यजुर्वेदमा अग्निहोत्रको धार्मिक र बैज्ञानिक महत्व

यजुर्वेदमा अग्निहोत्रको धार्मिक र बैज्ञानिक महत्व तरुण खबर २ फाल्गुन २०७७, आईतवार १०:५४
यजुर्वेदमा अग्निहोत्रको धार्मिक र बैज्ञानिक महत्व

परशु घिमिरे

खासगरी वैदिक सनातन धर्ममा अग्निहोत्रको धेरै ठूलो महिमा छ । यस यज्ञको वर्णन यजुर्वेदमा गरिएको छ । यो यज्ञ दुई प्रकारका छन् । नित्य र काम्य । काम्यभन्दा नित्यलाई महत्वपूर्ण मानिन्छ । अग्नि–स्थापन गरेर कुनै व्यक्तिले आजीवन प्रातःकाल र सन्ध्याकालमा नियमपूर्वक हवन गर्छ भने त्यसलाई ‘नित्य’ भनिन्छ । कुनै मनोकामनाका लागि निर्दिष्ट समयसम्म कुनै व्यक्तिले हवन गर्छ भने त्यसलाई काम्य भनिन्छ ।

दैनिक रूपमा समिधामा घिउ, चामल आदिबाट गरिने हवन आस्तिकहरूको नजरमा भगवानको आह्वान मात्रै होइन, वैज्ञानिक रूपमा समेत यसको महत्व धेरै छ । विभिन्न वैज्ञानिक अध्ययनहरूले पुष्टि गरिसकेको छ कि वायु प्रदूषण कम गर्न अग्निहोत्र सहायकसिद्ध हुने गरेको छ । यसमा प्रयोग गरिने हव्य सामग्रीले झन्डै दुई किलोमिटर आसपासको वातावरणलाई शुद्ध गराउँछ भन्ने प्रमाण विज्ञानले नै दिएको छ । त्यसैले हामीले यसलाई केवल धार्मिक कृत्यको रूपमा नमानेर वैज्ञानिक महत्वको रूपमा मान्नुपर्ने ऋग्वेदको सबैभन्दा पहिलो श्लोकमै अग्निको आह्वान गरिएको छ ।

अग्निहोत्रको धार्मिक महत्व
पूर्वीय संस्कृतिहरूले विभिन्न प्रकारका यज्ञको उल्लेख गरेको छ । आजभन्दा तीन हजार वर्ष पहिलेको वैदिक समयमा अग्निलाई सबैभन्दा ठूलो भगवानको गरिएको पाइन्छ । धार्मिक रूपले मात्रैभन्दा पनि त्यतिबेलाको सामाजिक अवस्थामा घाम, पानी, मेघ, बतासहरूलाई समेत भगवान मानेर पूजा गर्ने चलन थियो । त्यहीँबाट अग्निहोत्रको प्रारम्भ भएको हो ।

त्यो कालमा कृषिमा आधारित समाज थियो । त्यतिबेला कृषकहरूले भोग्ने जस्तासुकै समस्याहरूलाई पनि भगवान रिसाएर भएको मान्ने गरिएको थियो । त्यसैले आफूलाई कुनै पनि समस्या परेको खण्डमा भगवानलाई खुसी बनाउने प्रचलन थियो । त्यतिबेला अग्निलाई भगवान र देवताको सन्देशबाहक मान्ने गरिएको थियो । त्यो समयमा ठाउँठाउँमा अग्निलाई नै परमात्मासमेत भन्ने गरेको पाइन्छ ।

अग्निको जन्मलाई योनि, जन्मस्थान, गृह र रूपको आधारमा विभिन्न तीन भागमा बाँड्ने गरिएको छ । जस्तो, पहिलो मान्यताअनुसार सूर्य भनेको अग्नि र अग्नि भनेको सूर्य हो । अग्निको पहिलो जन्म आकाशमा भएको मानिन्छ । आकाशमा जन्मिएका सूर्यका आमा अदिति र पिता द्यौश थिए । उनको रूप जाज्वल्यमान रहेको मानिन्छ ।

अग्निको दोस्रो जन्म पृथ्वीमा भएको मानिन्छ । जुन दुई किसिमको काठलाई रगडेर जन्माउने गरिन्छ । १० औंला नै उनको पिता मान्ने गरिएको छ । उनको योनि १० औंला रगड्ने शक्तिलाई नै उनको योनि मान्ने गरिन्छ । पृथ्वीको अग्निको स्वरूप रातो हुन्छ । तेस्रो अग्नि पानीमा हुन्छ भनिएको छ । पानीमा हुने चक्रको शक्ति नै योनि हो भनिन्छ । अहिले बिजुली निकाल्न प्रयोग गरिने टर्बाइन नै त्यतिबेलाको चक्रको रूपमा चिनिन्थ्यो ।

यही माथि उल्लेख गरिएका तीन किसिमका अग्निमा होम गरेर गरिने यज्ञ नै अग्निहोत्र हो । अग्निहोत्रमा ३३ कोटि भगवानलाई नै आह्वान गर्ने गरिन्थ्यो । तैत्तेरीय ब्राह्मणमा उल्लेख भएअनुसार अग्निहोत्रको लागि ११ किसिमका सामग्रीहरू आवश्यक हुन्छन् । ती निम्नानुसार छन् ।

१. दूध, २. दही, ३. श्लेष (लप्सी), ४. घिउ, ५. भात, ६. चामल, ७. जौ, ८. सोमरस, ९. मासु, १०. तेल र ११. उरद
यी सामग्रीहरूबाट हरेक दिन अग्निहोत्र गर्नुपर्ने मानिन्छ । यसरी अग्निहोत्र गर्दा देवीदेवताहरू प्रसन्न हुने मात्रै होइन, सबै जनाले शुद्ध वैदिक मन्त्रहरूको उच्चारण गर्दा आउने आवाजले दुष्ट आत्माहरू भाग्छन् भन्ने मान्यता राखिन्छ । जुन धूँवा निस्किएको हुन्छ, त्यसको वायुमण्डललाई राम्रो गर्छ र प्रदूषण कम हुन्छ भन्ने मान्यता थियो ।

अग्निहोत्रको वैज्ञानिक महत्व
यज्ञकुण्डमा प्रयोग गरिने समिधा बनाउने काठमा सेलुलोज भन्ने पदार्थ पाइन्छ । जसको पूर्ण दोहनबाट यसको वाष्पीकरण हुने गर्छ । अग्निकुण्डमा जुन प्रकारको समिधालाई प्रयोग गरिन्छ, त्यसलाई साढे २ सय डिग्रीदेखि ६०० डिग्रीसम्मको तापमा जलाउने गरिएको हुन्छ । जबकि यसबाट निस्कने ज्वालाको तापमान नै १२०० डिग्री सेल्सियसदेखि १५०० डिग्री सेल्सियससम्म हुनेगर्छ । समिधामा धूँवा नआउने गरी बलेको आगोमा मात्रै अग्निहोत्रका सामानहरू हवन गर्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले धूँवा आएको आगोमा हवन गर्ने गरिँदैन ।

जब सेलुलोज अरु पदार्थहरू जस्तो कार्बाेहाइड्रेड, अक्सिजन, कार्वनिक पदार्थ आदिको मिश्रण उक्त सेलुलोजसँग हुने गर्छ, त्यतिबेला ठोस वस्तुहरू एकदमै सूक्ष्म अवस्थामा विभाजित अवस्थामा पाइन्छ । कुनै पनि पदार्थ जलेपछि जुन ग्यासको रूपमा वायुमण्डलमा जान्छ, त्यसमा असंख्य मात्रामा व्याप्त हुन्छ । यो कुरा सन् १९६६ सालमा क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा सेमिनारले पुष्टि गरेको छ । सो सेमिनारले अग्निमा कुनै पनि हव्य सामग्रीलाई अक्सिकृत बनाउन सक्ने क्षमता हुने निष्कर्ष निकालिएको थियो ।

कसरी रोक्छ अग्निहोत्रले प्रदूषण ?
यज्ञमा प्रयोग गरिने पदार्थहरूमा घिउ र वनस्पतिसँग जोडिएका चिल्लो पदार्थ पनि समावेश भएका हुन्छन् । घिउ नै दाउराको तीव्र जलनको मुख्य कारक हो । अग्निहोत्रमा चिल्लो बोसोयुक्त पदार्थको साथमा ‘फ्याट एसिड’को समेत संयोजन हुने गर्छ । यो प्रक्रियामा एक किसिमको हाइड्रोकार्वन पनि उत्पादन हुने गर्छ । यस्तो हाइड्रोकार्वन पुनः मन्द गतिमा बल्दै जान्छ । जसको फलस्वरूप मिथाइल र इथाइल अल्कोहल, फामेल्डिहाइड, एसिटेल्डिहाइड, फार्मिक एसिड, ऐसिटिक एसिड आदिको निर्माण हुने गर्छ ।

फाल्डिहाइडले वातावरणमा उपस्थित हानिकारक जीवाणुहरूलाई नष्ट गर्ने गर्छ । यही प्रकारले यज्ञबाट उत्पन्न भएको अन्य पदार्थहरू जस्तो फार्मिक अम्ल तथा एसिटिक अम्लसमेत राम्रो रोग अणुरोधक कार्य गर्छ । प्रकाश रासायनिक प्रक्रियाअन्तर्गत कार्बन डाइअक्साइडको मात्रामा कमी आउनुको साथै अक्सिजनको मात्रामा वृद्धि हुने गर्छ । यही कारणले नै यज्ञ गर्दा वातावरण शुद्ध हुन्छ भन्ने वैज्ञानिक मान्यता छ ।