काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संवैधानिक अंगका पदाधिकारीलाई संविधानविपरीत नियुक्त गरी हतार हतारमा सपथ खुवाएको विरोधमा नेकपा (प्रचण्ड–माधव नेपाल समूह) ले बिहीबार देशव्यापी आमहडतालको आयोजना गरेको छ । नेपाल बन्दको देशभर आंशिक प्रभाव भने परेको देखिएको छ ।
सरकारले बन्द असफल तुल्याउन राज्य संयन्त्र सबै प्रयोग गर्दा पनि सकेको छैन । बन्दकर्ता सडकमा नाराबाजी र विरोध प्रदर्शन गरिरहेका छन् । तर, सबैभन्दा आश्चर्यलाग्दो घटना भने बन्द गराउन भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आफैं सडकमा आइपुग्नु भनेको चानचुने विषय होइन ।
विगतका राजनीतिक दलका बन्दमा शीर्ष नेताहरु सडकमा आउँदैनथे । बन्द आयोजना घोषणा गरेपछि उनीहरु घरमै बस्थे । तर, अहिले प्रचण्ड आफैंले घोषणा गरेको बन्दमा पजेरो चढेर पुल्चोक र कोटेश्वर पुगे ।
अर्का नेता माधवकुमार नेपाल कहीँ स्कुटर त कहीँ हिँडेर बन्द गराउन पुगे । माधव नेपाल तिनै नेता हुन् जो एमाले शासनकालमा प्रधानमन्त्री हुँदा माओवादीले आयोजना गरेको नेपाल बन्दलाई असफल पारिदिएका थिए । त्यसबेला प्रचण्ड नेतृत्वको माओवादीले अनिश्चितकालीन नेपाल बन्द आयोजना गरेको थियो ।