तरुण खबर
१५ माघ २०७७, बिहीबार १९:३८
काठमाडौं । आज वर्षको पौष शुक्ल पूर्णिमा हो । अजैका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आज बिहीबारबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घरघरमा सुन्ने, सुनाउने परम्परा छ ।
एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भनिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको छ ।


