तरुण खबर
२७ माघ २०७७, मंगलवार ११:५९
नेकपाभित्र भनाभन र चरम द्वन्द्व चलिरहेको बेला नेपाली काँग्रेसले केपी ओलीको समूहलाई साथ देला कि दाहाल–नेपाल समूहलाई सहयोग गर्ला अर्थात सिधा भाषमा भन्नु पर्दा केपी ओलीलाई सहयोग गर्छ कि पुष्पकमल दाहाललाई साथ दिन्छ ? यो जिज्ञाषा जनजनको मनमा जागेको छ । यतिबेला प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावमा कसलाई साथ दिने भन्ने विषयमा नेपाली काङ्ग्रेसभित्र छलफल तीव्र बनेको छ । दुई चार दिन पहिले मैले पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीका सन्दर्भमा तुलनात्मक एउटा लेख तरुण खबरमै प्रकाशित गरेको थिएँ । दाहाल र ओलीको मात्र तुलना गर्दा दाहालको विगत र वर्तमान गतिविधि धेरै नै खराब देखिन्छ । हुन त पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको पछिल्लो सभामा आफूबाट गलत काम भएको तर अब ती गल्ति नदोहोरिने बताएका छन् ।
देउवा र पौडेलको मनस्थिति
यता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने बताएर भोली प्रदेशमा हुन सक्ने निर्णय अहिले नै सार्वजनिक गरेका छन् । विराटनगरमा गत शनिबार भएको कार्यक्रममा कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारीको विपक्षमा बस्ने प्रतिपक्षीको धर्म निर्वाह गर्ने उनले बताएका थिए । के काँग्रेसले पौडेलकै मतमा ल्याप्चे लगाउला कि पार्टी हितमा निर्णय गर्ला ? यो प्रश्न अहिलेभन्दा पनि भविष्यमा गम्भिर असर पार्ने गरी उठ्न सक्छ । काँग्रेसले पार्टीगत हित हेरेर लाभा हानीका आधारमा निर्णय गर्न सक्ने अधिकांश काँग्रेसका शुभचिन्तकहरुको मत छ । उनीहरुको मत छ– व्यक्तिगत रुपमा वा पार्टीगत रुपमा कसैलाई टाढा वा नजिक राख्नु पर्ने अबस्था छैन । काँग्रेसले कसैको बैशाखीको सहारा लिनु पर्ने अबस्था छैन । सरकार बनाउन त हतार गर्नै पर्दैन, जे गर्ने हो आफ्नै बुत्तामा वा खुट्टमा टेकेर उभिन सक्यो भने मात्र नेपाली काँग्रेसले भविष्य सुरक्षित राख्न सक्छ ।
प्रदेश सरकारबारे आएको अविश्वास प्रश्तावमा केन्द्रले निर्णय दिनुपर्छ भन्ने र प्रदेशकै संसदीय दललाई जिम्मा दिनु उपयुक्त हुन्छ भन्ने काँग्रेसमा दुई थरी मत आएको देखिन्छ । तत्कालै निर्णय गर्नु परेमा देउवा प्रदेशलाई निर्णय गर्ने जिम्मा दिन चाहन्छन्, जसले संसद् पुनस्र्थापना भएमा राजनीतिक सहकार्यको विकल्प खुला हुनेछ । देउवा निकटस्थहरूको बुझाइमा आफ्नै दलका केही नेता देउवालाई रोक्ने प्रयासमा छन् तर देउवा स्वयम् भने फुटको लाभ लिएर चुनावमार्फत आफ्नो नेतृत्वमा सरकार बनाउने मनस्थितिमा छन् । परिणामले यो निर्णय नै ठिक हो झै लाग्छ । संघियताको मर्म पनि यही हो । यसका सकारात्मक र नकारात्मक दुबै पाटा छन् । तर आज नेपाली काँग्रेसले कुन बाटो लिदा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा मैले चर्चा गर्न खोजेको हुँ । किन भने नेपाली काँग्रेस नेपालको प्रजातान्त्रिक पार्टी हो । २००७ सालको क्रान्तिदेखि अहिलेसम्मका हरेक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले नै गरेको छ । र, ती आन्दोलनले सफलता पनि प्राप्त गरेको छ । यसर्थ नेपाली काँग्रेसलाई रणनीतिक रुपमा चल्दा नै लाभ हुने देखिन्छ ।
दाहालबारे दुई उदाहरण
पहिलो उदाहरणका रुपमा पुष्पकमल दाहलको राजनीतिक चरित्र हेरौं– २०११ सालमा जन्मिएका पुष्पकमल दाहाल २०७७ सालमा ६६ वर्ष पार गर्नै लागेका छन् । ६६ वर्षसम्म लागेको बाँनी एकाएक परिवर्तन होला र ? एक जना मित्रले सुनाउनु भएको घटनाका आधारमा पुष्पकमल दाहाल प्रचण्डलाई बुझ्न–विश्लेषण गर्न सहज हुने ठानेर मैले उदाहरणका रुपमा अलग–अलग दुई घटना उल्लेख गरेको छु । माओवादीका पुराना नेताका अनुसार जनयुद्धकै समयमा माओवादीको केन्द्रीय समितिको बैठक रोल्पाको कुनै भूमिगत ठाउँमा तीन दिनसम्म चलिरहेको थियो । सबै नेताले आफू कम्युनिष्ट पार्टीमा लाग्नुको कारण पालैपालो बताउँदै गएका थिए । बाबुरामा भट्टराईले आप्mनो पालामा भनेछन्– म बुझेरै कम्युनिष्ट पार्टीमा लागेको हुँ, माक्र्सको दर्शन पढेपछि यसैले मात्र मान्छेको जीवनमा सामाजिक परिवर्तन ल्याउने बुझेपछि म कम्युनिष्ट भएको हुँ । पुष्पकमल दाहाल प्रचण्डले आप्mनो पालामा भनेछन्– हामी कास्कीको ढिकुरपोखरीबाट बसाई सरेर चितवन आएका हौं । दशै–तिहारजस्ता ठूला चाढमा लुगाफाटो, मरमसला किन्न र धान बेच्न हामी नारणघाट जान्थ्यौं । धान किन्ने साहुजीले घरबाट भरेर ल्याएको धान कहिल्यै नपु¥याउने, यसलाई ठिक पार्ने को होला ? खोजीमा लागें । खोज्दै जादाँ कम्युनिष्ट पार्टीले गरीबहरुको हित गर्ने ठम्याईमा म पुगें । त्यसैले सामन्तलाई ठिक पार्न म कम्युनिष्ट पार्टीमा लागेको हुँ भनेछन् । दाहालको दर्शन र अरुको दर्शनमा धेरै ठूलो अन्तर देखिन्छ । उनले एकपछि अर्को छलाङ मार्दै कसरी कम्युनिष्ट पार्टीको नेतृत्व लिन पुगें भन्ने सन्दर्भमा तल संक्षिप्तमा चर्चा गरेकै छु ।
अर्को उदाहरण हो– जनवादी गणराज्य चीनमा माओ त्से–तुंगद्वारा चलाइएको सांस्कृतिक क्रान्ति । सांस्कृतिक क्रान्तिको उद्देश्य प्रष्ट थिएन । सन् १९६६ बाट आरम्भ भएको सांस्कृतिक क्रन्ति करीब १ करोड मान्छे मरेपछि बद्नाम हुँदै सन् १९७६ सम्म चलेको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष थिए । १६ मई, १९६६ मा शुरू भएर यो क्रान्ति १० वर्षहरूसम्म चल्यो । पुष्पकमल दाहालको प्रेरणाको श्रोत नै हो चीनको सांस्कृतिक क्रान्ति । स्कूलिङ नै गलत भएपछि कहाँ आउँछ दाहालमा सद्बुद्धि ?
देङ स्याओ पिङकी छोरी देङ रोङले पुस्तक लेखेकी छन्– ‘देङ स्याओ पिङ और सांस्कृतिक क्रान्ति’ । भारतका प्रसिद्ध लेखक रञ्जन बर्माले यो पुस्तक हिन्दीमा अनुवाद गरेका छन् । यो पुस्तक चिनियाँ नेता देङ स्याओ पिङ र सांस्कृतिक क्रान्तिसँग सम्बन्धित छ । सांस्कृतिक क्रान्तिको समयमा चिनियाँ कम्युनिस्ट पार्टीभित्रकै केन्द्रीय तहका नेताहरूलाई नै मुख्य दुश्मन ठानिएको थियो । देङलगायतका नेताहरूलाई पुँजीवादी गुट भनिन्थ्यो । माओले त नारा नै दिएका थिए– हेडक्वार्टरमा बम हिर्काउ । पूँजीवादी गुटका नाइकेको रूपमा ल्यु साओचीलाई लिइन्थ्यो । देङ स्याओ पिङलाई ल्यु साओची गुटको दोस्रो व्यक्तिको रूपमा लिइन्थ्यो । नेपालका कम्युनिष्टहरु माओकी कान्छि श्रीमती च्याङ चीङलाई हेर्ने दृष्टिकोणमा विभाजित भएको अनौठो उदाहरण नेपालमा छ । सिंगो पुस्तक सांस्कृतिक क्रान्ति, देङ स्याओ पिङ, ल्यु साओची, माओ र ग्याङ अफ फोरमै केन्द्रित छ । सांस्कृतिक क्रान्ति कुन उद्देश्य र लक्ष्यका साथ माओले सुरु गरेका थिए ? भन्ने कुरा लेखक देङले प्रष्ट पारेकी छन् । चीनको हवेइ प्रान्तको एक युनिभर्सिटीमा पढाउने एक जना प्राध्यापक ह यीले आँशु झार्दै मसँग भनेकी थिइन– मेरी अमाले इतिहास नपढ्नु, कविता नलेख्नु भन्नु भएको थियो । उनको बाबाले चन्द्रमामा देखिएको दागलाई विम्ब बनाएर कविता लेख्नु भएको रहेछ । माओलाई संकेत गरी कविता लेखिएको अभियोगमा घरको थतबाट खसालेर मारिएछ । प्रचण्डको प्रबृति त्योभन्दा फरक छैन ।
जसरी पुष्पकमल दाहाल प्रचण्ड कम्यनिष्ट भएका थिए, माओको अभियान पनि त्यो भन्दा फरक थिएन । सांस्कृतिक क्रान्तिको यो गलत अभियान देशभरि आगो सरी फैलिएपछि ल्यु साओची र देङ स्याओपिङले सांस्कृतिक क्रान्तिको समर्थन गर्न सकेनन् । त्यही समर्थन नगर्दा नै उनीहरूलाई संशोधनवादी र पुँजीवादीको आरोपमा पदबाट बर्खास्त गरियो । पटक पटक कारवाही गरियो । कम्युनिस्टहरूले कम्बोडियामा मात्र २० लाख मान्छेको ज्यान जाने गरी गृहयुद्ध मच्चाए भने नेपालमा जनयुद्धको नाममा करिब १८ हजार मान्छेको हत्या गरियो । यस्तो विशेषता बोकेका उग्र कम्युनिस्टहरूको बुझाइमा आज पनि उनीहरुले अमूर्त प्रतिगामी देख्न छाडेका छैनन् ।
प्रचण्डबाट काँग्रेसलाई धोका
एमालेलाई धोका दिएर नेपाली काँग्रेससँग गठबन्धन गरेको माओवादीले प्रधानमन्त्री छाडेको दिनदेखि नै काँग्रेस विरुद्ध षडयन्त्र गर्दै एमाले चुनावी मोर्चा कसेको दुनियाँलाई जानकारी छदैछ । काँग्रेस विगतमा माओवादीबाट धोका पाइसकेकोले आगामी चुनाव एक्लै लड्ने मनस्थितिमा देखिन्छ । गत चुनावमा तत्कालीन नेकपा एमाले र माओवादीबीचको चुनावी गठबन्धनसँग एक्लै भिडेको काङ्ग्रेसले उनीहरू विभाजित भएका बेला किन सहारा खोज्छ ? भन्ने प्रश्नसँग एक्लै चुनाव लड्न दवाव परेको छ । आन्दोलन पनि काङ्ग्रेसले आफ्नै बलमा गर्छ, निर्वाचन भयो भने पनि कांग्रेस आफ्नै क्षमतामा लड्छ पूर्व मन्त्री एवं काँग्रेसका केन्द्रीय सदश्य रमेश लेखकको भनाई सार्वजनिक भएको छ । उनले भनेका छन्– खास गरी कम्युनिस्टहरूसँग तालमेल हुँदैन, कम्युनिस्ट बाहेकका शक्तिसँग के हुन्छ अहिले नै भन्न सकिन्न । देउवाको नेतृत्वमा चुनाव हुँदा पुष्पकमल दाहाल प्रचण्डले उनलाई धोका दिएर नेकपा एमालेसँग तालमेल गरे, जसलाई कैयौँ काँग्रेस नेताहरूले विश्वासघातको रूपमा लिने गरेका छन् ।


