प्रजातन्त्रकै सन्दर्भ पारेर पाँच सयभन्दा बढी कैदीलाई कैद मिनाह

प्रजातन्त्रकै सन्दर्भ पारेर पाँच सयभन्दा बढी कैदीलाई कैद मिनाह तरुण खबर ७ फाल्गुन २०७७, शुक्रबार १०:४२
प्रजातन्त्रकै सन्दर्भ पारेर पाँच सयभन्दा बढी कैदीलाई कैद मिनाह

नेताहरुद्वारा शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेकी छिन् । फागुन ७ गतेको दुई दिनअघि अर्थात २००७ साल फागुन ५ गते श्री ५ त्रिभुवन सपरिवार काठमाडौँ फिर्ता आएका थिए ।

“प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ”, राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशमा भनिएको छ ।

विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको छ ।

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष उर्जा सबैलाई प्रदान गर्ने विश्वास लिएको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले फागुन ७ को क्रान्ति नै अहिलेसम्मका सबै उपलब्धीहरुको जननी भएको बताए ।

‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो’ सभापति देउवाले भनेका छन् ।

‘फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताका अनुसार ४ सय १ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हो ।