विन्दुकान्त घिमिरे
विश्वका सबैभन्दा पुराना १० वटा देशको सूचीमा नेपालको समेत नाम भएको कुरा वेदका मर्मज्ञहरू बताउँछन् । तर वेदलाई इतिहास तथा अभिलेखका रूपमा नभएर पौराणिक ग्रन्थका रूपमा लिइएका कारण आधिकारिक मान्न सकिने अवस्था रहेन । मल्लकालको मध्यसमयतिर नेपाल विश्वको १० वटा सभ्य तथा सम्पन्न देशहरूको सूचीमा रहेको इतिहासविद्हरूको भनाइ छ । यो भनाइलाई विश्वास गर्न सकिने यथेष्ट प्रमाणहरू काठमाडौं उपत्यकामा साक्षी छन् । मल्लकालमा काठमाडौं उपत्यकामा जे जस्ता भौतिक संरचना निर्माण भएका छन्, त्यो कालखण्डसम्म विश्वका थोरै मुलुकमा मात्रै यस्ता भौतिक संरचना निर्माण भएको पाइन्छ ।
हजारौं वर्षको इतिहास बोकेको, ३५० वर्षअघिसम्म पनि विश्वका १० वटा सभ्य र सम्पन्न मुलुकको सूचीमा रहेको नेपाल आज विश्वका सबैभन्दा कमजोर र अविकसित मुलुकहरूको सूचीमा दर्ज छ । किन, कसरी र कहिलेदेखि नेपाल यो खराब हालतमा पुग्यो ? भन्ने प्रश्नको उत्तर खोज्दा विभिन्नथरीले विभिन्नथरीलाई आरोपप्रत्यारोप लगाउने गर्दछन् । जहिलेदेखि मल्ल राजाहरूले नेपाललाई अंश लगाएर टुक्राटुक्रा बनाए तहिलेदेखि नै नेपालको खराब हालत सुरु भएको आरोप शाहवंशीय राजाका समर्थकहरूले लगाउने गरेका छन् ।
यता, मल्ल राजाका समर्थकहरूले भने जहिलेदेखि शाह राजाहरू नेपालको गद्दीमा बसे तहिलेदेखि नेपालको खराब हालत सुरु भएको आरोप लगाउने गरेका छन्, वास्तवमा सत्य तथ्य के हो ? भन्ने खोजी इतिहासविद्हरूले गर्नु जरुरी छ । मल्ल राजाहरूले काठमाडौं उपत्यकालाई तीनवटा राज्यमा विभाजित गरेपछि पनि धेरै भौतिक संरचनाहरू निर्माण भएका छन् । अधिकांश भौतिक संरचनाहरू कान्तिपुर, पाटन र भादगाउँ (येँ, यल, खोपः) बीचको प्रतिस्पर्धाका उपज थिए । मल्ल राजाहरूले आफ्नो मोेजमस्तीभन्दा पनि विकासका पूर्वाधार निर्माणमा राज्यको कोष खर्च गरेको देखिन्छ । उनीहरूको मुख्य कमजोरी सैन्य क्षमताको विकास गर्नेतर्फ ध्यान नजानु हो । सेना पाल्दा राज्यको ढुकुटी विकास निर्माणमा खर्च गर्न नसकिने दृष्टिकोण मल्ल राजाहरूको देखिन्छ ।
उता, गण्डकी क्षेत्रतिरका शाह राजाहरूले भने सैनिक संरचनामा बढी ध्यान दिएको देखिन्छ । गण्डकी क्षेत्रका शाह राजाहरूले विकास निर्माणका संरचनामा ध्यान दिएको पाइँदैन । गोरखा, लमजुङ, कास्की क्षेत्रमा शाह राजाहरूद्वारा निर्माण गरिएका भौतिक संरचना छँदै छैनन् भने पनि हुन्छ । आफू बस्ने दरबारका रूपमा निर्माण गरिएको टहरो टाइपको सानो घरबाहेक गण्डकी क्षेत्रका शाह राजाहरूले निर्माण गरेका भौतिक संरचनाहरू देख्न सकिन्न । गरेको भए पो देखिनु । तत्कालीन गोरखा राज्यको दरबार परिसरमा रहेको एउटा चौतारो, जसलाई राम शाहको चौतारो भनिन्छ । उक्त चौतारो पनि राज्यको कोषबाट नभएर झागल गुरुङले श्रमदानबाट बनाइदिएका थिए । राजाको कर्तव्य विकास निर्माण हो भन्ने चेतना गण्डकी प्रदेशका शाह राजाहरूमा पलाउन बाँकी रहँदै गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान सुरु भयो । पृथ्वीनारायण शाहले आफ्नो जीवनकालभीर एकीकरणबाहेक अरुतिर ध्यान दिन सकेनन् । राज्यको कोष एकीकरणकै लागि खर्च हुनु स्वाभाविक थियो । तर काठमाडौं उपत्यकाका तीन राज्य (तत्कालीन नेपालको केन्द्र तथा सरहद) हात लागेपछि भने राजाको कर्तव्य भनेको विकास निर्माण पनि हो भन्ने पर्याप्त चेतना पृथ्वीनारायण शाहमा आएको देखिन्छ । उनको दिव्योपदेशमा यो कुरा छर्लंग देखिन्छ ।
हजारौं वर्षको इतिहास बोकेको, ३५० वर्षअघिसम्म पनि विश्वका १० वटा सभ्य र सम्पन्न मुलुकको सूचीमा रहेको नेपाल आज विश्वका सबैभन्दा कमजोर र अविकसित मुलुकहरूको सूचीमा दर्ज छ । किन, कसरी र कहिलेदेखि नेपाल यो खराब हालतमा पुग्यो ?
दिव्योपदेश भनेको पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्ना उत्तराधिकारीका लागि दिएको मार्गदर्शन हो । तर दुर्भाग्यवश पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले या त दिव्योपदेशलाई धोती लगाइदिए, या त दिव्योपदेशमा उल्लेखित मार्गदर्शनहरूलाई उनीहरूको दिमागले विश्लेषण गर्न सकेन । इतिहास हेर्दा पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको पालासम्म राज्य विस्तारमै समय तथा स्रोतसाधन खर्च भएको पाइन्छ । राणबहादुर शाहको जीवनको उत्तराद्र्धदेखि त्रिभुवन शाहको जीवनको उत्तराद्र्धसम्म राजाहरूलाई खोपीमै मोजमस्तीको अवसर जुराएर अर्कैले शासन गरेको पाइन्छ । यस अवधिमा भीमसेन थापादेखि मोहनशमशेरसम्मले शासन गरे । यी शासकहरूले आफ्नो निजी प्रयोजनका लागि ठूला–ठूला दरबार तथा भौतिक संरचना निर्माण गरेको पाइन्छ । उनीहरूले नेपाल एकीकरणको मर्मलाई समेत बिर्सेको देखिन्छ । किनभने २००७ सालसम्म पनि नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । उपत्यका बाहिरबाट ‘नेपाल’ प्रवेश गर्दा भिसा चाहिन्थ्यो । उपत्याका बाहिरका रैतीहरूको पहिचान नेपालीका रूपमा थिएन । उपत्यकाका रैतीहरूलाई मात्रै नेपाली भनिन्थ्यो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य थिएन । नेपाली भाषालाई गोरखा भाषा भनिन्थ्यो ।
नढाँटीकन भन्नुपर्दा मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका सबै जनताले आफू नेपाली हुँ, हाम्रो देश नेपाल हो भन्ने यथार्थता अवगत गराएको २००७ सालको जनक्रान्तिले नै हो । भूगोलको एकीकरण गरिसक्दा नसक्दै पृथ्वीनारायण शाहको निधन भयो । सामाजिक एकीकरणको काम अघि बढाउन त्यसपछिका शासक लामो समयसम्म चुके । यही सन्दर्भमा नेपाली कांग्रेसको उदय भयो । जसरी पृथ्वीनारायण शाहको कदम इतिहासको माग थियो, त्यसरी नै नेपाली कांग्रेसको उदय तथा २००७ सालको जनक्रान्ति पनि इतिहासको माग थियो । अर्थात् २००७ सालको जनक्रान्ति नेपाल एकीकरणकै निरन्तरता थियो । निःसन्देह नेपाली कांग्रेसको स्थापना तथा २००७ सालको जनक्रान्तिका डिजाइनर तथ अगुवा बीपी कोइराला नै हुन् । वास्तवमा पृथ्वीनारायण शाह र बीपी कोइराला एकअर्काका परिपूरक हुन् । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरणको कदम अघि नबढेको भए सायद नेपाल भन्ने देश नरहन पनि सक्थ्यो । यसैगरी २००७ सालमा क्रान्ति नभएको भए नेपालको हालत तिब्बत, कश्मीर तथा सिक्किमको जस्तो हुन्थ्यो, नभए भुटानको जस्तो त पक्कै हुन्थ्यो ।
पृथ्वनारायण शाहको हुर्मत लिएर बीपीको मात्रै प्रशंसा गर्नु, बीपीको हुर्मत लिएर पृथ्वीनारायण शाहको मात्रै प्रशंसा गर्नु कि त अबुझपन हो, कि त कुनै षड्यन्त्र हो । तर मुलुक यही षड्यन्त्रको सिकार भइरहेको छ । राजा महेन्द्रलाई शिखण्डी बनाएर सुरु गरिएको यो षड्यन्त्र यतिबेला डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड हुँदै मधेसी दल तथा लिम्बुवानका नाममा अघि बढाइएको छ । नेपाली सेना पनि यो मामिलामा चुकेको हो कि जस्तो देखिएको छ । आफ्ना व्यारेकहरूमा पृथ्वीनारयाण शाहको तस्बिरलाई निरन्तरता दिएर नेपाली सेनाले स्तुत्य काम गरेको छ । किनकि पृथ्वीनारायण शाह पूर्वराजा मात्रै नभएर नेपालका निर्माता पनि हुन् । उनको तस्बिरसँगै बीपीको पनि तस्बिर राख्दा सुनमा सुगन्ध हुन्छ भन्ने कुरा नेपाली सेनाले अझै बुझेको देखिन्न । किनकि पञ्चायतकालमा बीपीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको अभिलेख नेपाली सेनाले अझै नसच्याएका कुरा बाहिर आएको छ ।
फेरि शाहवंशीय राजाहरूकै प्रसंगतिर जाउँ । त्रिभुवनको जीवन त राणाहरूको खोपीबाट मुक्त हुने क्रममै बित्यो । त्रिभुवनका छोरा महेन्द्रले भने मज्जाले शासन चलाउने मौका पाए । वास्तवमा १० जना शाहवंशीय राजाहरूमध्ये एकीकृत नेपालमा निर्धक्क भएर शासन सत्ता सञ्चालन गरेको महेन्द्र शाहले मात्रै हो । महेन्द्रले आफ्ना पुर्खा पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मात्रै मार्गदर्शनका रूपमा लिन सकेको भए नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मार्नसक्ने अवस्था थियो । तर उनी दिव्योपदेशको ठिक उल्टो दिशामा गए ।
उदाहरणका लागि पृथ्वीनारयाण शाहले आफ्ना बालसखा विराज बखेतीलाई काजी (कार्यकारी प्रमुख) नबनाएर कालु पाण्डेलाई किन काजी बनाइएको हो ? भन्ने उदाहरण दिँदै दिव्योपदेशमा स्पष्ट भनेका छन्– ‘जनताबीच जो लोकप्रिय छ, उसैलाई काजी बनाउनु ।’ तर महेन्द्रले करिब दुई तिहाइ बहुमतका साथ जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिए । जनताले नचिनेका सूर्यबहादुर थापा र तुलसी गिरिलाई आलोपालो मनोनीत प्रधानमन्त्री बनाउने सिलसिला सुरु गरे । जननिर्वाचित प्रधानमन्त्री बीपीलाई जेलमा सडाएर कहिले थापा र कहिले गिरि अघि सार्नु भनेको पृथ्वीनारायण शाहको दिव्योपदेशको घोर उल्लंघन थियो । यसैगरी, कतिपय भनाइको शाब्दिक अर्थ लगाउँदा उल्टो परिणाम निस्कन्छ ।
तत्कालीन गोरखा राज्यको दरबार परिसरमा रहेको एउटा चौतारो, जसलाई राम शाहको चौतारो भनिन्छ । उक्त चौतारो पनि राज्यको कोषबाट नभएर झागल गुरुङले श्रमदानबाट बनाइदिएका थिए । राजाको कर्तव्य विकास निर्माण हो भन्ने चेतना गण्डकी प्रदेशका शाह राजाहरूमा पलाउन बाँकी रहँदै गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान सुरु भयो ।
उदाहरणका लागि कीर्तिपुरेहरूले गोर्खालीसँग लडाइँ हारेपछिको प्रसंगलाई लिन सकिन्छ । अवेद्य किल्ला कीर्तिपुरलाई गोर्खालीले कब्जा गरेपछि कीर्तिपुरेहरूको इज्जत गयो । इज्जत जानुलाई नाक काटिनु भनिन्छ । तर अंग्रेज इतिहासकारले नाक काटिनुको लाक्षणिक अर्थ बुझेन् । उनले शाब्दिक अर्थ निकाल्दै अंग्रेजीमा ‘नोजकट’ लेखिदिए । त्यसैका आधारमा अहिलेसम्म पनि कतिपयले पृथ्वीनारायण शाहलाई चंगेज खाँ जस्तै क्रूर शासक भन्ने गरेका छन् । यसैगरी, राजा महेन्द्रले पनि दिव्योपदेशमा उल्लेखित ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ’ भन्ने वाक्यको लाक्षणिक अर्थ बुझेनन् । यसको लाक्षणिक अर्थ हो– ‘जनता अधिकार सम्पन्न भए भने राजसंस्था दिगो हुन्छ ।’ तर महेन्द्रले उल्टो बुझ्दै जनताका अधिकार खोसे, जसको परिणामले राजसंस्था फालियो । वास्तवमा राजसंस्था उन्मूलनको शिलान्यास २०१७ पुस १ गते महेन्द्रले गरेका हुन् । ज्ञानेन्द्रले त २०५९ असोज १८ गते गणतन्त्रको उद्घाटन गरेका मात्रै हुन् ।
पृथ्वीनारायण शाह नेपालका एकीकरणकर्ता नभएर विस्तारकर्ता मात्रै हुन् भन्ने मान्यता स्थापित गराउने ठूलो प्रपञ्च मुलुकमा भइरहेको छ । यो प्रपञ्चमा पश्चिमा मुलुक, तथा छिमेकी मुलुक लाग्नुको आफ्नै स्वार्थ छ । यो स्वार्थ स्वाभाविक पनि हो । किनकि पृथ्वीनारयण शाहले इसाई पादरीलाई लखेटेकोमा पश्चिमा मुलुकहरू बदला लिन चाहन्छन् । छिमेकी मुलुक भारत त के चाहन्छ ? स्पष्ट नै छ । तर राजावादीहरू तथा नेपाली सेना अझै भ्रममुक्त हुन नसकेको हो कि ? भन्ने देखिन्छ । किनकि एकीकरण सहमतिका आधारमा हुन्छ, विस्तार बलपूर्वक हुन्छ । तर पृथ्वीनारयण शाहले बलपूर्वक कदम चालेको सन्देश सेना तथा राजावादीको गतिविधिले पनि दिएको छ । जबकि पृथ्वीनारायण शाहले बलपूर्वक नभएर सहमतिका आधारमा आधुनिक नेपाल निर्माण गरेका हुन् भन्ने यथेष्ट प्रमाण र आधारहरू छन् । यी आधारलाई ओझेलमा पारेर बलपूर्वक आधुनिक नेपाल निर्माण गरिएको हो भन्ने सन्देश प्रवाह नहोस् ।
पहिलो कुरा त, गर्खाबाट गोर्खा भएको हो । गर्खा भनेको कसैको अधिनमा नभएको सानो भूभाग हो । शाहवंशीय राजाहरूमा दैवीशक्ति छ भन्ने प्रचारका लागि गोरखनाथको प्रसंग जोडियो । लडाइँका क्रममा शत्रुपक्षलाई मनोवैज्ञानिक रूपमा परास्त गर्नका लागि त्यतिबेलाको युगमा यो प्रसंग जोड्नु नाजायज थिएन । तर पृथ्वीनारयाण शाहका उत्तराधिकारीहरूले आफूलाई तानाशाह बनाउन पनि यही अस्त्र प्रयोग गरे । तर शाह राजाहरूमा दैवीशक्ति रहेनछ भन्ने कुरा अब प्रमाणित भइसक्यो । गोरखनाथको कुरा अब आन्दर्भिक भइसकेको छ । भारतीय सत्तारुढ पार्टी बिजेपीको विस्तारवादी नीतिलाई बल पु¥याउनुबाहेक गोरखनाथको यो प्रसंगले अब कुनै काम दिँदैन ।
दोस्रो कुरा, गोर्खा आफैमा जम्मा १२ हजार घरधुरी भएको, उब्जाउ जमिन नभएको गरिब र अत्यन्त सानो राज्य थियो । एउटा हात्ती दाइजोका लागि समेत पृथ्वीनारायण शाह त्यतिविधि लालायित थिए । गरिबीबाट मुक्तिका लागि चालिएको पहिलो पाइला सफल भएपछि दोस्रो, तेस्रो पाइला चाल्दै जाने क्रममा आधुनिक नेपाल निर्माण भयो । परिणाम राम्रै आयो । सुरुवाती उद्देश्य जे भए पनि परिणाम राम्रै निस्केका कारण पृथ्वीनारयण शाहको कदर गर्नै पर्छ । तर कदर गर्नेक्रममा धोती फुस्कन्छ कि भन्ने ख्याल गर्नु जरुरी छ । घाउको खाटा कोट्यायो भने झिँगा भन्किने सम्भावना बढ्छ । अब पनि यथार्थ कुरा चपाएर पृथ्वीनारायण शाहको देवत्वकरण गर्न खोज्नु भनेको घाउको खाटा कोट्याउनु जस्तै हो । यस्ता कदमले पृथ्वीनारायण शाहलाई राक्षसीकरण गर्नेहरूलाई बल पुग्ने मात्रै हो । पृथ्वीनारायण शाहको देवत्वकरण गरेर राजतन्त्र फर्काउन सकिन्छ कि ? भन्ने कल्पना अब राजावादीहरूले नगरुन । कुरा यति हो कि हामी हाम्रा बाआमाका उपज हौं । बाआमा नभएको भए हामी जन्मने थिएनौ । त्यसैले बाआमा हाम्रा लागि परम आदरणीय हुन् । तर हामी जन्मनुमा बाआमाको कुनै बहादुरी होइन । सृष्टिको नियमित प्रक्रिया हो । यसैगरी विगतकालमा कुनै पनि मुलुकको गठनको अगुवाइ राजाद्वारा नै हुन्थ्यो । उसको स्वार्थका लागि हुन्थ्यो ।