परशु घिमिरे
एउटै देवाली गुठी सदस्यहरूले एक अर्कालाई सम्बोधन गर्दा फुकी भन्ने चलन छ । फुकीहरूकाबीच बिहेवारी चल्दैन । फुकीको मृत्युमा अफ्नै परिवारको सदस्यले जुठो बारेझै बार्छन् उनीहरू । पूजाआजामा घरको मुली मान्छेले गर्नुपर्ने संस्कारहरूको नेतृत्व थकाली र उनकी पत्नी थकाली नकींले गर्छिन् । हरेक देवाली गुठीको भोजमा बलि दिइएको बोकाको टाउकोलाई आठ भाग र खुरहरू पनि दिने चलन अहिले पनि कतै कतै छ । बोकाको टाउकोलाई कान दुई टुक्रा, आँखा दुई टुक्रा, नाक र जिब्रो एक एक टुक्रासमेत गरी आठ टुक्रा बनाई बाँडिन्छ ।
एउटा देवाली गुठीबाट छुट्टिएर गएका सदस्यहरूले अर्को देवाली गुठी सिर्जना गर्न सक्छन् । तर देवालीको परम्परागत ठाउँ र देवता (द्यौ–द्य) त्यहाँ हुनुपर्छ । र, ढुंगाको मूर्तिलाई पूज्नु पर्छ । एउटा देवाली गुठीको अन्तर्गत उप–गुठीहरू पनि हुन सक्छन् । देवाली गुठीबाट निस्कासित व्यक्ति वा परिवार सनां गुठीबाट पनि स्वतः निस्कासित हुन्छ । धार्मिक आस्थाका आधारमा भन्ने हो भने नेवार समुदाय हिन्दु र बौद्धको रूपमा विभक्त भएको पाइन्छ । हिन्दु नेवार समुदायमा ब्राह्मण भएझै बौद्ध धर्म मान्नेहरूको अलग्गै पुरोहित हुन्छन् । जसलाई गुभाजू भनिन्छ । बौद्धमार्गीहरूमा पनि पहिले पहिले वैश्य, शुद्रजस्ता जात वर्गहरू हुन्थे, तर हिजोआज यस्तो भेदभाव भएको पाइँदैन । हिन्दु नेवारहरूलाई बाहुनदेखि शुद्रसम्म र बौद्ध नेवारहरूलाई पनि गुभाजूदेखि शुद्रसम्म विभाजन गरी यसैलाई ठूलै महत्व दिएको देखिन्छ तर अहिले त्यो पुरानो सस्कार लोप हुँदै गएको छ ।
सूचना विभागले प्रकाशित गरेको मेचीदेखि महकाली पुस्तकका अनुसार नेवार परिवारहरूले बाहुन वा गुभाजू कुनै पुरोहित चलाउँछन्, त्यो देखिएपछि मात्र हिन्दु वा बौद्ध भनी ठम्याउन सकिन्छ भन्ने प्mयूर हेमेन्डर्फले अनुमान गरेका छन् । तर त्यो सधैं सम्भव हुँदैन । एउटै परिवारले कुनैबेला बाहुन वा गुभाजूलाई कर्मकाण्ड गर्न लगाएको पनि देखिन्छ । यसको अर्थ हिन्दु र बौद्ध विभाजनको कुनै सामाजिक महत्व छैन भन्ने चाहिँ होइन । डा.डीआर रेग्मीले नेवार समुदायको जातजातिसम्बन्धी विस्तृत चर्चा गरेका छन् । पहिले पहिले गरिब किसनको घर एक तले वा दुई तलेसम्म हुन्थे, तर त्यतिबेला पनि नेवार समुदायको घर तीन तले हुन्थ्यो । अहिले त पाँच तले घर बनाउनुलाई सामान्य मानिन्छ । प्रायः धनी नेवारहरूले बंगला बनाएका छन् ।
उसबेला परिवारका पनि एक एक बहाल वा टोलमा बसोबास गर्ने परम्परा नेवारी घरबस्तीको एक विशेषता नै हो । धेरैजसो काँचो वा पाकेको इँटाले घर बनाइएको देखिन्छ, जसको छाना भने झिंगटी, टायल आदिले छाइएको हुन्थ्यो । नेवारहरूको घरको तलालाई बेग्लै नाउँ दिने चलन छ । यो एक किसिमको विशेषता नै हो । भुइँतलालाई (छ दि) छिँडी, एक तलालाई (मा तं) माटन, दुई तलालाई (च्व तं) च्वट र माथिल्लो तलालाई (बजि गल) बुँइगल भनिन्छ । यी तलाहरूको उपयोग पनि विशेष कामको निम्ति गर्ने गरिएको छ । उहिले भुइँतलामा गाई–भैसी वा कुखुरा हाँस पाल्ने तथा दाउरा राख्ने, पहिलो तलामा परिवार बस्ने, दोस्रो तलामा अन्न भकारी राख्ने र भोजभतेरका लागि ठाउँ छुट्याउने गरिन्छ । नेवारी समुदायमा सबैभन्दा स्वच्छ र अग्लो पनि ठाउँ मानिने बुँइगललाई भान्छा र पूजाकोठाको रूपमा प्रयोग गरिन्छ । भान्सालाई सबैभन्दा पवित्र मानिने हुँदा उचो ठाउँमा राखिने गरिन्थ्यो ।
नेवार समुदायमा विवाहित महिलालाई भरसक माइतीमा सुत्केरी हुन दिइँदैन । घर–ज्वाइँ बसेका परिवारलाई पनि सुत्केरी गराउन अन्यत्र पठाइन्छ, तर अहिले विस्तारै यो प्रथा हट्दै गएको छ । पहिलो बच्चा जन्मँदा ६ दिनमा चोख्याउन चलन छ । तर ६ दिनमै नाम राख्नुपर्ने बाध्यता छैन । नेवार समुदायमा बच्चाको बोलाउने नाम पूmपुले र चिनाको नाम ज्योतिषले राख्ने चलन छ । र, पास्नी छोरा भए छ वा आठ महिनामा र छोरी भए पाँच वा सात महिना भात खुवाउने प्रचलन छ, यो चलनलाई मचा जंको भनिन्छ । यसमा मामापट्टिबाट पूजा–आजाको सामान र नयाँ कपडा पठाइदिनुपर्ने हुन्छ । यही अवसरमा एउटा ठूलो थालमा खेलौना, धान, इँटा, माटो, सुनको गहना, किताब, कलमजस्ता वस्तुहरू बच्चाको अगाडि राखिन्छ । बच्चाले जुन वस्तु छुन्छ, त्यसबाट भावी पेसासम्बन्धी अड्कल काट्न सहज हुन्छ भन्ने विश्वास छ । यो कर्म सकिएपछि आफन्तजनलाई बोलाई भोजभत्तेर हुन्छ ।
नेवार समुदायमा दुईपटक इही गर्ने चलन छ । इहीको शाब्दिक अर्थ बिहे हो । नेवार समुदायमा बाहेक अरु कुनै जात–जातिमा नपाइने यो अनौठो प्रथा परम्पराले नेवारी युवतीहरूको जीवनमा एक किसिमको विशिष्ठ र महत्वपूर्ण स्थान ओगटेको छ । नेवार युवतीहरूमा मासिक धर्म सुरु हुनुभन्दाअघि स्वर्णकुमार वा अमर–पुरुषको प्रतीक बेलसँग बिहे गरिन्छ । त्यसैले यो प्रथालाई नेपाली भाषामा बेल विवाह भनिन्छ । भगवान नारायणलाई अमर दुलाहको रूपमा पाइसकेपछि नेवार युवतीको जीवनमा आउने अरु बिहेलाई धार्मिक बन्धनभन्दा सामाजिक र व्यावहारिक आवश्यकताको रूपमा बढी मान्यता दिने गरिन्छ । नेवार कन्याको रजश्वला हुनुभन्दाअघि गरिने अर्को एउटा रोचक परम्परालाई बाह्रा भनिन्छ ।
एघार दिनसम्म तिनलाई अँध्यारो कोठामा घाम वा कुनै पुरुषको दृष्टिबाट लुकाएर राखेपछि बाह्रौं दिनको बिहान घाम झुल्किनुभन्दाअघि तिनलाई नुहाई दिएर आँखामा पट्टी बाँधी घरको बँुइगल वा घाम देखिने कुनै ठाउँमा लगिन्छ । सूर्यलाई पूmल अक्षता चढाउन लगाएपछि पूर्वपट्टि फर्काई दिएर उनलाई सूर्य दर्शन गराइन्छ । बाहुन–क्षेत्री समाजमा राजश्वला भएको महिलाले चार दिनसम्म बार्ने चलन छ । तर प्रायः बौद्धमार्गी नेवारहरूमा बार्ने चलन छैन । शिवमार्गी नेवारहरूमा भने रजश्वला हुँदा बार्ने चलन छ । नुहायपछि पूजा कोठामा पस्न, धार्मिक कार्यमा भाग लिन नपाउनबाहेक सबै काम गर्न दिइन्छ । त्यस्तै, देवभाजू बहुनहरू र छ थरे श्रेष्ठहरूमा व्रतबन्ध गरेर जनै लगाउने प्रचलन छ । बौद्धमार्गी बाँडा र गुभाजूहरूले आ–आफ्नो विहारमा चुडाकर्म (बरे छुइगू) गर्छन् ।