विजयशंकर यादव
बारा र मकवानपुरमा घटेका महत्वपूर्ण ऐतिहासिक घटनाहरुबाट पर्सा जिल्लाको इतिहास निर्माण भएको पाइन्छ । मध्येकालमा पर्साको यो भूभाग खासगरी कर्णाटक वंश र पाल्पाली सेन वंशका राजाहरुको अधिनमा रहेको थियो । सन् १७६२ मा पृथ्वीनारायण शाहबाट यो जिल्लाको भू–भाग समेत विशाल नेपालमा सम्मिलित गराइयो । त्यसबेलादेखि नै यो जिल्ला नेपालको अभिन्न भू–भागको रुपमा रहेको हो । यहाँ भएका महत्वपूर्ण ऐतिहासिक घटनाहरुमा ई.सं.१०९७ मा दक्षिण भारतका कर्णाट वंशका राजा नान्यदेवले तिरहुँत राज्यको राजधानीको रुपमा वर्तमान बारा जिल्लाको सिम्रौनगढ (सिमरा वन गढ) कायम गरी शासन चलाएका थिए ।
त्यसबेला वर्तमान पर्सा जिल्लाको भू–भाग पनि सिम्रौगढसँग आवद्ध रहेको थियो । यसैले यो पर्सा इलाका पनि यिनै राजा नान्यदेवको अधिनमा रहेको स्पष्ट हुन्छ । यहाँका बासिन्दालाई दोय भनी गोपालराज वंशावलीमा उद्धरण गरिएको छ । धनवज्र वज्राचार्यले दोयहरु को हुन् ? पूर्णिमा पूणांक ४ मा दोयहरुले काठमाडौं उपत्यकामा बराबर हमला गरेको उल्लेख गरेका छन् । यस प्रकारका हमला हुनुको कारण काठमाडौ उपत्यकामा रहेको राजपरिवारमा एकता नहुनु हो ।
तर राइटरबाट सम्पादित वंशावलीमा नान्यदेवले काठमाडौं उपत्यकामा हमला गरी विजय प्राप्त गरे भनी नेपालको इतिहासको पृष्ठ सयमा लेखिएको छ । यो कुराको ऐतिहासिक प्रमाण भने छैन । राजा नान्यदेवका सन्तान रामसिंहको समयमा सन् १२३४ मा बुद्ध धर्मावलम्बी धर्मस्वामीले तिरुहत राज्यमा यात्रा गरेका थिए भने बायोग्राफी अफ धर्मस्वामी पुस्तकको पृष्ठ ५७–६० मा उल्लेख छ । धर्मस्वामिका अनुसार यो राज्य दक्षिणमा गंगासम्म फैलिएको थियो ।
नान्यदेवको शेषपछि क्रमशः गंगादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव,भूपालसिंह देवले राजकाज चलाएका थिए । ई.सं. १३२४ मा राजा हरिसिंह देवले भने सिम्रौनगढमा नै शासन गर्दै रहेका थिए । यसै वर्ष दिल्लीका सुल्तान गयासुद्दिनले सिम्रौनगढ माथि हमला गरेका थिए । यस संघर्षमा तत्कालीन सिम्रौनगढका राजा हरिसिंह देव सुल्तान गयासुद्दिनबाट पराजित भई सपरिवार सिम्रौनगढबाट भागी तीन पाटनमा पुगे । तीन पाटनमै उनको मृत्यु भएको गोपालराज बंशावली पृष्ठ ४६ मा उल्लेख छ ।
दिल्लीका सुल्तानबाट सिम्रौनगढमाथिको हमलाको फलस्वरुप सिम्रौनगढको आफ्नो पैतृक सिंहासनबाट हरिसिंह देव च्यूत मात्र भएनन्, कर्णाट वंशी राजाको अधीनबाट पर्सालगायत सिम्रौनगढ क्षेत्र अलग्ग हुन पुगें । साथै, त्यस बखत सुल्तानले यस क्षेत्रका प्रशस्त हिन्दुहरुलाई मुसलमान बनाएका थिए । पर्सा जिल्लाका एक थरी मुसलमानहरु आफ्नो थर ठकुराई लेख्छन् । यीनीहरु धर्म परिवर्तन गरिएका हिन्दु क्षेत्री हुन् भन्ने कुरामा विश्वास गरिन्छ । दिल्लीका सुल्तानले सिम्रौनगढमाथि आफ्नो कब्जा जमाई सकेपछि कसको शासन रह्यो भन्ने कुरामा विभिन्न मत रहेको छ ।
सुल्तानको यसै आक्रमणको वर्णन गर्दै प्रसिद्ध मुसलमान इतिहासकार फिरिस्ताले लेखेका छन्– आक्रमणबाट सुल्तानलाई निकै ठूलो धन, दौलत हात लाग्यो । तिरुहतको शासन मालिक तुब्लिधका छोरा अहमद खाँको जिम्मा छोडी सुल्तान दिल्ली फर्केको बताइन्छ । अर्को मत अनुसार सुल्तानबाट हरिसिंह देव पराजित भएर काठमाडौं उपत्यका पसेपछि यिनै सुल्तानले आफ्ना ब्राम्हण मन्त्री महेश्वर ठाकुरलाई यस क्षेत्रको (मिथिलाको) राजा बनाए भनिन्छ । त्यसपछि सुगौना राजवंशको स्थापना भएको हो भनिन्छ । यस वंशमा शिवदेव राजा भए । तर यसबारेमा ऐतिहासिक तथ्य पत्ता लगाउन अरु खोज, अनुसन्धन गर्न बाँकी छ ।
सिम्रौनगढ क्षेत्रमा कर्णाट वंशको शासनाधीन रहेको पुग नपुग दुई शताब्दी पुग्ने समयतिर यो क्षेत्र (पर्सा लगायत) को शासन पाल्पाली सेनवंशी राजाहरुको हातमा गयो । पाल्पाका राजा मुकुन्द सेन (प्रथम) को राज्यकाल ई.सं.१५१८ देखि १५५३ मा उनको राज्य विस्तार गर्ने अभियानको सिलसिलामा उनका कान्छा छोरा लोहांग सेनले पर्सा क्षेत्र सहित कोशी क्षेत्र कब्जामा लिएका थिए ।रिहर सेनको पालामा उनका चार जना छोराहरुका बीचमा पैतृक राज्यको निमित्त ठूलै कलह झैझगडा भयो ।
अन्तत्वगत्वा आफ्नो राज्यको कोशीभन्दा पश्चिमको भाग आफ्ना कान्छा छोरा शुभ सेनले पाए । बारा, पर्सालगायत यस क्षेत्रको राजा शुभ सेन भए । इतिहासकार बाबुराम आचार्यका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु ३७ वर्षअघि शुभ सेनका छोराका बीच विजयपुर र मकवानपुरका ठकुराईको बण्डा हुँदा तौँतरप्रगान्नाभित्र परेको कोशी नदीदेखि पश्चिमपट्टीको तलहट्टी र भावरमा परेका पर्सासम्मका जिल्ला मकवानपुरको ठकुराईमा परेका थिए ।
(लेखक विजय शंकर यादव सिम्रौनगढ नगरपालिको मेयर हुनुहुन्छ)