तरुण खबर
११ फाल्गुन २०७७, मंगलवार ११:४३
फागुन १२ मा अहिंसा र शान्तिस् आजको सन्दर्भमा गोष्ठी
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महेन्द्रनारायण निधि अस्पतालको उद्घाट गर्ने भएका छन् । अहिंसा, शान्ति र समुदायकाबीच सद्भाव ,लोकतन्त्र र सामाजिक न्यायका अथक अभियन्ता महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा महेन्द्रनारायण निधिको स्मारक अनावरण तथा निधि मेमोरियल अस्पतालको नवनिर्मित भवनको उद्घाटन हुने भएको छ ।
वि.सं. २००७ असोज ९, १० र ११ मा तत्कालीन जहानिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ’बैरगनिया सम्मेलन’ मा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई. सिंह, मातृकाप्रसाद कोइराला, बि.पि. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । तत्कालीन जहानिया राणा शासन फाल्न ’डु अर डाई’ (गर या मर) अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्वीकारेका थिए ।
नेपाली काँग्रेसको वरिष्ठ नेता रहेका महेन्द्रनारायण निधिको जन्म वि.सं.१९७८ फागुन १३ गते शिवरात्रीका दिन नगराइन गाउँमा भएको हो । नेपालका गान्धीका नामले परिचित उनी अहिंसाका पूजारी थिए । २०१५ सालको आम निर्वाचनपछि संसदीय व्यवस्थाको पहिलो उपसभामुख पनि हुन् महेन्द्रनारायण निधि ।
भोली फागुन १२ गते अहिंसा र शान्ति: आजको सन्दर्भ विषययक गोष्ठी अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा हुनेछ भने फागुन १३ गते स्मारक तथा नयाँ भवनको लोकार्पण हुनेछ । स्मारक र नयाँ भवनको उद्घाटन भने वसुन्धारा काठमाण्डौंमा ( वीपी स्मृति अस्पताल र प्रहरी विट नजीकै ) हुनेछ ।
पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेका छन् भने बिशिष्ट अतिथिमा नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि रहेका छन् । विशेष अतिथि प्रा.डा. आनन्द आचार्यसहित वक्ताहरुलाई मन्तव्यका लागि बोलाइएको छ । नेपालको इतिहासमा तराई–मधेशबाट राजनीतिक आन्दोलनमा राष्ट्रिय रुपमा स्थापित नेताको पहिलो स्मारक हुने आयोजक संस्थाका अध्यक्ष पुरुषोत्तम दाहालले बताएका छन् ।


