मार्सी ब्राण्डमा वियर आउदै

मार्सी ब्राण्डमा वियर आउदै तरुण खबर ४ चैत्र २०७७, बुधबार १७:११
मार्सी ब्राण्डमा वियर आउदै

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् । कम्पनीले यो बियर फागुनमै बजारमा पठाउने तयारी गरे पनि सरकारी प्रक्रिया पूरा गर्दा केही ढिलो भएको हो । प्रसाईंले भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन शुरु गरेका हुन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरेका छन् । थप २ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएका छन् ।

हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने बताएका छन् । मार्सी बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको उनले जानकारी दिए । प्रसाईंका अनुसार उद्योगबाट एक घण्टामा २२ हजार बोतल उत्पादनको क्षमता रहेको बताए । तीन वर्षअघि नेकपा एमाले र माओवादीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकीकरणका सिलसिलामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि उनको ब्यापक आलोचना भएको थियो । त्यसको तीन वर्षपछि त्यही ‘मार्सी’ नामलाई क्यास गरेर त्यसैको नाममा बियर उत्पादन गर्दैछन् ।

कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गरिने छ । हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्राण्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ । मार्सी बियर उत्पादन गर्ने क्षेत्र ५ बिगाहको छ । यो देशकै राम्रो प्रविधियुक्त कम्पनी हो । एक ठाउँमा जौं र मार्सी हालेपछि मान्छेले केही गर्नु पर्दैन । मेशिनले नै प्रोसेसिङदेखि प्याकेजिङसम्मको काम गर्छ । पूर्णरुपमा स्वचालित हुन्छ । मार्सीको ड्राफ्ट बियर पनि ल्याउने तयारी गरिरहेको प्रसाईंले सुनाए ।