अमेरिकी संसदमा विद्रोही घुस्न सक्ने आशंकाले सुरक्षा बढाइयो

अमेरिकी संसदमा विद्रोही घुस्न सक्ने आशंकाले सुरक्षा बढाइयो तरुण खबर २१ फाल्गुन २०७७, शुक्रबार १७:२०
अमेरिकी संसदमा विद्रोही घुस्न सक्ने आशंकाले सुरक्षा बढाइयो

काठमाडौं । अमेरिकी प्रहरीद्वारा संसद् भवनमा ‘सम्भावित घुसपैठको षडयन्त्र’को चेतावनी दिएको सञ्चार माध्यमहरुले बताएका छन् । अमेरिकी संसद् भवनमा ‘सम्भावित घुसपैठको षडयन्त्र” भएको भन्दै सुरक्षा व्यवस्था कडा गरिएको छ । उक्त कदम नाम नखुलेको मिलिसिया समूहले इतिहासमा अमेरिकी राष्ट्रपतिको शपथग्रहण हुने दिन अर्थात मार्च ४ मा हमला गर्ने योजना बनाएको गुप्तचरी सूचनाका आधारमा चालिएको बताइन्छ । हाउस अफ रिप्रिजेन्टेटिभ्सको बिहीवारको सत्र स्थगित गरिएको छ तर सिनेटको कार्यसूची भने जारी रहनेछ ।

पछिल्लो धम्की अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा रहेको भीडले संसद भवनमा घातक हमला गरेको दुई महिनापछि आएको हो । ट्रम्पका समर्थकहरूले सांसदहरूले जो बाइडन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरिरहेको बेलामा गएको ज्यानुअरी ६ मा संसद भवनभित्र आक्रमण गरेका थिए । ट्रम्पले अझै पनि चुनावमा आफू पराजित भएको स्वीकार गरेका छैनन् ।

केही महिनाअघि तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले उनका समर्थकहरूले आफ्नै विवेकमा संसद् भवनमाथि आक्रमण गरेको बताएका थिए । वाशिङ्गटनस्थित क्यापिटल भवनमाथि गत ज्यानुअरी ६ तारिखको दिन आक्रमण भएको थियो ।  अमेरिकी संसद् भवनका प्रहरीका अनुसार गुप्तचर निकायले बिहीवार ट्रम्प पुनः राष्ट्रपतिमा पुनस्र्थापित हुने अपेक्षा सहित मिलिसिया समूहले घुसपैठ गर्नसक्ने अनुमानमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।