नेकपाको सूर्य चिन्ह सूर्य फ्रिज हुन सम्भावना

नेकपाको सूर्य चिन्ह सूर्य फ्रिज हुन सम्भावना तरुण खबर १ फाल्गुन २०७७, शनिबार १०:२२
नेकपाको सूर्य चिन्ह सूर्य फ्रिज हुन सम्भावना

शिर्ष नेताहरुको द्वन्द्वको असर, प्रधानमन्त्री ओली उदाउँदो सूर्यबाट चुनाव लड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले चुनाव चिन्ह फ्रिज हुन सक्ने देखिएकाले पुष्पकमल दाहाल–माधवकुमार नेपाल परामर्शमा जुटेका छन् । पार्टी विभाजनको संकेत पाएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) दर्ता गर्न लगाएको प्रचण्ड–नेपाल पक्षको दावी छ । उनी निकट सन्ध्या तिवारी भेटवाल अध्यक्ष रहेको एमालेले उदाउँदो सूर्य चिन्ह पाइसकेको छ । सन्ध्या तिवारीले गत भदौंमै पार्टी निर्वाचन आयोगमा दर्ता गरेकी हुन् । त्यस्तै पार्टीको महासचिवमा मनिषकुमार उपाध्याय रहेका छन् । महासचिव मनीषकुमार उपाध्यायले भनेका छन्– दुवै पक्षले यसअघि जनताको बहुदलीय जनवादलाई वास्ता गरेनन् तर अहिले सजिलोको निम्ति त्यसलाई सम्झिरहेका छन् । उनले अगाडि भने– संसद विघटन प्रकरणलाई प्रतिगमन नभनौं, निर्वाचनमा जानु त लोकतान्त्रिक अभ्यास हो । प्रतिगमन नभनौँ, निकट आएको संकटलाई ओलीजीले टार्नुभयो, उहाँसँग कुनै उपाय थिएन । कुनै पनि पार्टीले संसद विघटन गथ्र्यो ।

ओलीमाथि दल दर्ताको आरोप

दर्ता भएको नयाँ पार्टीको विधानमा पूरा नाम ’नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)’ रहेको र छोटकरीमा ’नेकपा (एमाले)’ रहेको आयोगले गत भदौमै जनाएको थियो । एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । नवगठित नेकपा (एमाले)मा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएका छन् ।

तर ओली पक्षसँग निकट रहेको ठम्याइ अस्वीकार गर्दै महासचिव उपाध्याय भन्छन्, “राजनीतिमा कांग्रेस, माओवादीदेखि राप्रपासम्मका दलमा साथीभाइ छन्, तर त्यसैको भरमा ओली निकट भनी अनुमान गर्नु ठिक होइन ।“ नेकपाभित्र विवाद चर्किएका बेला प्रधानमन्त्रीनिकट केही नेताहरूले अनौपचारिक कुराकानीमा एमाले पार्टी दर्तातर्फ संकेत गर्दै पूर्वएमालेको पक्षमा ध्रुवीकरणको लक्ष्य सुनाउने गरेका थिए । तर अहिले प्रधानमन्त्रीलाई पूर्वमाओवादीका केही उच्च नेताहरूले पनि साथ दिएका छन् भने पुष्पकमल दाहाल प्रचण्डको पक्षमा पूर्वएमालेका वरिष्ठ नेताहरू पनि सहभागी छन् । एमाले दर्ता भएसँगै आयोगमा १ सय ३२ दल भएका छन् ।

चुनाव चिन्ह फ्रिज हुन सक्ने
आयोगले नेकपा र उसको चुनाव चिह्न नै कसैलाई नदिने गरी ’फ्रिज’ गरिदिने आशङ्का र अनुमान भइरहेकाले पनि चुनाव चिन्हतर्फ चासो बढेको हो । नेता माधवकुमार नेपाल समेत त्यस्तै आशंकामा आफ्नो दलको केन्द्रीय सदस्यहरूसँग छलफल गरेको समाचार केही दिनअघि आएको थियो । सन्ध्या तिवारी भेटवाल नर्सिङ पेसा छाडेर अहिले राजनीतिमा पूर्ण रूपले होमिएकी छन् । कतिपयले नेकपा र चुनाव चिह्न फ्रिज भएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दर्ता रहेको नेकपा एमालेबाट चुनाव लड्न तुलनात्मक रूपमा सहज हुने ठानेका छन् ।

द्वन्द्वको असर राष्ट्रिय सभाको लेवीमा

यता, नेकपामा द्वन्द्व बढ्दै गएपछि राष्ट्रिय सभामा नेकपाका सांसदको लेबी कट्टी पनि बन्द भएको छ । सांसदले पार्टीमा लेबी तिर्दै आएको १२ हजार रुपैयाँ नेकपामा दुई चिरा देखिएपछि अहिले बुझाउनुपरेको छैन । संसद् सचिवालयले नै लेबी रकम कट्टी गरेर सांसदको तलब पठाउने गरेको थियो । सचिवालयले काटिएको लेबी रकम नेकपा पार्टी खातामा पठाउँथ्यो । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित नेकपाको आधिकारिकताको कानुनी लडाइँ निर्वाचन आयोगमा पुगेको छ । राष्ट्रिय सभातर्फ अध्यक्ष र उपाध्यक्षसमेत जोड्ने हो भने ४७ जना नेकपाका सांसद छन् । प्रतिनिधिसभा विघटनपछि सांसद बाँडिएर प्रचण्ड–नेपाल र ओली समूहमा लागेका छन् ।
संसद् सचिवालयले दिएको तथ्यांकअनुसार पार्टी विवाद हुनुअघिसम्म संघीय सांसदहरूबाट नेकपाको पार्टी खातामा मासिक २३ लाख ६४ हजार रुपैयाँसम्म लेबीस्वरूप रकम गएको देखिन्छ । तर, प्रतिनिधिसभा विघटन भएर पार्टी नै विभाजनको बाटोमा गएपछि राष्ट्रिय सभाका सांसदबाट जाने रकम पनि रोकिएको छ ।