तरुण खबर
१४ फाल्गुन २०७७, शुक्रबार ११:३१
दमन र वार्ता एकसाथ नचल्ने प्रतिक्रिया
काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) लाई म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
पुनमाथि एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेको समयमा पुन पक्राउ परेका हुन् । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।
केही समयअघि गृहमन्त्री रामबहादुर थापाले उक्त समूहलाई मूलधारमा ल्याउन नियन्त्रण र वार्ता दुवै विधि सरकारले अपनाइरहेको बताएका थिए । उक्त पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले दमन र वार्ता एकसाथ हुन नसक्ने बताएका छन् । पुनले भने “पार्टीमाथि लगाइएको प्रतिबन्ध र हेमन्त प्रकाश ओली सुदर्शन लगायतका पक्राउ गरिएका नेता र कार्यकता रिहा गरिए मात्रै वार्ताको वातावरण बन्न सक्छ भनेका छन् । प्रतिबन्ध हटाउनुपर्ने र नेता कार्यकर्तालाई मुक्त गर्नुपर्ने माग सो दलको छ । सरकारले भने उक्त समूहले हिम्सा छोडेको घोषणा गर्नुपर्ने सर्त अगाडि सारेको छ ।


