स्वीजरल्याण्डले बुर्कामाथि प्रतिबन्ध लगायो

स्वीजरल्याण्डले बुर्कामाथि प्रतिबन्ध लगायो तरुण खबर २४ फाल्गुन २०७७, सोमबार १०:०२
स्वीजरल्याण्डले बुर्कामाथि प्रतिबन्ध लगायो

करिब ८७ लाख जनसंख्या, ४ लाखले बुर्का लगाउने महिला भएको सवीकार

काठमाडौं । ८६ लाख ९७ हजार ७३२ जनसंख्या रहेको स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । सो दलले ’अतिवाद रोकौँ’ नारा पनि अघि सारेको थियो । आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८% मानिसले भोट हालेका थिए ।

एक अग्रणी स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ’एक अँध्यारो दिन’ भनेको छ । आजको निर्णयले पुरानो घाउ बल्झाएको छ, कानुनी असमानतालाई फैलाएको छ र मुस्लिम अल्पसङ्ख्यकहरूको बहिष्करणको स्पष्ट सन्देश दिएको छ । सेन्ट्रल काउन्सिल अफ मुस्लिमले एक वक्तव्यमा उल्लेख गरेको छ । उसले परिणाम विरुद्ध अदालतमा चुनौती दिने बताएको छ । स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो । कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई बहुलठ्ठीपूर्ण, बेकामे अनि इस्लामप्रति त्रास फैलाउने खालको भनेका छन् ।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन् । अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ । स्वीट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ । उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत सङ्ग्रहमा सहभागी गराइन्छ । सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ। फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो । (विभिन्न सञ्चार माध्यामको सहयोगमा)