६०० (छ सय) भत्ता ठेकी बक्सेको छ । सो बमोजिम किताप दर्ता गरी कलेज ईस्कूल गोस्वाराबाट लेषी आयाको भत्ताको रिपोर्टमा छाप लगाई दिनु भन्या कितापषना दर्ता फाँटका नाउँमा र निजलाई ठेकियको ८१ साल मार्ग मैन्हा मैन्हामा सवाल सदनको रीत पुर्याई कौसितोसाषानाबाट जिम्मेवारी लिईषुवाउनु भन्ने कलेज ईस्कूल गोस्वाराका नाउमा सनद गरिबक्सेको हुनाले सो बमोजिम निज चारु चन्द्रदास गुप्तालाई माथि लेषियाका मितिसम्म पढुञ्ज्यालको भत्ता देशमा पढ्ने लड्काहरूको भत्ता दिने बारेमा भयाका सवाल सनदको रीत पुर्याई मैन्हा मैन्हामा कलेज ईस्कूल गोस्वाराका हाकिम् जिम्मा जिम्मेवारी दिने काम गर ईति सम्बत् १९८२ साल आषड १३ गते रोज ६ शुभम् ।

परिशिष्ट नम्बर ३ : कौसितोसाषानाका हाकिम कारिन्दाले पूर्जी हेरी क.प.कुलमान रायमाझी क्षेत्रीका छोरा रेखबहादुर रायमाझी हाल कलकत्ता टेकनिकल कलेजमा डईड (मचबष्म) र हिसाव सिकी डईड इन्टेस जाँच दिएर पछी शिवपुरम् इञ्जिनियरिङ कलेज खुलेपछि भर्ना भै ५ वर्षसम्म इञ्जिनियरिङ पढ्नलाई हाल नीज रेखबहादुर रायमाझी क्षेत्रीलाई सो शिवपुरम् इञ्जिनियरिङ कलेज खुलने ८३ साल कात्तिक मैन्हासम्मलाई यही ८२ साल पौष मैन्हादेखि षन पाउने गरि मैन्हा १ को कम्पनी रूपैयाँ ७० (सत्तरी रूपैयाँ) का दरले भत्ता ठेकी बक्सेको छ । सो बमोजिम किताप दर्ता गरी कलेज ईस्कूल गोस्वाराबाट लेखि ल्यायाको भत्ताको रिपोर्टमा छाप लगाई दिनु भन्ने कम्यान्डरी कितापषानाका नाउमा र लेखिया बमोजिमको भत्ता कौसितोषनाबाट जिम्मेवारी ल्याई ख्वाउनु भन्ने ईस्कूल गोस्वाराका नाउमा समेत सनद गरिबक्सेको हुनाले सो बमोजिम देशमा पढ्न लड्काहरूको भत्ता दिने बारेमा भयाका सवाल सनदको रीत पुर्याई मैन्हा मैन्हामा कालेज ईस्कूल गोस्वाराका हाकिम् जिम्मा दिने काम गर ईति सम्बत् १९८२ साल पौष २८ गते रोज २ शुभम् ।

परिशिष्ट नम्बर ४: कौसितोसाषानाका हाकिम कारिन्दाले पूर्जी हेरी सुब्बा पद्मराज पाँडेका छोरा काशीराज पाँडेलाई कालकत्ता टेकनिकल कालेजमा डईड (मचबष्म)  र हिसाव सिकी डईड (मचबष्म) इन्टेस जाँच दिएपछि मद्रास इञ्जिनियरिङ पढाउनलाई हाल नीजलाई सो कलकत्ता टेकनिकल कालेजमा डईड (मचबष्म)   र हिसाव सिकन गएको ८२ साल पौष महीनादेषी खान पाउने गरी मद्रास  इञ्जिनियरिङ कालेज खुलने टाइम ८३ साल कात्तिक मैन्हासम्मलाई मैन्हा १ को कम्पनी रु.७० (सत्तरी रूपैयाँ) का दरले भत्ता तोकि बक्सेको छ ।, सो बमोजिम किताप दर्ता गरी भत्ताको रिपोर्टमा छाप लगाई दिनु भन्ने कम्याण्डरी कितापखानाका नाउँमा लेखिया बमोजिमको भत्ता जिम्मावारी ल्याई खुवाउनु भन्ने ईस्कूल गोस्वाराका नाउमा समेत सनद गरीबक्सेको हुनाले सो बमोजिम देशमा अंग्रेजी इलम पढ्ने लड्काहरूको भत्ता दिने बारेमा भयका सवाल सनदको रित पुर्याई मैन्हा मैन्हामा ईस्कुल गोस्वाराका हाकिम् जिम्मा जिम्मेवारी दिने काम गर, ईति सम्बत् १९८२ साल चैत्र १६ गते रोज २ शुभम् । ……….. यस्तै व्यहाराका १० परिशिष्टहरू छन् । (प्राचीन नेपालबाट)