दाहालको जवाफले अदालत सन्तुष्ट होला ?

दाहालको जवाफले अदालत सन्तुष्ट होला ? तरुण खबर १७ फाल्गुन २०७७, सोमबार १७:३४
दाहालको जवाफले अदालत सन्तुष्ट होला ?

काठमाडौं । पुष्पकमल दाहालले सर्वोच्च अदालतको अपहेलना गरेको भन्ने मुद्दा खारेज गर्न आग्रह गरेका छन् । उनले आइतबार लिखित जबाफ दिदैै मुद्दा खारेज गर्न अदालतलाई आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।

सर्वोच्च अदालतलाई हिजो लिखित जवाफ बुझाएपछि प्रचण्डले भने, ‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन । ममाथि लगाइएको यो आरोप गलत छ । उनको लिखित जवाफले अदालत सन्तुष्ट होला या विपक्षमा फैसला आउला भन्ने आम जिज्ञाषा उत्पन्न भएको छ ।

अपहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रचण्डलाई आफैँ उपस्थित भई जबाफ दिन आदेश दिएको थियो । दाहालले आइतवार अदालतमा पेस गरेका लिखित जबाफमा उल्लिखित तर्कमध्ये सम्मानित अदालतले नारा, जुलुस र भाषणको व्याख्या गर्ने होइन भन्दै जुसुल, नारा, भाषणले स्वतन्त्र, सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुनै सक्दैन दाहालको जवाफमा छ । अगाडी दाहालले भनेका छन्– फैसला अवज्ञा गर्ने वा उल्लङ्घन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनै सक्दैन ।

मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको ’बदनियत’ र उसको संविधान विरुद्धको कामबारे जनतालाई सुसूचित गराउने धारणा व्यक्त गर्ने काम गरेको हुँ दाहालले भनेका छन् । माघ ९ गतेको आमसभामा मैले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधान विरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको कुरालाई अदालतलसँग जोड्ने काम गरी अदालतलाई धम्की दिएकोभन्ने दाबी झूटो हो ।  अतः नेपालको संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ आकर्षित हुने अवस्थाको विद्यमानता नभएको हुँदा विपक्षीको ’औचित्यहीन’ निवेदन खारेज गर्न अदालत समक्ष अनुरोध गर्छु ।