प्रेसकै कारण छाडे राजकुमार ह्यारीले गद्दी

प्रेसकै कारण छाडे राजकुमार ह्यारीले गद्दी तरुण खबर १५ फाल्गुन २०७७, शनिबार १३:४६
प्रेसकै कारण छाडे राजकुमार ह्यारीले गद्दी

काठमाडौं । बेलायतका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले आफू र उनको परिवारलाई बेलायतको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको “विषालु“ अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन् । करिब एक वर्षअघि राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो । बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन  आग्रह गरेका थिए । ह्यारीका पिता तथा युवराज चाल्स र उनका भाइ विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका थिए ।

उनीहरूले गत जनअरी महिनामा अब राजपरिवारको वरिष्ठ सदस्यको हैसियतले निभाउनु पर्ने भूमिका परित्याग गर्ने योजनाको घोषणा गरेका थिए । त्यो बेला उनीहरूले आफूहरू आर्थिक हिसाबले पनि स्वतन्त्र हुनको लागि कमाइ हुने काम गर्न चाहेको बताएका थिए । गत हप्ता बकिंघम राजदरबारले एक विज्ञप्ति जारी गर्दै त्यसबेलाका प्रावधानहरूको समीक्षापछि ड्युक र डचिस् अब आफ्नो पुरानो राजकीय जिम्मेवारीमा नफर्कने निर्णय भएको जनाएको थियो ।

राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्ताका क्रममा बेलायतको प्रेसका कारण उत्पन्न वातावरणका कारण आफ्नो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको र त्यस्तो अवस्थामा आफूले कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गरेको बताएका छन् । गत हप्ता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजकीय जिम्मेवारीमा नफर्कने तथ्यको पुष्टि गरेको थियो । राजकुमार ह्यारीले आफूहरूले त्यस्तो “जिम्मेवारी त्यागेको नभइ बरू पछाडि हटेको“ भन्नेमा जोड दिएका थिए । दोस्रो बच्चाको जन्मको पर्खाइमा रहेको उक्त राजकुमार दम्पति आफ्ना एक वर्षिय पुत्र आर्चीका साथ अमेरिकाको क्यालिफोर्नियामा बसाइ सरेका थिए ।