तरुण खबर
३० माघ २०७७, शुक्रबार १०:१८
काठमाडौं । म्यान्मारको सैनिक कु विरुद्ध पूर्वी कया प्रान्तमा दर्जनौँ प्रहरीहरूले आयोजित र्यालीप्रति समर्थन व्यक्त गर्दै छुट्टै सडक प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सैनिक शासकले प्रदर्शन गर्ने प्रहरीहरुलाई थुनामा राखेको छ । स्थानिय म्यान्मार नाऊका अनुसार “हामी जनताको साथमा छौँ’ र “हामी तानाशाही चाहँदैनौँ“ भन्ने आशयका पोस्टरहरू प्रहरीले बोकेका थिए । एक प्रदर्शनकारीका अनुसार झन्डै ४० जना प्रहरी त्यसरी विरोध प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले पछि प्रदर्शनकारीहरूलाई अरू प्रहरीबाट जोगाउन खोजेको भिडियोमा देखिएको थियो ।
अर्का एक प्रत्यक्षदर्शीका अनुसार त्यसरी प्रदर्शन गर्ने प्रहरीलाई पछि पक्राउ गरिएको थियो । माघ ११ गते सेनाले एक वर्षका लागि संकटकाल घोषणा गर्दै स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्ट, मुख्यमन्त्रीहरु एवं नेताहरुलाई नियन्त्रणमा लिएको थियो । गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ । म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो ।


