तरुण खबर
३० माघ २०७७, शुक्रबार १०:०५
काठमाडौं । तामाङ र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विशेष गरी हिमाली क्षेत्रमा मनाइने ल्होसार १५ दिनसम्म भोज–भत्तेरका लागि मिठा परिकारहरु बनाइन्छ । नयाँ वर्ष अर्थात ल्होसरमा घर सफा गर्ने, नयाँ सामान किन्ने परम्रा पनि छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
सोनामको अर्थ कृषि हो । किसानले रोपेको खेतीको उत्पादन भित्र्याएपछि हुने खुसीयालीमा सोनाम लोसार मनाइने गरिएको परम्परा छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होसार) को रुपमा मनाउदै आएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसानहरुको ल्होसार भनेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।
तामाङ सहित देशका विभिन्न भागमा बसोबास गर्ने ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम लोसार मनाउँदै आएका छन् । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने सम्बद्ध समुदायले जनाएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले ल्होसरको शुभकामना दिएका छन् ।


