चीनसँग म्यानमारका जनता आक्रोसित

चीनसँग म्यानमारका जनता आक्रोसित तरुण खबर २ चैत्र २०७७, सोमबार १७:१२
चीनसँग म्यानमारका जनता आक्रोसित

चीनको लगानीमा खुलेका उद्योगमा आगजनी

काठमाडौं । म्यान्मारका प्रदर्शनकारी जनता चीनसँग आक्रोशित भएका छन् । चीनको पूर्णसहयोगमा म्यानमारमा सैनिक शासन लागु भएको हो । गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएको प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन् । द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ । बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन् । यांगुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको सेनाको दावी छ । त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो । चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् र हो पनि त्यही एक अधिकार कर्मीले तरुणसँग भने । एक दलीय शासन रहेको चीनले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ । क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ । एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ ।

आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले ’केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पु¥याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ । दूतावासले म्यान्मारलाई ’हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको थियो । फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन् । त्यसलाई अस्वीकार गर्ने धेरैजसो सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन् । आन्दोलन परिचालनका लागि चार जना मन्त्री विभिन्न क्षेत्रमा खटिरहेका छन् । उनीहरु विभिन्न देशसँग सहयोग माग्दै अन्तराष्ट्रिय प्रचारमा जुटेका छन् ।

तिनै भूमिगत सांसद्हरूको नेतृत्व गरिरहेका नेता मान विन खाइन थानले पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै ’क्रान्ति’लाई निरन्तरता दिइने बताएका छन् । उनी भूमिगत नै छन् । एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो । सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो तर उनी जनताको समर्थन पाउन सकेनन् । उनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए । तर देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो ।