ट्रम्प विरुद्धको महाअभियोग बारे बुधबार पनि सुनुवाई

ट्रम्प विरुद्धको महाअभियोग बारे बुधबार पनि सुनुवाई तरुण खबर २८ माघ २०७७, बुधबार १७:२५
ट्रम्प विरुद्धको महाअभियोग बारे बुधबार पनि सुनुवाई

काठमाडौं । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । वीवीसीका अनुसार सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए । यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए । सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो । ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमणका लागि उनले नउक्साएको दाबी गरेका थिए ।

उनीहरूमध्ये एक डेविड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई “राजनीतिक अस्त्र“ बनाइएको दाबी गरे । बुधवारबाट सुनुवाइले फेरि निरन्तरता पाउनेछ । ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ । पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डो¥याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् । एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २ सय २१ जनाविरुद्ध अभियोग दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई “उक्साएको“ उनीमाथि आरोप छ । ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन् । उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो । अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् ।