तरुण खबर
२९ माघ २०७७, बिहीबार १५:३७
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुनेछ । वीवीसी न्युजका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सूचीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।
आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने– म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि अगाडि बढ्दै छ । कूविरुद्ध प्रदर्शनका क्रममा अस्ती मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।
प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।


