गुटगत भेला गरे माधव–झलनाथलाई कारवाही गरिने

गुटगत भेला गरे माधव–झलनाथलाई कारवाही गरिने तरुण खबर ४ चैत्र २०७७, बुधबार १७:०४
गुटगत भेला गरे माधव–झलनाथलाई कारवाही गरिने

कारवाही भोग्न तयार तर भेला नरोकिने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम नेपाल पक्षले बहिस्कार गरेको छ । पार्टी अध्यक्ष ओलीले दलभित्रको असन्तुष्ट पक्षले बोलाएको भेला रोक्न आग्रह गर्दै त्यसो नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । तर माधव नेपाल पक्षले बोलाएको कार्यकर्ता भेला नरोक्ने बरु कारवाही भोग्न तयार रहेको उनीहरुले बताएका छन् ।

बालुवाटारमा आफूले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीका नेता र कार्यकर्तालाई “गुटगत“ भेलामा सहभागी नहुन “सचेत र सजग“ गराएका थिए । आफूले आयोजना गरेको चियापान समारोहमा खनाल–नेपाल पक्षधर नेताहरू अनुपस्थित भएकोमा असन्तुष्टि जनाएका ओलीले पार्टीभित्र “अराजकता“ देखिएको भन्दै त्यो मान्य नहुने बताए । उनले पार्टीको केन्द्रीय समितिको बैठक चैत ७ गते बोलाइएको भन्दै त्यसबाहेक अन्य गुटगत भेला नगर्न चेतावनी दिए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने– नेकपा एमालेसँग आबद्ध सम्पूर्ण नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र सरिक नहुन सजग र सचेत गराउँछु । यो पार्टीमा अब उप्रान्त अराजकता, उच्छृङ्खलता र विधि विधानविपरीत काममा छुट हुन सक्दैन । अब उप्रान्त यस्तो मान्य हुन सक्दैन । अचाक्ली भयो । भाँडभैलो मचाउने कार्य अब हुन सक्दैन । एकताबद्ध र अनुशासित पार्टी चाहिने भन्दै ओलीले अनुशासनहीन काम भयो भने पार्टीको विधान, संसद्को नियमावली र दलसम्बन्धी कानुन छ । ती सबतिर म ध्यानाकर्षण गर्न चाहन्छु ।

तर माधव नेपाल र झलनाथ खनालको समूहले मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरी बुधवारदेखि सुरु हुने दुईदिने भेला नरोक्ने बताएको छ । फागुन २८ मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, विधान संशोधन र महाधिवेशन मिति तोकेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजनीतिक, वैचारिक र सांगठनिक प्रतिवादमा उत्रिएको थियो । त्यसपछि दुवै पक्ष लकच हुनुको सट्टा आ–आफ्नो गुटगत भेलाको तयारीमा लागेपछि एमालेको एकीकृत भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको हो । मंगलबार त खनाल–नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीले आयोजना गरेको चियापान बहिस्कार गरेर बढ्दो दूरीको संकेत दिएका छन् ।

सर्वोच्च अदालतले दिएको आदेशले नेकपा एमालेलाई ब्युँतिएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरू पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोड्न बाध्य भएका थिए । एमाले र माओवादी केन्द्र अलगअलग पार्टीका रूपमा कायमा भएपछि दुई पक्षबीचको सम्बन्धमा कुनै सुधार आएको छैन । नेकपा कायम हुँदा प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाइएको घोषणा गर्दै उनीविरुद्ध आन्दोलनको नेतृत्व गरेका थिए ।

नेपाल–खनाल पक्ष कारवाही भोग्न तयार 
जबाफमा खनाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई शक्तिको भाषा प्रयोग नगर्न भन्दै कारबाही भोग्न तयार रहेको जनाएको छ । सो समूहद्वारा मङ्गलवार अपराह्न काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले भने, “तपाईँले गर्ने प्रत्येक कारबाहीका निम्ति हामी लामबद्ध छौं भनेका थिए ।

सोमवार प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल पक्षबीच छलफल भएको थियो । भट्टराईले प्रधानमन्त्री ओली इतिहासको कठघरामा उभिएको र उनले धेरै प्रश्नको जबाफ दिनुपर्ने बताए । “जब इतिहासले सोधेका प्रश्नहरूको उत्तर दिन तपाईँ असमर्थ हुनुहुन्छ र उत्तर दिन सक्नुहुन्न त्यो बेला इतिहासले तपाईँलाई कठोर कारबाही गर्छ ।

उक्त समूहले बुधवारका लागि तय गरिएको कार्यकर्ता भेला पूर्वनिर्धारित योजनाअनुसार अगाडि बढ्ने जनाएको छ । नेता भट्टराईले बुधवारको भेलामा सहभागी हुन प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा निम्तो पनि दिए । नेपाल पक्षले बुधवारबाट सुरु हुने भेलामा देशभरबाट दुई हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने जनाएको छ ।