तोडफोड, बन्द कांग्रेसको नीति होइन : कमला पन्त

तोडफोड, बन्द कांग्रेसको नीति होइन : कमला पन्त तरुण खबर ११ फाल्गुन २०७७, मंगलवार १४:१९
तोडफोड, बन्द कांग्रेसको नीति होइन : कमला पन्त

विद्यार्थी राजनीतिबाट खारिएकी नेतृ हुन् कमला पन्त । उनी नेपाली कांग्रेसकी केन्द्रीय तथा पूर्व मन्त्री पनि हुन् । उनले कांग्रेसको राजनीतिबाट सांसद र मन्त्री बन्ने अवसर पनि पाइसकेकी छन् । सामान्य किसान परिवारमा जन्मिएकी उनी विधि, विधान र निष्ठाको राजनीति रुचाउँछिन् । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आवाज बुलन्द गर्ने पन्त निडर नेतृ र स्पष्ट वक्ताको रुपमा चिनिन्छिन् । यिनै समसामयिक विषयमा केन्द्रित रहेर पन्तसँग कालिका महतले गरेको कुराकानी :

नेपाली कांग्रेस के गर्दै छ ?

जब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेपाली कांग्रेस केन्द्रीय समितिले यो असंवैधानिक कदम हो भनेर ठहर ग¥यो । त्यहीं अनुरुप प्रधानमन्त्रीको कदमविरुद्ध देशैभरि विरोधका कार्यक्रमहरु सुरु भए । म पनि आफ्नो जिल्ला, क्षेत्र, गाउँ र केन्द्रमा हुने विभिन्न विरोधका कार्यक्रममा व्यस्त छु ।
सत्तापक्ष नै विभिन्न रुपले सडकमा आन्दोलित भइरहँदा कांग्रेस त देखिएन नि ?

यो बढो अनौठो छ । यसैलाई भन्छन् ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेर । सत्तापक्ष प्रधानमन्त्री आफै जसले विधि, पद्धति र सिद्धान्त जोगाएर शासनलाई सभ्य ढंगले अगाडि बढाउनुपर्ने हो । उहाँले नै न्यायलय र निर्वाचन आयोगलाई थे्रट गरेर हिड्नुभएको छ । त्यसैले ‘कही नभएको जात्रा हाँडी गाउँमा भन्छन् । हाम्रो देशमा यस्तै छ ।

सत्तापक्षबाटै नेपाल बन्द, हड्ताल जस्ता काम भएको छ के भन्नुहुन्छ ?

जथाभावी बन्द, हडताल, तोडफोन गर्न कांग्रेसलाई बौलाहा कुकुरले टोकेको छर ? हामीले त शक्ति पृथकीकरणको सिद्धान्तलाई सम्मान गरेका छौं । न्यायलयले आफ्नो काम गर्न पाउनुप-यो । अपोजिसनका पार्टीहरुले आफ्नो ठाउँमा रहनुप¥यो । प्रतिपक्ष दलले त अहिलेसम्म राज्यलाई रचनात्मक सहयोग गर्नुपर्छ भनेर हेरिरहेको अवस्था हो । अहिले जनताको इच्छा भनेको स्थिरता हो । त्यसको लागि राज्यलाई रचनात्मक सहयोग गर्नुपर्छ भनेर अगाडि बढिरहेको छ । जब पुस ५ गते संसद् विघटन हुनेबित्तिकै यो कदम अलोकतान्त्रि, असंवैधानिक, अराजनीतिक र अधिनायकवादी कदम हो भनेर नेपाली कांग्रेसले निर्णय ग¥यो । नेपाली कांग्रेसले पार्टी कार्यालय बैठक राखेर यो निर्णय गरिसकेपछि हामी विरोधका कार्यक्रम लिएर ग्रास रुटमा पुगेका छौैैं । त्यसको लागि ७५३ वटा पालिका, ७७ वटा जिल्ला र ६७४३ वटा वडालगायत क्षेत्रसम्म पुगेर विरोधका कार्यक्रमहरु गरिराखेका छौं । त्यसरी नेपाली कांग्रेस जनताको घरदैलोमा पगिरहेको छ ।

नेपाली कांग्रेस रचनात्मक विरोधका कार्यक्रम लिएर अगाडि बढने हो ?

नेपाली कांग्रेस सत्ताको बनेको पार्टी होइन । विधि, पद्धति र सिद्धान्तको लागि बनेको हो । त्यसैले सैद्धान्तिक रुपमा कहाँ को विचलित भयो । त्यसलाई समयले जवाफ दिन्छ । हाम्रो पार्टीले आधिकारिक रुपमा गरेको निर्णय नै ठीक हो । त्यसै अनुरुप कांग्रेसका सबै तह, तप्का एकजुट भएर यो कदमविरुद्ध क्रियाकलाप गरिरहेका छौं ।

अहिले जे गरिरहेको छ त्यो पार्टीको आधिकारिक धारणा हो ?

हो, अहिले अहिले केन्द्र, जिल्ला, क्षेत्र र वडामा जेजति विरोधका कार्यक्रम भएका छन् । ती नेपाली कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको आधिकारिक धारणा हो । यो निर्णयका लागि दुई, तीन पटक पार्टीको कार्यसमिति बैठक बसेको हो । त्यसबाट निकालिएको निष्कर्ष हो ।

कांग्रेस जसरी सशक्त ढंगले अगाडि आउनुपर्ने हो, त्यो भूमिका निर्वाह गर्न सकेन भन्ने आरोप छ नि ?

त्यो स्वाभाविकै हो । अहिले हामीले सर्वोच्च अदालतलाई हेरिरहेका छौं । सर्वोच्चले पक्कै पनि संवैधानिक फैसला दिन्छ । लोमा संघर्षबाट आएको संविधानलाई मर्न दिँदैन भन्नेमा कांग्रेस ढुक्क छ । अब अदालतबाट कस्तो फैसला आउँछ । त्यही अनुसार अगाडि बढ्नुपर्छ । अहिले चाहीं हामी यो असंवैधानिक कदम हो । यसलाई सर्वोच्च अदालतले सच्याउनुपर्छ भनेर लागिपरेका छौं ।

संवैधानिक हुनलाई संसद् पुनस्थापना हुनुपर्छ ? कांग्रेसको धारणा त्यही हो ?

एकदम सही भन्नुभयो, त्यहीं हो । किनभने संसद् पस्थापना भएपछि हामी आवधिक निर्वाचनमा जान्छौं । एक न एक दिन त निर्वाचनमा जानै छ । यो जनमत जनताले पाँच वर्षको लागि दिएका हुन् । सधैं अस्थिर सरकार भएर नेकपालाई लगभग दुई तिहाई मत जनताले दिएका हुन् । उसलाई जनताको मत नपचेको हो । त्यो जनमतलाई अहिलेका प्रधानमन्त्रीले साढे दुई वर्षमै लत्याउनुभयो । त्यसैले विधिको शासन जोगाउनको लागि एक मात्र उपाय संसद् पुनस्थापना हो । त्यसको सम्वोधन सर्वोच्च अदालतले गर्छ भन्ने हाम्रो धारणा हो ।

संसद पुनःस्थापनापछि राष्ट्रिय सरकार बन्छ ?

संसद् त्यस्तो नालायक छर राष्ट्रिय सरकार बन्नलाई । त्यही पुनःस्थापित संसद् सरकार दिन सकिहाल्छ नि । पुनःस्थापनापछि त्यो संसद्ले सरकार दिन्छ । त्यसपछि राजनीति संवैधानिक संसदीय ट्र्याक्टमा आइहाल्छ नि ।

पुनःस्थापित संसद्को चुनावी सरकार बन्ने हो ?

त्यसपछि पनि अधिकारसम्पन्न फुलफेजको सरकार बन्छ । के को चुनावी मात्रै हुन्छ र । अहिले सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव नपाउने व्यवस्था संविधानमा छ । दुई वर्षमा एक पटक अविश्वासको प्रस्ताव ल्याउने त्यसपछि फेरि एक वर्ष थपिन्छ । संसद् पुनःस्थापना भइसकेपछि त्यसबाट फुलफेजको नयाँ सरकार बन्छ । त्यसले आमनिर्वाचन गराउँछ ।

पुनःस्थापित संसदबाट बन्ने सरकारलाई दुई वर्षसम्म कसैले चलाउन सक्दैन ?

आवधिक निर्वाचन हुनलाई लगभग दुई वर्ष बाँकी छ । पहिलाकोसहित चार वर्षपछि आवधिक चुनावमा जानुपर्छ । संवैधानिक ट्र्याक्टमा बनेको सरकारले समय पुगेपछि चुनावमा जान्छ । त्यो नै संवैधानिक कडी हो ।

संसद् पुनःस्थापना पनि भएन, प्रधानमन्त्रीले तोकेको मितिमा चुनाव पनि भएन भने कांग्रेसले के गर्छ ?

यी काम भएनन् भने कांग्रेसले देशव्यापी रुपमा आन्दोलन गर्छ । त्यसका एजेन्डाहरु चुनावी हुन्छ । चुनावी आन्दोलनआर्फत चुनावमा जानुपर्छ । यसमा मलाई चाहीं के लाग्छ भने, ‘कि सर्वोच्च अदालतले कालो कोट फुकालेर सडकमा राजनीति गर्नुप¥यो’, होइन भने संविधानविपरीत निर्णय कसरी दिन सक्छ र ?

पुनःस्थापना नगर्दा सर्वोच्चको निर्णय पनि असंवैधानिक हुन्छ हो ?

त्यस्तो भएन भने सकडमै आएर राजनीति गरे भइहाल्यो नि । असंवैधानिक निर्णय भयो भने त राजनीति गरेको भइहाल्छ । सर्वोच्च अदालतले फैसला दिँदा संविधानबिपरीत दियो भने कालो कोट फुकालेर सकडमा आएर राजनीति गर्दा हुन्छ । यदि सर्वोच्च अदालतले संवैधानिक फैसला गरेन भने असंवैधानिक काम उसले पनि गरेको ठहरिन्छ नि केपी ओलीले मात्रै गरेको हुन्छ र । त्यसपछि त केपी ओलीले मात्रै गलत गरे भन्छन र सर्वोच्च अदालतले पनि गलत गरेको ठहरिन्छ नि । जनताले असंवैधानिक ढंगले संसद विघटन गर भनेका थिए र ?

त्यसो भए नेकपाले जनमत थेग्न सकेन हो ?

जनताले राजनीतिक स्थिरताको लागि दिएको जनमत नेकपाले थेग्न नसकेकै हो । पार्टीभित्रको आन्तरिक झगडा ल्याएर मुलुकको राजनीतिलाई प्रभावित पार्न पाइँदैन । आफ्नो पार्टीको आन्तरिक झगडा त पार्टी मिलाउनुप-यो नि । त्यो ल्याएर राष्ट्रिय राजनीति नै तहसनहस पार्न पाइँदैन ।

जनमतले नेकपा मात्तिएजस्तै भोलि नेपाली कांग्रेस पनि पुलपुलिएर यसै गर्दैन ?

त्यसरी पुलपुलिनै हुँदैन नि । विधिमा हिंड्नुप-यो क्या विधि । पहिला त पार्टी विधानअनुसार चल्नुप¥यो । शासनसत्ता संविधान अनुसार चल्नुप¥यो । विधि र पद्धतिहरु छन् नि । त्यो अनुसार पार्टी र सरकार चल्ने हो भने कसैले प्रश्नै गर्दैनन् नि ।

विधि र विधानका कुरा गर्दा नेपाली कांग्रेस त्यसरी चलेको छ, तपाईं पनि केन्द्रीय सदस्य हुनुहुन्छ ?

त्यसैले त हामीले शीर्ष नेतृत्वलाई विधि र विधान अनुसार चल्नुहोस् भनिरहेका छौं । तपाईंले हामीले १६ बुँदे बुझाएको देख्नुभएको छैन ? हामीले पार्टी सभापतिलाई विधि अनुसार चलाउनुहोस् भनेर १६ बुँदे दिइराखेका छौं त । तपाईं विधि र विधान अनुसार चल्नुभएन । त्यसो नगरौं भनेर हाम्रा पार्टी सभापतिलाई भनिराखेका छौं । हाहीले केन्द्रीय समिति बैठकमा पनि पटक–पटक विधि र विधानका कुरा उठाइराखेका छौं । छलफल र परामर्श गरिराखेका छौं ।

नेपाली कांग्रेसको अधिवेशन कहिले हुन्छ त ?

अधिवेशन कहिले हुन्छ भनेर त्यो मिति हामी लालटिन बालेर खोजिराखेका छौं । ठ्याक्कै यहीं दिन र मितिमा हुन्छ भनेर भेटिएको छैन । छिट्टै गर्ने÷गराउने प्रयास भइरहेको छ । राष्ट्रिय राजनीतिले अलिकति अलमल्याएको अवस्था छ ।

कांग्रेसका भ्रातृ, भगिनी र सुभेच्छुक संस्थाहरु पनि अलमलमा छन् केन्द्रीय सदस्यको हैसियतले के भन्नुहुन्छ ?

पार्टी एकदमै पूर्ण रुपमा रुपान्तरण हुनुपर्ने जरुरी छ । सबै भ्रातृ, भगिनी र सुभेच्छुक संस्थाहरु पनि रुपान्तरण गरेर अगाडि बढाउनु पर्ने छ । अब आगामी महाधिवेशनले यी सबै कुराको पैmसला गर्छ भनेर ढुक्क छौं ।

अबको महाधिवेशनले कांग्रेसलाई एक ढिक्का भएर रचनात्मक र संगठनात्मक ढंगले अगाडि ऊर्जा दिन्छ ?

विधि सम्मत ढंगले हिड्नलाई १४ औं महाधिवेशनले सही बाटो दिन्छ । त्यही बाटोबाट सबै भ्रातृ, भगिनी र सुभेच्छुक संस्थाहरु पनि रचनात्मक र संठनात्मक ढंगले अगाडि बढ्न ऊर्जा पैसा गर्छ ।

युवा नेतृत्वको कुरा खुब चलेको छ नि त्यो सम्भव देख्नुहुन्छ ?

युवा, बुढा, भर्खरका सबैंको पैmसला आगामी १४ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरुले दिन्छन् ।

तपाईं जिल्लाका कार्यक्रममा जाँदा जनताहरु पुनःस्थापन र चुनाव के भन्छन् ?

म जिल्लाका कार्यक्रममा पनि पटक–पटक गइराखेको छु । नेपाली कांग्रेसले सत्ताको लागि होइन । हामी विधिको लागि लडेको हो । सत्ताकै लागि मात्रै भए राणा र पञ्चायतसँग लड्नु पर्ने थिएन । त्यसपछि पनि विधिको लागि नगरेको भए सलेन्डर गरेर ‘म त मितीसँगै मिलेँ’ भनेको भए माओवादी द्वन्द्वको बेलामा त्यति धेरै मान्छेले टाउको काटिएर मर्नुपर्ने थिएन । त्यसमा पनि विधिसम्मत हुनुपर्छ भनेर लडेको न हो । त्यसैले केही दुई/चार जना व्यक्तिहरु आफ्नो स्वार्थको लागेभन्दैमा सिंगो कांग्रेस विधि छोडेर हिड्दैन ।

नेकपाकै असन्तुष्ट पक्ष हिंसात्मक ढंगले आन्दोलन गर्दा कांग्रेस चुपचाप भयो भन्ने आरोप छ नि ?

नेपाली कांग्रेस मान्छे काट्दै, निर्मम ढंगले हिंसा गर्दै, नेपाल बन्द गर्दै हिड्ने पार्टी होइन । कांग्रेसले रचनात्मक विरोधका कार्यक्रमहरु गरेको छ । यसको लागि कांग्रेस केन्द्रदेखि गाऊँतहसम्म पुगेको छ । सर्वोच्चको फैसलापछि सडकमा जानुप¥यो भने कांग्रेस आफ्नै ढंगले जान्छ ।

त्यसोभए प्रधानमन्त्रीले तोकेको समयमा चुनाव भएन भने कांग्रेस आक्रामण ढंगले आन्दोलनमा जान्छ ?

संसद् पनःस्थापना पनि भएन, चुनाव पनि भएन भने त बाटो खोज्नुप-यो । संविधान जोगाउन आन्दोलन गर्नुप-यो । चार–चारवटा कम्युनिस्ट प्रधानमन्त्री हुँदा पनि आउन नसकेको संविधान तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा आएको संविधान बँचाउने जिम्मेवारी हाम्रो हो ।

पुनःस्थापना कि चुनाव भन्नेमा कांग्रेस एकजुट देखिँदैन नि ?

कसैले कोठामा बसेर निहीत स्वार्थका लागि केही भनेका होलान् । त्यो मलाई थाहा हुँदैन । मलाई थाहा भएको पार्टीले गरेको निर्णय हो । ती कार्यक्रम लिएर म पनि जिल्ला–जिल्लामा गएको छु । ती कार्यक्रममा हामीले पार्टीको आधिकारिक धारणा व्यक्त गरेका छौं । त्यसैलाई मैले पार्टीको आधिकारिक धारणा भन्ने गरेको छु । जुन निर्णय हामीसहितको केन्द्रीय समिति बसेर गरिएको हो । त्यो भन्दाबाहेक व्यक्तिगत सोच र धारणा होलान् ।

कांग्रेसलाई त एक पक्ष पदको लोभ, अर्कोपक्ष भागवण्डामा लागेको आरोप छ नि ?

सत्तापक्षसँग भागबन्डामा लागेको । आफ्ना मान्छेलाई नियुक्ति दिन लागेको विषयमा चाहीं मैले कुरा गर्न छैन । राष्ट्रपति हुन लागेको भनेर आरोप लगाइएका वरिष्ठ नेतालाई चाहीं मैले सोधेँ । उहाँले राष्टपतिको लागि पहिला डा. रामवरण दयाव हुने बेलामा पनि मलाई गिरिजाबाबुले मलाई सोध्नुभएको थियो । मैले हुन्न भनेको हुँ । त्यसैले अहिले मलाई यो बेकारको आरोप लगाइएको हो । त्यसरी कुरा पनि भएको छैन । म राष्ट्रपति बन्दापनि बन्दिँन भन्नुयभो । तपाईंले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भन्न खोज्नुभएको हो । त्यो कुराको बजार हल्ला हुनेबित्तिकै मैले उहाँलाई सोधेँ । उहाँले होइन भन्नुभयो । अरुका बारेमा कहाँबाट आयो मैले सुनेको छैन ।

सरकारले गरेका भ्रष्टाचारमा कांग्रेस चुप लाग्यो भन्ने आरोप छ ?

भ्रष्टाचारविरुद्ध हाम्रो आवाज बुलन्द बनाएको छ । बालुवाटार जग्गा काण्डदेखि ओम्नी, यति, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदलगायत सबै भ्रष्टाचारका काण्डहरुमा कांग्रेसले खरो विरोध गरेको हो । त्यो जनताहरुमा जगजाहेरै छ । त्यसैले भ्रष्टाचार हुँदा कांग्रेस चुपलागेर बस्यो भन्ने होइन ।