तरुण खबर
६ चैत्र २०७७, शुक्रबार १७:०४
काठमाडौं । खनाल–नेपाल समूहले समानान्तर कमिटीहरु बनाउने निर्णय गर्दै राष्ट्रिय कर्यकर्ता भेला हिजो बिहीबार सकिएको छ । एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे निष्कर्ष निकाल्दै सकिएको थियो । ललितपुरको सानेपाको हेरिटेज व्यांकेटमा बुधबार सुरु भएको भेला बिहीबार सकिएको हो । देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको आएको नेपाल पक्षको दावी छ ।
दुई दिने भेलाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको छ । भेलाको अन्तिम दिन बिहीबार सहभागीहरूलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले देशभरका संगठनहरू ब्युँताउने र ओलीका विभाजनकारी गतिविधिको भण्डाफोर गर्ने जानकारी दिएका थिए ।
यता बिहीबार नै नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । खनाल–नेपाल समूहले बहिस्कार गरेको बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ । सो बोर्ड २७ सदस्यीय हुने छ ।
अहिले २४ सदस्य रहेको बोर्डमा तीनजना पछि थपिने छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक भएको हो । विधान संशोधन समितिमा विशाल भट्टराई, शेरबहादुर तमाङ्ग र बिमला राईसहित रहने भएका छन् ।


