तरुण खबर
२ चैत्र २०७७, सोमबार १६:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेकपा एमालेमा बसेका पूर्वमाओवादी नेताहरूलाई पदत्याग गरी सरकारबाट फिर्ता हुन पार्टीको केन्द्रीय कार्यालयले औपचारिक रूपमा निर्देशन दिने निर्णय गरेको छ । तर सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको भए पनि माओवादी केन्द्रले त्यस्तो कुनै निर्णय गरेको छैन ।
पत्रमा लेखिने भएको छ– हाम्रो पार्टीका कतिपय केन्द्रीय समिति र विभिन्न समितका सदस्यहरू अर्को पार्टीमा रहनुभएको भन्ने सार्वजनिक सूचना प्राप्त भएको छ । यस आधारमा माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्न र आफ्नो स्थिति स्पष्ट गर्न स्पष्टीकरण माग्ने निर्णय गरेको छ । नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि पत्र प्राप्त भएको २४ घण्टा भनिएकाले त्यस विषयमा थप निर्णय गर्न समय पुगिनसकेको माओवादी नेताहरुले बताएका छन् ।
तर उक्त विषयमा दलीय नियमानुसार अघि बढ्ने र स्पष्टीकरण लिएर आवश्यक कदम चाल्ने विषयमा पार्टीमा सर्वसम्मत रहेको माओवादीका नेताहरुले बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको आइतबारको बैठक सोमवार फेरि बस्नेगरी टुङ्गिएको थियो ।
आइतवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलन र पार्टीको चुनौतीबारे रिपोर्टिङ र दिशानिर्देश गरेको बताइएको छ । त्यसबाहेक विभिन्न केन्द्रीय र प्रदेशस्तरीय नेताहरूले पनि पार्टीको अवस्थाबारे आइतवारको बैठकमा रिपोर्टिङ गरेका थिए ।
गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशङ्कर चौधरी सरकारमा छन् । यीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । एमालेमै बस्ने माओवादीका तर्फबाट मन्त्री चुनिएका नेताहरूले सार्वजनिक रूपमै आफूहरूले ओलीको साथ नछाड्ने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई साथ दिने पूर्वमाओवादी नेताहरूलाई नेकपा एमालेको केन्द्रीय समितिमा मनोनीत गरिसकेका छन् ।
एमाले प्रवेश गरेका दुई माओवादी नेताले आफूहरू वैचारिक रूपमै पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएकाले अब माओवादीमा “फर्केर राजनीति गर्ने अवस्था नरहेको बताएका थिए । माओवादी नेता झपटबहादुर बोहराले गत पौष २२ गते नै आफ्नो कित्ता प्रष्ट पार्दै आफू “प्रदेश सरकारकोे मन्त्री पद समेत त्याग्न“ तयार भएको बताएका थिए । उनी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको भूमिकामा थिए ।


