कार्वाहीको अर्थ नभएको ओली समूहका नेताहरुको दावी

कार्वाहीको अर्थ नभएको ओली समूहका नेताहरुको दावी तरुण खबर २० फाल्गुन २०७७, बिहीबार १७:३३
कार्वाहीको अर्थ नभएको ओली समूहका नेताहरुको दावी

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु सांसद महेश बस्नेत, केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक बनाएका विशाल भट्टराई, सांसद शान्ता चौधरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्री प्रभु साह र पूर्व मन्त्री कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङलाई पनि संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ ।

उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको दाहाल–माधव समूहको भनाइ छ । तर नेकपाको प्रधानमन्त्री ओली समूहकी नेत्री शान्ता चौधरीले अर्को पक्षको कारबाहीको कुनै औचित्य नरहेको बताएकी छन् । उनले भनिन्– मूलधारको पार्टीले कारबाही गरेको होइन । अब सडक सडकबाट चौतारा चौताराबाट एउटा कुनै समूहले कारबाही गरेको कुरालाई हामी चिन्दैनौँ । उनले ’मूलधारको पार्टीले कारबाही नगरेकाले’ आफ्नो जिम्मेवारीमा फरक नपर्ने पनि उल्लेख गरिन् । प्रधानमन्त्री ओलीले आफूले राजिनामा नदिने बताउँदै आएका छन् ।

बुधवारको प्रचण्ड–नेपाल समूहको बैठकमा पार्टीका दुई अध्यक्षहरूले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको खारेजीपछिको राजनीतिक घटनाक्रमबारे बैठकलाई जानकारी गराएका थिए । उक्त बैठकले अविलम्ब राजीनामा दिन प्रधानमन्त्री ओलीसँग माग गरेको छ भने दलको विवाद तत्काल निरूपण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री ओलीले राजिनामा नदिने र संसदमा जुनसुकै परिस्थितिको पनि सामाना गर्ने बताइरहेका छन् । संसदको अधिवेशन आगामी फाल्गुन २३ गते बोलाइएको छ ।