ओली झन–झन बलियो, ओलीसँग बहुमत भएको नेताहरुको दावी

ओली झन–झन बलियो, ओलीसँग बहुमत भएको नेताहरुको दावी तरुण खबर १६ फाल्गुन २०७७, आईतवार १४:४२
ओली झन–झन बलियो, ओलीसँग बहुमत भएको नेताहरुको दावी

काठमाडौं । नेकपा ओली समूहका नेता सुवास नेम्वाङ र प्रमुख सचेतक विशाल भट्टराईले संसद् पुनःस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् ।  नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद् विघटन हुँदा काम चलाउ भएका प्रधानमन्त्री केपी शर्मा ओली पुनःस्थापना पछि दह्रो भएको बताएका हुन् ।

त्यस्तै सचेतक विशालले रिपोटर्स क्लवमा ओलीसँग सयभन्दा बढी सांसद भएको बताएका हुन् । त्यस्तै, गत शुक्रबार सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहका नेताहरुलाई तागत भए अविश्वासको प्रश्ताव ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन चुनौती दिएका थिए । जटिल बन्दै गएको नेकपाको विवादमा अर्को नयाँ विवाद थपिएको छ ।

एउटै पार्टीका संसदीय दलका दुई नेता चुनिएका छन् । प्रमुख सचेतक पनि दुई जना छन् । संसदका पूर्वमहासचिव मनोहर भट्टराईका अनुसार इतिहासमै पहिलो पटक संसदमा सभामुखको ज्ञान, विवेक र अनुभवको परीक्षण हुँदैछ । अर्थात उनका अघि निकै ठूलो जटिलता देखिएको छ । त्यसलाई सभामुख सापकोटाले चिर्न नसके मुलुक पुनः राजनीतिक संकटमा भासिने उनको भनाई छ ।

नेम्बाङले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरुलाई अहिले सरकार पहिलेभन्दा दह्रो भएको हुँदा अप्ठेरो परेको टिप्पणी गरे । ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो,’ उनले भने, ’संसद् पुनःस्थापित भयो, प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

उनले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्षपुष्पकमल दाहाल प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं’, उनले भने ।