तरुण खबर
३ चैत्र २०७७, मंगलवार १७:१६
काठमाडौं । सैनिक शासन चाहिदैँन मान्छे मार्न पाइदैँन भन्दै म्यानमार दुतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन भएको छ । म्यानमार (बर्मा)मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमन विरुद्ध, राजनितिक बन्दिको विना सर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालिको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २०७७ चैत २ गते नेपालस्थित म्यानमार दुतावास अगाडि प्रदर्शन गरेको हो ।
ललितपुर भैसेपाटीस्थित म्यानमार दुतावास अगाडि दिउँसो भएको प्रदर्शनमा म्यानमार सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो । गत माघ १९ गते म्यानमारमा सैनिकले निर्वाचित जनप्रतिनिधिलाई कु गरी शासन आफ्नो हातमा लिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, सदस्यहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिएकी थिइन् । यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि चैत २ गते शान्ति समाजका शाखाहरुले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र वहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन् भने दाङसहित १ दर्जन बढी शाखाहरुले प्रदर्शन गर्दैछन् ।


