तरुण खबर
३ फाल्गुन २०७७, सोमबार ११:०४
काठमाडौं । म्यानमारको सेनाले शासन सत्ता आफ्नो हातमा लिएको विरोधमा दैनिक सडक प्रदर्शन बढ्न थालेपछि अझै दमन गर्ने भएको छ । विरोध बढ्दै गएपछि सेनाले हतियारले सुसज्जित गाडीसहित सडकमा तैनाथी बढाएको हो । संयुक्त राष्ट्रसंघका एक अधिकारीले सेनाले नागरिक विरुद्ध ‘युद्ध’ को घोषणा गरेको आरोप लगाएका छन् । तर अन्तराष्ट्रिय समुदायले आलोचना गरे पनि सेनाले टेरेको छैन । अमेरिकाले त सैन्य नेतृत्व र उनका परिवारमाथि प्रतिबन्ध नै लगाएको छ । गत नोभेम्बर महिनामा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै फेब्रुअरी १ तारिखमा म्यान्मारमा सेनाले देशको शासन आफ्नो हातमा लिएको थियो । निर्वाचनमा नेत्री आङ सान सू चीको न्याश्नल लीग फर डेमोत्र्mयासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो । सैन्य कूसँगै सू ची नजरबन्दमा छिन् भने एनएलडीका अरू नेता पनि सेनाको नियन्त्रणमा छन् ।
म्यानमारभर इन्टरनेट सेवा बन्द
म्यानमारका अधिकांश शहरमा बख्तरबन्द गाडी तैनाथ भएका छन् । सेनाले इन्टरनेट लगभग पूर्ण रुपमा बन्द गरेको छ । नेपाली समय अनुसार आइतबार राति सवा १२ बजेदेखि सेनाले इन्टरनेट पूर्ण रुपमा बन्द गरेको हो । त्यसपछि विरोधमा सर्वासाधारण, पेशाकर्मी, भिक्षुसहित विरोधमा उत्रिएका छन् । आइतबार लगातार नवौँ दिन विरोध प्रदर्शन भयो । सुरक्षाकर्मीले उत्तरी राज्य काचिनमा प्रदर्शनकारीमाथि गोली चलाएको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । देशभर सेना विरुद्ध प्रदर्शन हुँदै आएको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत टम एन्ड्रयुजले सैनिक जनरलहरुले अति हतास व्यवहार देखाउन थालेको र उनीहरुले मूल्य चुकाउनु पर्ने बताएका छन् ।
राष्ट्र संघको सेनालाई चेतावनी
पश्चिमा देशका दूतावासहरुले सेनालाई संयम अपनाउन आग्रह गरेका छन् । युरोपियन युनियन (इयू), अमेरिका र बेलायतले हस्ताक्षर गरेको वक्तव्यमा प्रदर्शनकारीमाथि हिंसाको प्रयोग नगर्न र संयमता अपनाउन आग्रह गरिएको छ । प्रदर्शनमाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै दशौँ हजारको सङ्ख्यामा मानिसहरू सडकमा निस्किरहेका थिए । प्रदर्शनमा चिकित्सकदेखि विद्यार्थी, खेलाडी र महिलासम्म सहभागी भइरहेका छन् । पूर्वी किया राज्यमा दर्जनौँ प्रहरी अधिकारीले पनि प्रदर्शन गरेका थिए ।
प्रदर्शन गर्न नपाइने आदेशको अवज्ञा गर्दै म्यान्मारमा हजारौँ मानिसले सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका छन् । मानिसहरू स्वेच्छाले प्रदर्शनमा आइरहेका छन् र ’कोही ठूला नेता छैन’ एक स्थानियले भनेको वीवीसीले उल्लेख गरेको छ । उनले भने– संसद्को नयाँ सत्र आरम्भ गर्ने तयारी भइरहेकै बेला सेनाले सत्ता कब्जा ग¥यो । सेनाले चुनावमा धाँधली भएको दाबी गर्दै आए पनि निर्वाचन आयोगले धाँधली भएकोबारे कुनै प्रमाण नदेखिएको बताउँदै आएको छ । मङ्गलवार अबेर राति सुरक्षाकर्मीले याङ्गुनस्थित एनएलडीका कार्यालयहरूमा छापा मारे ।
आङ सान सूचीको पार्टी कार्यालय तोडफोड
सुरक्षाकर्मीले बलपूर्वक कार्यालयका ढोकाहरू फुटाएका थिए । छापा मारिएका बेला पार्टी कार्यालयमा कोही थिएनन् । हाम्रो लोकतन्त्रका लागि सङ्घर्ष गर्नका निम्ति थुप्रै मानिसहरू छन्,“ एक स्थानियले भने यो प्रदर्शनमा म कुनै ठूलो नेता होइन । म एक साधारण तथा जिम्मेवार नागरिक हुँ, जसले सैनिक निरङ्कुशताको विरोध गरिरहेको छ । हामीले सामूहिक नेतृत्वको प्रयोग गरिरहेका छौँ । प्रत्येक नागरिक आफैँमा एक नेतृत्वकर्ता हुन् । म्यान्मारमा लोकतन्त्रको जित हुनेमा उनी विश्वस्त देखिन्छन् । “मान्डलेको कुरा गर्नुपर्दा सिङ्गो सहर सैन्य कू, सैनिक तानाशाहीको विरोधमा छ । हामीले एकदमै शान्तिपूर्ण ढङ्गले, कुनै प्रकारको हिंसाबिना प्रदर्शनहरू गरिरहेका छौँ ।


