काँग्रेसले निर्णय लिए नेकपाका दुबै समूह मिल्न सक्ने

काँग्रेसले निर्णय लिए नेकपाका दुबै समूह मिल्न सक्ने तरुण खबर २१ फाल्गुन २०७७, शुक्रबार १७:१३
काँग्रेसले निर्णय लिए नेकपाका दुबै समूह मिल्न सक्ने

नेकपाको सहमति घनिभूत रुपमा अघि बढ्दै

काठमाडौं । नेकपा दुई समूहमा विभाजित भएको सन्दर्भमा अलग धारमा रहेका युवा नेताहरुबीच सम्बाद भएको छ । ओली समूहमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भेट्न सिंहदरबार पुगेका थिए ।

उनीहरुबीच संसद सचिवालयको एउटा कोठामा दुई नेताले झण्डै पौने घण्टा कुराकानी गरेपछि पुनः मिलन हुने सम्भावना देखिएको हो । नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, एकताको कुराकानी गरौैं’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार बुटवल फर्किनुअघि भुसाललाई भेटेका थिए ।

नेपाली काँग्रेसले गर्ने निर्णय हेरिरहेको नेकपाको ओली र दाहाल समूहले एकिकरणका सन्दर्भमा घनिभूत कुराकानी गरिरहेको विश्वस्त सुत्रले जानकारी दिएको छ । यदी नेपाली काँग्रेसले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहसँग मिलेर सरकार बनाउने निर्णय ग¥यो भने केपी शर्मा ओलीले आत्मसमर्पण गर्ने बुझिएको छ । कुनै पनि बेला दुबैतर्फका केही नेताले आत्मा आलोचना गरी पार्टी एकता गर्ने सम्भावना रहेको दुबै समूहका नेताहरुले बताएका छन् ।

नेकपाका अध्यक्ष क्रृषि कट्टेलले हालेको रिटमाथि हुने फैसलाले नेकपाको विवाद छिनोफनो हुने अनुमान गरिएको थियो । तर फागुन २० गते गर्ने भनिएको फैसला केही दिन पर सर्ने बुझिएको छ । नेकपाको विभाजन र शक्ति सन्तुलनका हिसावले पनि अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाउनु पर्ने अधिकांश नेपाली काँग्रेसका नेता, कार्यकर्ता रहेका छन् । नेपाली काँग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, डा.शशांक कोइराला र गगन थापाहरु दाहाल–नेपाल समूहसँग मिलेर सरकार बनाउने पक्षमा रहेका छन् । उनीहरुले सार्वजनिक कार्यक्रममा यो कुरा बताउदै आएका छन् ।

यता, नयाँ सरकार गठनमा प्रचण्ड–माधव समूहसँग मिलेर अघि बढ्न देउवालाई पार्टीभित्रैबाट दबाब छ । नेता रामचन्द्र पौडेल समूहले खुलेरै नेकपाको ओली समूहसँग सहकार्य गर्न नहुने भन्दै आएको छ । बुधबार चितवन पुगेका महामन्त्री डा. शशांक कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाको माधव–प्रचण्ड समूहसँग मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका थिए । कोइरालाले नेकपा फुटाउन भए पनि कांग्रेस सरकारमा जानुपर्ने तर्क प्रस्तुत गरे तर ओलीसँग मिलेर सरकार बनाउदा काँग्रेसलाई फाइदा हुन्छ कि दाहाल–नेपाल समूहसँग मिल्दा लाभ हुन्छ भने खुलाएनन् ।

तर कमजोर पक्षसँग मिल्दा राजनीतिक लाभ लिन सकिने काँग्रेसभित्रका विपक्षीहरुले बुझ्न सकिरहेका छैनन् । नेकपाभित्र तुलनात्मक रुपमा ओली कमजोर देखिएका छन् । संसद् पुनस्र्थापनालगत्तै नेकपाको प्रचण्ड–नेपाल समूहले सहकार्यका लागि गरेको आग्रहमा देउवाले ‘नेकपा विभाजन’लाई सर्त बनाउँदै आएका थिए । तर, मंगलबार कांग्रेस र प्रचण्ड–नेपाल समूहका नेताहरूबीच चरण–चरणमा भएका भेटपछि देउवाले बुधबार विभाजनलाई प्रमुख विषयवस्तु नबनाई ‘आवश्यक परे’ प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका थिए ।