तरुण खबर
२८ माघ २०७७, बुधबार १५:५२
बन्द विरुद्ध महेश बस्नेत नेतृत्वमा युवाहरुको प्रदर्शन
काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीवार देशव्यापी आम हडताल घोषणा गरेपछि त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । बिहीवार आम हडताल गर्ने भनेर बुधवार घोषणा गरिए लगत्तै सामाजिक सञ्जालमा धेरै मानिसहरूले बन्दको विरोध गरेका थिए । सामाजिक सञ्जालमार्फत गरिखाने वर्गलाई हानि हुने भन्दै आन्दोलनकारीलाई सजग गराउन खोजेका छन् । आमहडतालविरुद्ध प्रधानमन्त्री केपी ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा युवा–विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए । बस्नेतको नेतृत्वमा ओली समूहका युवा–विद्यार्थीहरूले कमलादीबाट पुतलीसडक हुँदै प्रदर्शनीमार्गसम्म प्रदर्शन गरेका हुन् ।
बिहीवार बिहानै काठमाण्डूमा एउटा ट्याक्सीमा आगजनी भएका खबरहरू आएपछि राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले हिंसात्मक गतिविधिको भत्सर्ना गरेकी छन् । बन्द हड्तालले महामारीबाट भर्खरै तंग्रन खोजेको अर्थतन्त्रमा फेरि अर्को झट्का लाग्ने त्रास कैयौँले व्यक्त गरेका छन् ।
बन्दका कारण बिहीवार बिहानैदेखि राजधानी काठमाण्डू लगायत देशका विभिन्न ठाउँमा आयोजकहरूले धर्ना तथा विरोध प्रदर्शन पनि गरे । यातायात, शिक्षा, उद्योगधन्दा, कलकारखाना तथा व्यापारव्यवसायमा बन्द हडतालले प्रभाव पारेको छ । तर कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य दुई जना मन्त्री बन्दको समर्थन गर्दै सडकमा आएका छन् । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै बिहीबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगडी चोकमा मुख्यमन्त्री शाही सेनाको सुरक्षा गार्डसहित पुगेका हुन् ।
मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा सडकमै गएर आम हड्तालप्रति ऐक्यबद्धता जनाएका थिए ।
खासगरी नयाँ संविधान निर्माण र त्यसपछि स्थायित्वको नारा दिँदै सरकार गठन भएयता केही समयदेखि राजनीतिक दलहरूले बन्द हडताल गर्न छाडेका थिए । तर बिहीवारको हड्तालसँगै अब यो क्रम फेरि शुरु हुने चिन्ता व्याप्त देखिन्छ । जुन नोक्सानी हुनेवाला छ त्यसको मूल्यमा यस्तो खालको कुरा गर्नु बुद्धिमानीपूर्ण होला जस्तो लाग्दैन, बन्द हडतालको जथाभाबी प्रयोगप्रति असन्तुष्ट देखिएका विश्लेषकहरुको भनाई छ । सरकारले हठात् संवैधानिक निकायहरूमा नियुक्ति गरेको विरोधमा आम हडताल आयोजना गरिएको आयोजक समूहको भनाइ छ ।


