तरुण खबर
२९ माघ २०७७, बिहीबार १५:४८
परशु घिमिरे
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै विघटनको सिफारिसलाई सदर गरिन् । त्यस लगत्तै तातेको राजनीतिले विश्राम लिने मौका पाएको छैन । पाउने सम्भावना पनि तत्काल देखिएको छैन । हिजो बिहीबार नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । साना ठूला आन्दोलन देशभर चलिरहेको छ । एक थरीको मत चुनाव केन्द्रीत छ भने अर्काथरीको मत प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गरेपछि मात्र चुनावमा जाने भित्री मनसाय अनुसार आन्दोलनमा गएको छ ।
संसद विघटन भएको अबस्थामा प्रधानमन्त्री केपी ओली समूह संविधानमा प्रधानमन्त्री हटाउने कुनै व्यवस्था नरहेको बताउँदै आएको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमाल नेपाल समूह संसद पुर्नस्थापना गरी प्रचण्डलाई प्रधानमन्त्री बनाएर मात्र विश्राम लिने निश्कर्षमा पुगेको छ । दाहाल र ओलीको द्वन्द्व कहाँ पुगेर टुंगिन्छ, अहिले नै भन्न सकिने अबस्था छैन । नेपाली काँग्रेस भने आन्दोलन या निर्वाचनको निर्णायक शक्ति बनेको छ अर्थात काँग्रेसले चाह्यो भने आन्दोलन निर्णायक अबस्थामा पुग्न सक्छ । काँग्रेसका अधिकांश नेता, कार्यकर्ता भने चुनावको पक्षमा देखिएका छन् । काँग्रेस अदालतको निर्णयलाई स्वीकार गर्ने पार्टी भएकाले अदालतको फैसला नेता कार्यकर्ताले कुरेर बसिरहेका छन् । यी राजनीतिका खेलाडी प्रचण्ड र केपी ओलीको चरित्र चित्रण गर्ने प्रयास यो सानो आलेखमा गरेको छु ।
संसद विघटन भएको अबस्थामा प्रधानमन्त्री केपी ओली समूह संविधानमा प्रधानमन्त्री हटाउने कुनै व्यवस्था नरहेको बताउँदै आएको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह संसद पुर्नस्थापना गरी प्रचण्डलाई प्रधानमन्त्री बनाएर मात्र विश्राम लिने निश्कर्षमा पुगेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड : मैले पुष्पकमल दाहाल प्रचण्डलाई २०३९ सालदेखि राजनीतिक रुपमा नजिकबाट हेरिरहेको छु । उनको उठान, छलाङ जे भने पनि हेर्ने मौका पाएको छु । २०२८ सालबाट राजनीतिमा आएका भनिएका प्रचण्ड २०४३ सालमा सेक्टर काण्ड घटाए नेकपा मशालका महासचिव मोहन वैद्य ‘किरण’ लाई विस्थापित गरी प्रचण्ड आफैं महासचिव बनेपछि राजनीतिमा उदाएका हुन् उनी । बैद्याको निर्देशनमा केही प्रहरी सेक्टरमा भएको असफल कारबाहीमा महासचिवको कारण असफल भएको आरोप लागेपछि किरणलाई महासचिव पद छोडाएर प्रचण्ड मोहन बैद्याको कुर्शीमा बसेका हुन् । अनि प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मल लामा नेतृत्वको (चौम) रूपलाल विश्वकर्मा समूहको सर्वहारा श्रमिक संगठन, डा.बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसाल र रूपचन्द्र विष्टको ‘थाहा’ आन्दोलनबीच एकता गरी २०४७ सालमा नेकपा (एकता केन्द्र) गठन भएको हो । एकता केन्द्रको नेतृत्व गर्ने अबसर पाएका प्रचण्डको नेतृत्व असफल भएको आरोप लगाउँदै जोडिएकाहरु अलग–अलग भए । आन्दोलन, सशस्त्र क्रान्तिको नेतृत्व गरेका प्रचण्डले एक दिन पनि प्रहरी कस्टडी र जेल बस्नु परेको छैन ।
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता भएका पुष्पकमल दाहाल प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । उनी २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भए । प्रचण्ड २०४१ सालमा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि उनी नै फेरी महामन्त्री भए ।
प्रचण्डले २०५२ सालदेखि सुरु गरेको भनिएको जनयुद्ध व्यक्ति हत्यामा रुपान्तरण हुँदै गयो । २०४३ सालदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड नै २०७७ सालको अन्तसम्म अर्थात पार्टी नेतृत्वमै ३४ वर्षदेखि निरन्तर छन् । २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए प्रचण्ड । उनी पहिलो पटक २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । उनले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मतपत्र च्यातचुत बनाएर मेयर बनाए भने पार्टीभित्र कुनै योगदान नभएकी बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाए ।
अर्की छोरी गंगा दाहालाई आप्mनै पीए बनाएका छन् । ज्वाँइहरुमध्ये एक जनालाई उपराष्ट्रपतिकोमा र एक जनालाई खानेपानीमा जागिर दिएका छन् । अर्थात प्रचण्ड जानाजान देशरूपी डुँगालाई भुमरीमा पुर्याउने असफल चालक सावित हुँदै गएका छन् । राजनेता बन्न खोजेको आफ्नो छविलाई उनले आफ्नै भूल र गलत कदमका कारण यसरी मटियामेट पार्न लागेका छन् । राम्रो आय हुने कार्यालयमा फलानाको छोरा–छोरीलाई पठाउने जस्ता पारिवारिक, आर्थिक लाभका लागि बचकना निर्णय लिएर सिंगो राजनीतिक शक्ति, पद्धति र प्रणालीमै विश्वास गुम्ने खालका काम प्रचण्डले गरेका छन् ।
राजनीतिमा पारिवारिक घेरा तोड्न नसकेका उनले दोहो¥याएर एउटै चुनाव क्षेत्रबाट निर्वाचन लडेका छैनन् । पहिलो संविधान सभामा रोल्पा र काठमाडौंको किर्तिपुरबाट चुनाव लडेका उनी दोस्रो पटक चुनाव लड्न सिरहा पुगेका थिए । अहिले चितवनबाट प्रतिनिधित्व गर्दै छन् । २०४८ सालदेखि २०७७ सालसम्म शेरबहादुर देउवा डढेलधुराबाट डगमगाएका छैनन्, निरन्तर डडेलधुराबाट प्रतिनिधित्व गरिरहेका छन् । राजनीतिक रुपमा ध्वंशात्मक प्रबृति देखिएको प्रचण्ड प्रबृतिमा अस्थिरता, पारिवारिक मोह, सामन्तवादी प्रबृति र ऐयशी मनोबृति देखिन्छ ।
केही दिनअघि संसद विघटन गर्ने केपी शर्मा ओलीलाई भित्तामा पु¥याउने चेतावनी दिएका प्रचण्ड–माधवकुमार नेपाल समूह संविधानको संरक्षण गर्ने नाममा आप्mनो सुरक्षा खोजिरहेका छन् । यसर्थ पनि प्रचण्ड र ओलीको तुलना गर्न खोजेको हुँ ।
प्रचण्ड आफैं चल्दैनन्, शक्ति केन्द्रको भर पर्छन् । शक्ति केन्द्रको स्वर्थ अनुसार चल्ने प्रचण्ड भूल गरिरहने नेतामा पर्छन् । गिरिजाप्रसाद कोइराला जसले प्रचण्डलाई हात दिए, साथ दिए र लोकतान्त्रिक दुनियाँमा तानेनन् मात्र, उनले प्रचण्डलाई टेको पनि दिए । ०६२ र ६३ को जनआन्दोलन युद्धलाई सेफ ल्याण्डिङ गराए । तर प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न दिएनन्, गम्भिर धोका दिए । उनी प्रधानमन्त्री भएकै बेला कटवाल प्रकरण घटाइयो । तीन महिना पनि समयावधि बाँकी नरहेको सेना प्रमुखलाई हटाउने मुर्खता गरेको सजाए प्रचण्डले पाइसकेका छन् । नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाको वैशाखी चढेर उनले आफ्नो विगतको उचाइ कायम गर्न खोजेका थिए । यसले गर्दा नेपालीमा बहुचर्चित उखान छ– पिँध नभएको लोटा । उनी त्यही अबस्थामा आइपुगेका छन् ।
राम्रो आय हुने अड्डामा फलानाको छोरा–छोरीलाई पठाउने जस्तो पारिवारिक, आर्थिक लाभका लागि बचकना निर्णय लिएर सिंगो राजनीतिक शक्ति, पद्धति र प्रणालीमै विश्वास गुम्ने काम प्रचण्डले गरेका छन् । राजनीतिमा पारिवारिक घेरा तोड्न नसकेका उनले दोहो–याएर एउटै चुनाव क्षेत्रबाट निर्वाचन लडेका छैनन् ।
खड्गप्रसाद ओली (केपी) : खड्गप्रसाद (केपी) ओली नेपालका ४१औं प्रधानमन्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । व्यक्ति हत्याबाट प्रभावित ओलीमा स्वभावजन्य केही अबगुणहरु छन् । पहिलो पटक बालुवाटार छोड्नु पर्दा ओलीमा अत्यन्त पीडा थिए । त्यतिबेला उनले भनेका थिए– प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन, नेपाली काँग्रेसलाई एमाले समर्थन गर्न तयार छ । दुई महिनापछि काँग्रेसले छाडेका मन्त्रालय लिएर एमाले सरकारमा आउन पनि तयार छ । यदी प्रचण्डलाई प्रधानमन्त्री बनाइयो भने काँग्रेसले आप्mनो दिन गन्ति सुरु गरे हुन्छ । नभन्दै उनले नेपाली काँग्रेसलाई निर्वाचनपछि लाजमर्दो अबस्थामा पु–याए । अर्थात उनी रणनीतिक रुपमा चाल चल्ने चतुर खेलाडी हुन् ।
उदाहरणका रुपमा महाकाली सन्धीलाई लिन सकिन्छ । २९ माघ ०५२ मा नयाँ दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी पीभी नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसअघि १५ माघ ०५२ मा सन्धिमा परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतीय समकक्षी प्रणव मुखर्जीले काठमाडौँमा हस्ताक्षर गरेका थिए । मुखर्जीले प्रतिपक्षी दलको उपस्थिति बिना हस्ताक्ष गर्न नमानेपछि केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका थिए । त्यस प्रकरणमा संलग्न प्रमुख पात्रहरुमा पशुपति शमशेर राणा, प्रकाशचन्दा लोहनी, केपी शर्मा ओली र प्रधानमन्त्रीका रुपमा देउवा आफै संलग्न थिए ।
महाकाली सम्झौता भएको भोली पल्ट बिहानै म उनको निवासमा पुगेको थिए अन्तरवार्तका लागि । त्यसबेला केपी ओली पाटनको महापालस्थित ससुराली घरमा बस्थें सायद । ओली निवासमै भेट भएका थिए पुराना मित्र युदु गौतम । पछि माओवादीले उनलाई निर्ममतापूर्वक हत्या ग-यो । महाकाली सन्धि प्रकरणकै कारण एमाले विभाजित भयो र नेकपा मालेको जन्म्यो । केन्द्रीय कमिटीमा मतदान हुँदा पक्षमा १७ र विपक्षमा १६ मत परेको थियो । एमाले अध्यक्ष मनमोहन अधिकारी आफै मत हाल्न नगएर तत्कालिन बैकल्पिक केन्द्रीय सदश्य देवराज घिमिरेलाई प्रतिनिधिका रुपमा मत हाल्न पठाएका थिए । २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल बसेका ओली कस्तो र कतिसम्म जोखिम मोल्न सक्छन् भन्ने उदाहरणका लागि मात्र यो प्रशंग मैले उललेख गरेको हुँ । जनयुद्धको नाममा १७ हजार नेपालीको हत्याको आरोप खेपी रहेका पुष्पकमल दाहालले एक दिन पनि जेलको अनुभव बेहोरेका छैनन् भने २०२८ सालमा पश्चिम बंगालका चारुम मजुमदारबाट प्रभावित भएर केपी ओली संलग्न पार्टीले दुई–चार जनाको हत्या गरेको अभियोगमा मालेका डेढ दर्जनभन्दा बढी नेताले १७ वर्षसम्म जेलमै बिताएका थिए ।


