तरुण खबर
२२ फाल्गुन २०७७, शनिबार १०:०६
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले जनता के चाहन्छन् भन्ने विषयमा जनमत बुझ्न आग्रह गरेका छन् । चन्दले एकचोटि त्यसका लागि आँट गर्न सरकारलाई आग्रह गरेका छन् । सरकार र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार आयोजित संयुक्त कार्यक्रममा हस्ताक्षर गरेका थिए । सहमति भएको तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताए । यो सहमति केवल सरकार र नेकपाको कुरा मात्रै होइन । यो सहमतिपछाडि एउटा महान् आकांक्षा छ विप्लवले कार्यक्रममा भनेका थिए । नेपाली जनताका चाहना अझै पूरा नभएको र शहीदको सपना मर्न नदिने उनले उल्लेख गरेका थिए । हस्ताक्षर कार्यक्रमअघि चन्द प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिलाई ठूलो सफलताको सङ्ज्ञा दिए । प्रधानमन्त्री ओलीले आज एउटा ऐतिहासिक काम भएको छ । अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन भनेका थिए । साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत धन्यवाद दिए ।
सरकारी वार्ता टोलीका राजन भट्टराईका अनुसार सहमतिमा पुग्नुअघि सरकार र नेकपाबीच झन्डै एक वर्षदेखि विभिन्न तहमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छलफल हुँदै आएको जानकारी दिएका थिए । नेकपाको तर्फबाट वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले शुक्रवार ऐतिहासिक दिन भएको भन्दै आजको दिनले नेपालको इतिहासमा एउटा योगदान दिने बताए ।
यसअघि नेत्रविक्रम चन्द (विप्लव) नवलपराशीबाट आफ्नै नीजि गाडीमा काठमाडौं उपत्यका भित्रिएका थिए । हिजो दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गरेका थिए । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत शान्ति सम्झौतामा दुवैले हस्ताक्षर गरेका थिए । उक्त समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गर्दै काठमाडौं भित्र्याएको हो ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको थियो । शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरेको हो । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पु¥याएको थियो । बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।


