तरुण खबर
२८ फाल्गुन २०७७, शुक्रबार १०:५१
मेलामा सहभागीमध्ये उत्कृष्ठलाई पुरस्कार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।
व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरेका थिए । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने, समाजमात्र सभ्य समाज हुन सक्ने बताए । साना र घरेलु उद्योगहरूलाई प्रबद्र्धन गर्दै मुलुकलाई औद्योगिकरणको मार्गमा लैजान उनले व्यवसायीहरूलाई आग्रह गरेका थिए । मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए । हामी महिला उद्यमी तथा व्यवसायीहरूले उत्पादन गर्ने सामग्रीहरूलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ”, अध्यक्ष श्रेष्ठले भने ।
ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताएकी थिइन् ।
उत्कृष्ट स्टललाई पुरस्कार
प्रदर्शनीमा मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको छ भने अग्नि नेपाल प्रालिले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए ।


