एक डोज लगाए पुग्ने खोपलाई अमेरिकाले दियो स्वीकृति

एक डोज लगाए पुग्ने खोपलाई अमेरिकाले दियो स्वीकृति तरुण खबर १६ फाल्गुन २०७७, आईतवार १४:५२
एक डोज लगाए पुग्ने खोपलाई अमेरिकाले दियो स्वीकृति

जोन्सन एण्ड जोन्सन कम्पनीको खोप संसारभरबाट माग

काठमाडौं । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ । त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप संसारभरबाट माग भएको कम्पनीले बताएको छ ।

यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो । यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप फ्रिज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ । त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सस्तो हुने अनुमान गरिएको छ । यद्यपि यसको मूल्य सार्वजनिक भएको छैन । कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने जनाएको छ ।