कोभिडको कारण देखाउँदै चीनले सीमा नाका नखोल्ने

कोभिडको कारण देखाउँदै चीनले सीमा नाका नखोल्ने तरुण खबर २६ माघ २०७७, सोमबार १५:५४
कोभिडको कारण देखाउँदै चीनले सीमा नाका नखोल्ने

काठमाडौं । कोभिडको कारण देखाउँदै चीनले सीमा नाका नखोल्ने भएको छ । चीन–नेपाल सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ । जवकि चीनमा सक्रिय संक्रमितको संख्या ११ सय ७६ छ भने नेपालमा १९ सय ५९ जना मात्र छन् । विश्वभरमा सबैभन्दा कम प्रभावित मुलुकमध्येमा पर्छ चीन ।

यता, विश्वमा कोभिड विरुद्धको खोप अभियान चलिरहेको बेला चीनले नेपालसँग जोडिएको सीमा नाका नखोल्ने जानकारी दिनुलाई विभिन्न ढंगले विश्लेषण गरिएको छ । भ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा संसारभरि दुई अर्ब मात्रा खोप वितरण गरिसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अपेक्षा राखेको छ । त्यसमध्ये एक अर्ब ३० करोड मात्रा खोप अभियानमा संलग्न रहेका ९२ गरिब देशका लगभग २० प्रतिशत जनसङ्ख्यालाई पुग्नेगरी उपलब्ध गराइनेछ ।

तर कोभ्याक्सले द्रुत गतिमा काम गर्न नसकेको भनेर आलोचना पनि भएको छ । १ अर्ब ४३ करोड ९३ लाखभन्दा बढी जनसंख्या भएको चीनमा कोरोना भाइरसका संक्रमितको कुल संख्या ८९ हजार ६९२ जना मात्र छ । संक्रमितमध्ये ४ हजार ६३६ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । चीनमा सक्रिय संक्रमितको संख्या ११ सय ७६ जना मात्र छन् ।

करिब २ करोड ९४ लाख जनसंख्या भएको नेपालमा कोरोना भाइरसका संक्रमित २ लाख ७१ हजार ८ सय ६ जना छन् । संक्रमितमध्ये २ हजार ३५ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । नेपालमा माघ २५ (पछिल्लो २४ घण्टामा) गते १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् ।

कोभिड–१९को निहुँमा एक वर्षदेखि व्यापार रोकेकोप्रति असन्तुष्टि जनाउँदै केही हप्ता अगाडि उद्योगमन्त्री लेखराज भट्टले चिनसँग व्यापार गर्ने कुरामै पुनर्विचार गर्न लागेको हो । भारतसँगको निर्भरता घटाउन नेपालले चीनसँग पनि व्यापार तथा पारवहन सम्झौता गरेको छ । तर, लामो समय चीनसँगको नेपाली नाकामा समस्या रहँदा नेपालको दीर्घकालीन सोचमा धक्का लागेको छ ।