तरुण खबर
६ माघ २०७७, मंगलवार १४:४९
काभ्रे जिल्लाको बेथानचोक–२ ढुंखर्क प्राकृतिक रुपमा जति सुन्दर छ, मानवीय हृदय पनि त्यति नै सुन्दर छ । किन भने गाउँका मान्छेको हृदय कोमल मात्र हुँदैन, एक अर्कासँग भावनात्मक सम्बन्ध गुलियो जेरीझै जेलिएको हुन्छ । त्यसैले त हामी गाउँले भन्नुमै गौरव गर्छौं । आज म राजनीति वा गाउँको विकास–निर्माण कुरा गर्दिन, एउटा परिवारको दर्दनाक पीडा शब्दमा उतार्ने कोसीश गर्दैछु ।
साहित्यकार बालकृष्ण समले लेखेका छन्, ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझ मलाई दुःख दे’ भनेझै भएको छ– दंगाल परिवारमा । हुन त एउटा न एउटा दुःख नपरेको नेपाली को होला र भन्न सकिन्छ । दुःखका पनि अनेक आकार प्रकार हुन्छन् । काभ्रे बेथाञ्चोकको दंगाल परिवारलाई हातमुख जोर्नै समश्या थियो । त्यही पीडामा पनि २०३८ सालमा रामहरि दंगालले आमा–बाको पहिलो सन्ताको रुपमा जन्म लिदा घरपरिवारमा खुशी छाएको थियो । गाउँको पाखोबारी जति नै भए पनि जेनतेन खान पुग्ने मात्र न हो । उनका पित रामप्रसाद दंगालको भागमा मुस्किलले ढुंखर्क–२ साझीगाउँमा पाखोबारी छ, सात रोपनी परेको थियो । त्यसको कमाइले जेनतेन चार महिना खान पुग्थ्यो । बाँकी महिना गाउँ घरमा ज्याला, बनबिुतो गरेरै हातमुख जोर्ने हो । जसोतसो चार जना छोराहरुको पालन–पोषण गरिरहेका थिए दंगाल दम्पती ।
तर २०४५ साल यो परिवारका लागि औंसीको कालो रात साबित भयो । जुन दिन रामप्रसाद दंगाललाई एक खालको अचम्मको रूने, कराउने, बर्बराउँने, काम्ने अनौठो रोग लाग्यो । उनीमा जे, जस्तो स्थानबाट पनि हाम फाल्ने अनौठो रोग देखा पर्यो । दुनियाँको विज्ञान र प्रविधिले हार खायो । तान्त्रिक बिद्याले पनि खासै केही काम गरेन । तीन वर्षसम्म उनको परवारले कति अस्पताल चाहरे, कति धामी झाँक्री देखाए गनी साध्ये छैन । २०४८ सालमा सदाका लागि यस धर्तीबाट बिदा भए रामहरिका पिता रामप्रसाद दंगाल । भएको श्रीसम्पतिमध्ये उनको उपचारमै अधिकांश सिध्याएको दंगाल परिवारमा हातमुख जोर्ने समश्या त छदै थियो । पिता रामप्रसाद दंगालको देहवसानपछि आमा चित्रकुमारी र १० बर्षे जेठो छोरा रामहरि दंगालको काँधमा सिंगो परिवारको जिम्मेवारी आइपरेको थियो । चार सन्तानलाई जेजस्तो थियो, त्यो ख्वाएर आपूm कयौं रात भोको विताएको आमा चित्रकुमारीको अनुभव छ ।
‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझ मलाई दुःख दे’ भनेझै भएको छ– दंगाल परिवारमा । हुन त एउटा न एउटा दुःख नपरेको नेपाली को होला र भन्न सकिन्छ । दुःखका पनि अनेक आकार प्रकार हुन्छन् ।
दुःख–शुख समय बित्दै गयो, रामहरि दंगाल युवा अबस्थामा प्रवेश गर्दै गए, तीन भाइ पनि बाल अबस्था पार गर्दै गैरहेका थिए । दाइ राहरिलाई अभिभावक मान्ने भाइहरुलाई पनि सही बाटो लगाएका थिए । तर एक दिन अकस्मात रामहरि दंगालमाथि बज्रपात पर्यो । दुई दशकमै खाटो बस्दै गएको पारिवारिक घाउँ सुक्न नपाउँदै रामहरि दंगाल अकस्मात बिरामी भए ।
गत कातिक महिनामा रामहरि दंगाल नियमित कामकाजबाट फर्कदै गर्दा अचानक बाटोमा चक्कर लागेर ढल्न पुगे । केही समयको आराम पश्चात केही सहयोगीको साथ लागी बानेश्वरको खरिबोटस्थित कोठामा आइपुगे । एक दुई दिनमा सामान्य हुन्छ होला भन्दै कोठामा आराम गर्दै बसे । झनझन शिथिल महशुस हुँदै गएपछि चेकजाँचको लागि नागरिक अस्पताल मिनभवनमा जचाउँदा उच्च रक्तचाप देखियो र त्यसैको कारणले मृगौलामा असर गरेको डाक्टरको रिपोर्टमा देखियो । उनी छागाबाट खसेझै भए, नौ नारी गले । नागरिक अस्पताल बानेश्वरले थप उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा सिफारिस गर्यो । काठमाडौं मेडिकल कलेज सिनामंगलमा करिब दुई हप्ताको नियमित औषधी उपचार पछि अपेक्षाकृत स्वास्थ्यमा सुधार नआएको हुनाले विरामीको अनुरोधमा डिस्चार्ज गरि शिक्षण अस्पताल महाराजगञ्जमा उनलाई भर्ना गरियो । केही दिनको औषधी उपचार पश्चात स्वास्थ्य अवस्था स्थिर भएको हुनाले नियमित औषधी सेवन गर्ने गर्ने गरी अस्पतालबाट डिस्चार्ज भए उनी । जेठो छोरा रामहरिको दुवै मृगौलाले काम गर्न छाडेको खबरले दंगाल परिवारलाई यतिखेर स्तब्ध बनाएको छ ।
स्वस्थ, हृष्टपुष्ट ज्यानका रामहरि भाइहरूका एक मात्र साहारा थिए, बुबा पछिको बुबा नै थिए भन्दै छन् गहभरी आँसु बनाउदै भाइ टिकाराम दंगाल । भाइ टिकारामका अनुसार पुसको अन्तिम साता स्वास्थ्य जटिल हुदै गएपछि पुनः शिक्षण अस्पतालमा भर्ना गरियो । चिकित्सकले पूर्ण रूपमा स्वास्थ्य जाँच गरेपछि दुवै मृगौलाले पूर्ण रूपमा काम गर्न छोडेको र मृगौला प्रत्यारोपणको विकल्प नभएको हुनाले त्यसको लागि तयार रहन विरामी र विरामीको आफन्तलाई सुझाएका थिए । डाक्टरहरुले २५ लाखसम्म रकम लाग्ने अनुमान गरेको उनका भाइ टिकारामले जानकारी दिएको छन् ।
यतिबेलासम्म आफुसँग भएको अधिकांश रकम उपचारमै सकिएको छ । मलाई पनि अरुलाई जस्तै संसार हेर्ने रहरछ तर कसरी ? मसँग र हाम्रो परिवारसँग कुनै उपाए छैन । गाउँका धेरै अग्रज, साथीभाइ, इष्टमित्रहरुले सहयोग गर्नु भएको छ, सहयोगी मनहरुलाई हृदयदेखि आभार प्रकट गर्दै उनै रामहरि दंगाल भन्छन्– हे भगवान मलाई मेरोभन्दा पनि परिवारको चिन्ता छ । आर्थिक सहयोग गरी बाँच्न, बचाउँन हजुरहरुसँग हार्दिक अपिल गरेको छु ।


