तरुण खबर
५ फाल्गुन २०७७, बुधबार १०:५३
सहपाठीले बलात्कार र हत्या गरेको पुष्टि
काठमाडौं । सनातन धर्म माध्यमिक विद्यालयमा एकै कक्षामा पढ्ने सहपाठीले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । प्रहरीले उनलाई १३औं दिनको दिन पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले बलात्कारपछि हत्या गरेको स्विकारेका छन् । यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । बलात्कारपछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको मंगलबार साँझ पुष्टि भएको हो । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ । घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भागरथीसँगै कमर्स पढ्ने उनको विद्यालयका २२ जना विद्यार्थी थिए । तर त्यो गाउँमा कमर्श पढ्ने उनी एक मात्र थिइन । तीमध्ये केही साथीहरूका अनुसार भागरथी विद्यार्थीसँगै स्कुलबाट हिँडेकी थिइन् । स्कुलबाट पाँच मिनेट पर खोचलेक बजार पुगिन्छ ।
उनी सधैं हिँड्ने बाटो लवलेक सामुदायिक वनको जंगल छिचोलेर घर पुग्थिन् । त्यस विद्यालयबाट नफर्किएपछि परिवारले खोजबिन सुरु गरे । स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । दोगडाकेदार गाउँपालिकामा निरन्तर प्रदर्शन हुँदै आएको थियो । स्थानीयले तीन दिनदेखि घन्टी जुलुस गर्दै आएका थिए ।
घटना भएको दिन भागरथी दिउँसो २ बजेसम्म आफू पढ्ने साथीहरूसँगको सम्पर्कमै थिइन् । २ बजेअगावै स्कुल छुट्टी भइसकेको थियो । स्कुल छुट्टी भएपछि भागरथी बजारतिर हिँडिन् । प्रहरीका अनुसार भागरथी स्कुल छुट्टी भएपछि नजिकैको खोचलेक बजार पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनले आफ्नी एक साथीलाई फोन गरेर सँगै जान अनुरोध गरिन् । तर, साथीले भनिन्, ‘मेरो कपाल काट्नु छ समय लाग्छ ।’ ‘उनी नियमित क्लासमा सहभागी भएको १३ दिन मात्रै भएको थियो,’ विद्यालयका प्रधानाध्यापकले भनेका थिए ।


