सत्ताको साँचो कसको हातमा ?

सत्ताको साँचो कसको हातमा ? तरुण खबर ६ चैत्र २०७७, शुक्रबार १७:०६
सत्ताको साँचो कसको हातमा ?

काँग्रेस कि जसपामा

काठमाडौं । जनता समाजवादी पार्टीको बैठक बस्नुअघि केही नेता भन्दै थिए– पार्टीले केपी ओली नेतृत्वको सरकार विस्थापित गर्ने निर्णय गर्ने छ । तर नयाँ सत्ता समीकरणको विषयमा मतभिन्नता रहेको भनिएको जसपाको कार्यकारिणी समितिको बिहीवार डाकिएको बैठक स्थगित भएको छ ।

हिजो बिहान बोल्ने नेताले बैठक स्थगित कुनै संकेत पाएका थिएनन् । शिर्ष नेता राजेन्द्र महतोले ’गृहकार्य नपुगेकाले’ बैठक स्थगित भएको जानकारी दिएका छन् । तर प्राप्त सूचना अनुसार जसपाभित्र गम्भिर मतभेद रहेकाले बैठक स्थगित भएको हो । कतिपयल आशंका गरेका छन्– कतै सत्ता समीकरणलाई लिएर घर झगडा हुने भएकाले त स्थगित भएको त होइन ?

माओवादी केन्द्रले प्रतिनिधिसभा पुनस्र्थापना भएदेखि नै प्रधानमन्त्री ओलीको विकल्प खोजिने बताउँदै आएको छ । उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिन सकिने बताउँदै आएका छन् । तर त्यसको निम्ति जसपाको सहयोग अनिवार्य आवश्यक हुन्छ । उनकै दलका नेता बाबुराम भट्टराले ट्वीट गर्दै लेखेका छन्– आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र÷संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है !

कतिपयले ठानेका छन्– नयाँ सत्ता समीकरणको साँचो जसपाको हातमा रहेको कतिपयले ठानेका छन् । तर जसपा नेताहरूले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नलिएकाले ओलीलाई र सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार नभएकाले माओवादी केन्द्र र कांग्रेसलाई आफ्नो समर्थनको खाँचो नै नरहेको’ बताउने गरेका छन् ।

कांग्रेसकै कतिपय नेताहरूले भने सभापति देउवाको मौनताका कारण ओली सरकारको आयु लम्बिएको बताउने गरेका छन् । तर कतिपय नेताको भनाइमा नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बन्ने सुनिश्चितताको पर्खाइमा छ । अविश्वास प्रस्ताव अघि बढाउनुअघि सुनिश्चितता हेर्नुपर्ने हुन्छ, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम कांग्रेसले गर्दैन, उनीहरुको भनाई छ । कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा जसपाले प्रधानमन्त्रीलाई साथ दिन सक्ने जोखिम रहेकाले अविश्वास प्रश्तव ल्याउन काँग्रेस हतारिएको छैन ।

तर ओली नेतृत्वको सरकारसँग निकटस्थ खेमा हाबी रहेको भनिएको दल जसपाका कतिपय नेताहरू आफूहरूले प्रधानमन्त्री ओलीलाई साथ दिने अर्को विकल्प पनि जोखिममुक्त नरहेको बताउँछन् । विवाद बढ्दै गएर एमालेकै असन्तुष्ट समूह प्रधानमन्त्रीविरुद्ध लाग्ने अर्को सम्भावना रहेको उनीहरूको बुझाइ छ । विपक्षमा रहेका दलहरूका आ–आफ्नै खालका जोखिम र अविश्वासका कारण प्रधानमन्त्री ओलीको सत्तायात्रा भने लम्बिँदै गएको छ ।

तर जसपाले किन मुख खोलिरहेको छैन ? भन्ने प्रश्नमा महतोले भने– माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र कांग्रेसले समर्थन नमागेको भन्दै आफूहरूले हतारो नगरेको बताए । महताले प्रतिप्रश्न गरे– हाम्रो माग तीनवटै पार्टीले पूरा नगरेकै हुन् भने हामी किन सत्ताको खेलमा लाग्ने ? आफ्ना मुद्दा सम्बोधन गराउन तीनवटै पार्टीसँग वार्ताहरू भइरहेको उनले बताए ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नेपाली कांग्रेसले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आउने विश्लेषण गरिएको थियो । सत्ताको निम्ति सधैँ हतारो गर्ने भनि आलोचना खेप्ने गरेको कांग्रेसले भने यति बेला सरकार गठनको निम्ति अग्रसरता लिएको देखिँदैन । सभापति शेरबहादुर देउवानिकट नेताहरुका अनुसार सरकार बनाउन माओवादीले कांग्रेसलाई प्रस्ताव गरेको छ । तर जसपाको समर्थनबिना सरकार बन्दैन, उनीहरुको विश्लेषण छ, त्यसैले सरकार बनाउने भनेर हाम फालिहाल्ने अनि नबन्ने स्थिति भयो भने कांग्रेसका लागि राम्रो हुँदैन ।