ओलीले बोलाए स्थाई कमिटी बैठक

ओलीले बोलाए स्थाई कमिटी बैठक तरुण खबर १२ फाल्गुन २०७७, बुधबार १५:२९
ओलीले बोलाए स्थाई कमिटी बैठक

काठमाडौं । नेकपा (ओली समूह) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको संसद विघटनको कदम असंवैधानिक ठहर गर्दै संसद पुनस्र्थापनाको फैसला गरेको थियो । यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर प्रधानमन्त्री ओली पक्षले संसदको सामाना गर्ने रणनीति बनाएको छ । संसदमा प्रधानमन्त्री ओली पक्षको बहुमत छैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

केन्द्रीय कार्यालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा वामदेव गौतम, रामबहादुर थापा बादल र ईश्वर पोखरेल सदस्य रहेका छन् । यीनीहरुमध्ये दाहाल–नेपाल पक्षले ओली र महासचिव पौडेललाई पदबाट हटाएका छन् ।

नेकपाको स्थायी समितिमा तत्कालीन एमालेबाट सुवासचन्द्र नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, रघुवीर महासेठ रहेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल र मणि थापा रहेका छन् । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेका २६ र नेकपा माओवादी केन्द्रका १९ जना थिए । स्थायी कमिटीमा भएकाहरुमध्ये पूर्व माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा मात्र ओली पक्षमा लागेका छन् । दुबै पक्षले स्थायी कमिटीका सदश्यहरुलाई हटाएका छैनन् ।