प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र तरुण खबर ८ चैत्र २०७७, आईतवार ००:१०
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र

शेरबहादुर भण्डारी

वि.स. २०७६ मा आफ्नो उडानका कारण अन्य उडान ढिलाई भएपछि “जनतालाई दुःख दिने अधिकार मलाई छैन भन्दै जोसेफा गोन्जाले राजिनामा दिइन्” । वि.स.२०७७ असार १ गते कोरोना महामारी नियन्त्रण गर्न नसकेको कारणले राजीनामा दिए चिलिका स्वास्थ्य मन्त्रिले । वि.स.२०७७ भदौ १२ गते “मेरो स्वास्थ्यका कारण म राजिनामा दिदैछु, मेरो कारणले सरकार अप्ठारोमा नपरोस् भन्दै” जापानका प्रधामन्त्री सिन्जो अबेले राजीनामा दिए ।

सम्माननिय प्रधानमन्त्री खड्कप्रसाद शर्मा ओलीज्यू, सादर नमस्कार छ ।
“एक जना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति पर्दैन तर सामन्तवाद, दलाल, नौकरशाही, पूुँजीवाद र सम्राज्यवादको शोषण रहीरह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउदैन्” । – नेता मदन भण्डारी
अराम छु ।

अरामै हुनु हुन्छ भन्ने कुरा दिनदिनै विभिन्न ठाउँमा भैरहेका सम्बोधन, उद्घाटन र विभिन्न शिलान्यासजस्ता कार्यक्रममा तपाईको उपस्थितिले देखाईले पुष्टि गरेकै छ ।प्रधानमन्त्रीज्यू, प्राणिमा सबैभन्दा मानिस विवेकशील प्राणी हो भनेर बुझिन्छ । यदि मानिसको पनि विवेक गुम्यो भने उसका गतिविधि असामान्य हुन जान्छ । उसप्रति अरु व्यक्तिको धारणा गलत बन्न जान्छ । अन्त्यमा मानिस उसलाई असामान्य मनस्थिति भएको व्यक्तिको रुपमा चित्रण गर्दछन् ।

जनस्तरमा यस्ता टिका टिप्पणी उठ्ने गरेको र तपाई मेरो पनि प्रधानमन्त्री हुनु भएकाले कता कता मनमा नमिठो लाग्ने गरेकोले यो पत्र एउटा नेपाली काँग्रेस कार्यकर्ताको नाताले भन्दा पनि देशको वास्तविक परिस्थिति कस्तो छ ? मेरो देशको प्रधामन्त्रीले के गर्नुपर्दथ्यो ? र, जस्ले म मेरो प्रधानमन्त्रिप्रति गौरव र आदर गर्न पाउथेँ भन्ने पक्षलाई चित्रण गर्ने उद्येश्यले एउटा नेपाली नागरिकको हैसियतबाट यो खुला पत्र लेख्ने जाँगर चलाएको हुँ ।

मुलुक १० वर्षको त्रशादीपूर्ण द्वन्द्वबाट बाहिर निस्केकै बेला देशले दैवी प्रकोप भूकम्प (वि.स.२०७२) को सामाना गर्नु प¥यो भन्ने कुरा मलाइभन्दा तपाई बढी जानकार हुनुहुन्छ । दुर्भाग्य, दुई पटक मुलुकले संविधान सभाको चुनाव व्यहोर्न प¥यो । वि.स. २०७२ सालमा आदरणी नेता सुशिल कोइरालाको नेतृत्वमा संविधान बन्यो ।

त्यसको कार्यान्वयन पक्ष त्यतिकै पेचिलो र जटिल बनाइयो, जसलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विशेष पहलमा संविधान कार्यान्वयनको पहिलो खुड्किलो रुपमा हेरिएको आम चुनाव वि.स. २०७४ सालमा सम्पन्न भयो । पुष्पकमल दाहाल वा तपाई नै प्रधानमन्त्री बन्नु भएको भए पनि चुनाव असम्भव थियो भन्ने तपाईहरुको व्यवहारले देखाएको छ । नेपाली काँग्रेस चुनाव हार्न तयार भएर गराएको निर्वाचनले देशमा एक किसिमको नयाँ परिस्थिति बनायो ।

जसको मूल उद्देश्या थियो–१.देशमा स्थिर सरकार होस्
२. त्यो सरकारले अब मुलुकको विकासको लागि आधार तयार गरोस् ।
सम्माननिय प्रधानमन्त्रीज्यू, संविधान घोषणाको बेला भारतको नाकाबन्दी विरुद्ध तपाईले देखाउनु भएको अडान, शुखी नेपाली र समृद्ध नेपालीको नारा सहित ४७ पेजको ने.क.पा को घोषणा पत्र र तपाई र तपाईकै पार्टीका नेताहरुले जनताका सामु गरेका वाचाको कारण नेपाली जनताले ने.क.पा लाई झन्डै दुई तिहाईको बोझिलो भारी बोकाएका हुन् ।

तर त्यो कुरा तपाई र पार्टीले बिर्सियो ।
चुनावको बेला भनियो— दुई वर्षमा मासुजन्य पदार्थमा आत्म निर्भर, ५ वर्षमा खाद्यान्नमा आत्म निर्भर ,पानी जहाज संचालन, हावाबाट विजुली निकाल्ने, घर घरमा ग्याँस पाइप लाइन पु¥याउने, बृद्धहरुलाई घर घरमा ५ हजार दिने, यूवाहरुले विदेशमा जानु पर्दैन नेपालमा रोजगार पाउँने छन्, घरमा बसी बसी खान पाउने छन्, दुःखका दिन गए, पूर्व–पश्चिम र उत्तर दक्षिण रेलमार्ग, ३ वर्षमा एक घर एक रोजगार, उपत्यकालाई मेघा नगर, भित्री चक्रपथको ट्राम र मेट्रोरेल, ९ महानगरमा १० आधुनिक शहरको विकासजस्ता अनेकौं आश्वासन बाडिएको थियो ।

त्यस्तै घातक रोगको जाँच र औषधी निशुल्क ,उपत्याकामा तीन अन्तरष्ट्रिय रंङ्कशाला आदि आदि घोषणा गरिएको थियो । यति घोषणा पत्रमा नै समित रहनु भएन प्रधान मन्त्रीज्यू, तपाईले नै वि.स. २०७५ साल फागुन ७ गते सुदुरपश्चिमको (७ नम्बर) भ्रमणको क्रममा स्याउले विद्युत ट्रान्स मिसनको उद्धघाटनमा भन्नु भएको थियो– पश्चिम सेती– हाम्रै पालामा बन्छ र अढाई वर्षमा सहजपुर–दिपायल गाडी फिलिलि गुड्छ ।

त्यति मात्रै भन्नु भएन– अब नेपाली जनताले खानाको चिन्ता गर्नु पर्दैन । खानाको लागि त कम्यूनिष्टको सरकार छ धनी हुन मात्र काम गर्नु होस् भन्नु भयो । जस्ता ठाउँ पिच्छे जनतालाई सपना बाँड्दै हिड्नु भयो । उल्टै तिन वर्षको तपाईको कार्यकाल उपलब्धी भन्दा देशले बढी विकृति र विसंगति खेप्नु प¥यो ।

देशको अवस्था र जनताको स्थिरतामा भने कुनै परिवर्तनको अनुभूति हुन सकेन ।
सरकार दुई तिहाईको नशाको उन्मादमा मस्त रह्यो तर मूलुकको सम्पूर्ण अवस्था अस्तव्यस्त भएको कुरा जगजाहेर नै छ । आर्थिक रुपमा मूलुक कमजोर भएको छ । वि.स.२०५९ मा २५ प्रतिशत परनिर्भरता थियो भने हाल ७० प्रतिशतले परनिर्भर बढेकोे छ ।

२१ प्रतिशत जनता गरीबीको रेखामुनी छन् । राजनीति ठिक बाटोमा हिड्न सकेको छैन् । परराष्ट्र (कुटनीति) मामिलामा मूलुक पुरै असफल भएको छ । नेपाली भूमि माथि विदेशीले खुलम्खुला परेड खेलिरहेका छन् । यही हो, तपाइको राष्ट्रवादी खोल ? २०७७ कातिक ५ गते ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भेटकै कारणमा नेपालको नक्सा सहितको किताब वितरणमा रोक लगाइएको छ ।

संविधानको पालन राज्यका मूख्य निकायले नै गरेका छैनन् । कानुनी राज्यको उपहास गरिएको छ । जिउदै गाडिएका दैलेखका पत्रकार डिकेन्द्र थापा, निर्दोष कृष्णप्रसाद अधिकारी, निर्मला पन्तको हत्यारा पत्ता लगाइएको छैन । न्यायलय भष्ट्राचारी र हत्यारालाई चोख्याउने ठाउँ भएको छ । प्रशासनिक निकायलाई चुस्त दुरस्त बनाउन सकिएको छैन ।

पुरानै ढर्रामा चलेका छन् यी निकाएहरु । मूलकका संस्थाहरु जस्तो कि विश्वविद्यालय, अख्तिायारमा राजनितिक हस्तक्षेप बढेको छ । महिला, दलितको अवस्थामा तात्विक परिवर्तन गर्न सकिएको छैन् । अहिलेको नेतृत्व इतिहासकै कमजोर सावित भएको छ । नेताको नैतिकता तल्लो स्तरमा खस्केको छ । मूलुक नाताबाद र कृपावादमा चुर्लुम्म डुबेको छ । दलालहरुको विगविग बढ्दोछ । यूवाको अवस्था दयनिय छ ।

देशका १२ प्रतिशत यूवा बाहिरएका छन् । बेरोजगारी बढ्दो छ । ठूला भ्रष्ट्राचारमा राष्ट्रिय सहमति सबै भन्दा खतरानाक कुरा हो । भ्रष्ट्रचार संस्थागत भएको छ । बेथितिले पराकाष्ट नाघेको छ । राज्यका हरेक निकाय अस्तव्यस्त रहेका छन् । सरकारभन्दा कर्मचारी, मन्त्री भन्दा ठेकेदार न्यायधिश भन्दा विचौलिया बलिया देखिन्छन् । जनता महङ्गीको मारमा छन् ।

मुलकको शासन व्यवस्था दलाल, पूँजीपति चलाएको छ । देशमा उद्योग राजनितिक, शिक्षा र स्वस्थ्य क्षेत्रका मात्र छन् भन्दा पनि भयो । कोभिड–१९ कारणले आर्थिक अवस्था थिलथिलो भएको छ । जस्को कारण अति आवश्यक चिज खाद्यान्न, पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । गरीबी र घरेलु हिंसाको कारण भरखरै दैलखकी सुकी बडुवालले आफ्ना ४ सन्तान सहित कर्णली नदीमा हाम फाली आफ्नो इहलिला समाप्त गरेकी छिन् ।

देशमा गरिबी र अभावका कारण आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दो छ । नेपाल अब शान्तिपूर्ण देश बनेको घोषण गर्दै नेत्रविक्रम चन्द विप्लवसँग सम्झौता भयो । तर वि.स.२०७७ साल चैत १ गते सिराहमा बम विस्फोटन भयो । यसबाट पुष्टि हुन्छ कि देशमा शान्ति प्रक्रिया अझै टुङ्गोमा पुगेको छैन ।

तपाईको कारणले माहामहिम राष्ट्रप्रति विद्यादेवी भण्डारी राजनीतिक विधेक र संवैधानिक परिषद विधयकको कारणले दुई चोटी विवादमा तानिनु भयो । प्रजातन्त्र दिवशको उपलक्ष्यमा सर्बस्वसहित जन्म कैदको फैसला भएक व्यक्तिलाई वर्षेनी कम्युनिष्ट कार्यकर्ता भएकै नाताले आममाफी दिइने चलन महामहिम राष्ट्रप्रतिज्यूबाट हुदै आएको छ ।

प्रतिपक्ष दल नेपाली काँग्रेसले देखाएको भद्रता र गरेको सहयोग संसारमा विरलै पाइन्छ होला । तपाई जस्तो संघर्षशील व्यक्तिबाट देश विकासको १५ वर्षीय नक्सा कोरिनु पर्नेमा, विकासको नक्सा कोर्ने कागज समेत च्यातेर बालुवाटारको त्यो सुरक्षा घेरा र राजसी ठाँटमा बसी शक्तिको राप र ताप ताप्दै “फेरी समानुपातिकमा ५० लाख र दुई तिहाई” चुनावमा ल्याउने गफ दिन अलिकति पनि विवेकशील मानव भएर सोच्नु पर्ने हैन र ?

त्यसमा पनि देशको सर्वाेच्च पदमा आशिन व्यक्तिले यस्ता हर्कत गर्न नसुहाउँने पक्ष हो । ३ वर्षसम्म पार्टीलाई एकिकरण गर्न नसक्नु र सबै प्रतिपक्षलाई टाढा राखेर, आफ्नै पार्टीका वरिष्ठ नेताको अवमूल्यन गरेर एक्लै म मात्रै जान्ने, म मात्रै चलाख र वुद्धिमान भन्ने अह्म र दम्भको बोझो बोकेर तपाइका तिन वर्ष बिते ।
“यो सरकार न फुल्छ नत ढुङ्गा टुसाउँछ भने झैं” तिन वर्षमा पनि नेपाली जनतालाई आश्वासन, मिठा सपना बाँड्न तपाईले छोड्नु भएन ।

ती तपाईले दिएका मिठा आश्वासन नेपाली जनताले शिरानीमा हालेर मिठो निन्द्रामा सुताउनु भयो तर बुझिंदा मूलुकको मूल कानुन कै धज्जी उठाएर जनताप्रति ठूलो बेइमानी, देशप्रति धोकाधडी र पार्टीप्रति ठूलो अविश्वास गरेको देखिन्छ ।

बितेका तिन वर्ष तपाईका लागि यस्तो समय थियो कि जनताले ठूलो आशा र भरोसा गरेको र विपक्षीले पनि पाँचवर्ष पछि मात्रै आफ्नो जिम्मेवारी हो भन्ने आत्मबोध गरेर बसेको पस्थितिमा देश र जनताको पक्षमा खासै उल्लेखनिय काम देखाउनु सक्नु भएन उल्टो भाषण र गफ गरेरै दिन बिताउनु भयो । प्रधानमन्त्री कार्यालय सिंहदरवार नै नगएको झन्डै दुई वर्ष नै हुन लाग्यो ।

बालुवाटार जहाँ प्रधानमन्त्रिको निवास हो । निवास भनेको विश्राम गर्ने ठाउँ हो । निवासबाट नै मुलुक चल्ने भए यतिका कार्यालय किन खोलिन्थ्यो होला ? यती सम्मकि राष्ट्रपति कार्यालय पनि तपाईले बिहानको ब्रेकफाष्ट र दिउँसो कफी खाने स्टेशनमा परिणत गरिदिनु भयो ।

पछिल्लो समयलाई हेर्ने हो भने तिन वटा समय मूलकका लागि स्वर्ण समय थिए । वि.स. २०४८ साल पछि गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारको समय, वि.स. २०६४ पछि पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारको समय र वि.स. २०७४ पछि तपाई (केपी शर्मा ओली) ले नेतृत्व गरेको समय । तर यी तिनै सरकार प्रमूखको कमजोरी भने एउटै प्रकृतिको रह्यो ।

वि.स. २०४८ सालमा ने.का. पार्टीको नेतृत्व गर्दै गिरिजाप्रसाद कोइरालाले लिनु भयो । उहाँले देशलाई नयाँ ढङ्गले लग्ने भन्दा आफ्नो गुट बनाउन थाल्नु भयो । आफ्नै पार्टीका सर्वमान्य नेता गणेशमान सिंह र संस्थापक नेता कृष्णप्रसाद भट्टराई जस्ता व्यक्तिको अपमान हुने गरि आफ्ना गतिविधि अगाडि बढाउनु भयो । आफ्नो कोइराला कम्पनी प्रा.लि. चलाउनु थाल्नु भयो ।

वि.स. २०६४ पछि पुष्पकमल दाहाल प्रचन्डले अनुसाशनको डण्डा लगाउँदै मूलकलाई विकासतर्फ धकल्ने प्रयत्न गर्नुको सट्टा सेनामाथि अधिपत्य जमाउने प्रयत्नमा लाग्नु भयो र परिवारवादमा बढी ध्यान दिनु भयो । वि.स. २०७४ मा राजनीतिक मूद्दामा भन्दा पनि विकासको मुद्दा नै महत्वपूर्ण हो भनेर नेपाली जनताको जन चाहाना थियो । जन चाहाना अनुसार प्रतिपक्षलाई पनि विश्वास दिलाउदै देश निर्माणमा लाग्नु पर्नेमा “अब कोही प्रतिपक्ष रहेन अब नेपाली काँग्रेस पार्टी हाम्रो सहयोगी पार्टी हो जस्ता अपमानजनक शब्दबाँड छोड्नु भयो ।”

त्यतिले पुगेन आफ्नै पार्टीका वरिष्ठ नेता पूर्व प्रधानमन्ीत्र झलनाथ खनाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेतालाई पार्टीमा कुनै महत्व दिनु भएन । सत्ता साझेदारी गरेको माओवादी एकिकृतका नेता पुष्पकमल दाहाल प्रचण्डलाई समेत टाढा राख्ने काम गर्दै अपमानित भएको महशुस गराउनु भयो ।
राजनीति सबै नीतिको राजा मानिन्छ ।

जुनकुरा म जस्तो व्यक्तिले प्रधानमन्त्रीलाई सम्झाई राख्नु के पर्ला र ? त्यै पनि महात्मा गान्धीले भनेको कुरालाई सम्झिदा “नैतिकता विनाको राजनिति महापाप हो” भनेका छन् । संसारमा यस्ता व्यक्ति राजनेता बने जस्ले आदर्श र नैतिकतालाई आफ्नो व्यवहारिक राजनीतिक जिन्दगिमा महत्वपूर्ण स्थान दिए । जस्तो कि गिरीजाप्रसाद कोइराला पटक पटक प्रधानमन्त्री बन्नु भयो ।

तर गणेशमान सिंहले आफ्नो प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई सुम्पनु भयो । नेशनल मण्डेला एक चोटी मात्रै राष्ट्रपति बने भने महात्मा गान्धी एक पटक पनि प्रधामन्त्री बन्नु भएन । सिंहदवारमा आगो लागेकै कारणले तत्कालिन शिक्षा मन्त्रि किर्तीनिधि बिष्टले राजीनामा दिएका थिए । वि.स. २०७६ मा आफ्नो उडानका कारण अन्य उडान ढिलाई भएपछि “जनतालाई दुःख दिने अधिकार मलाई छैन भन्दै जोसेफा गोन्जाले राजिनामा दिइन्” ।

… वि.स.२०७७ असार १ गते कोरोना महामारी नियन्त्रण गर्न नसकेको कारणले राजीनामा दिए चिलिका स्वास्थ्य मन्त्रिले । वि.स.२०७७ भदौ १२ गते “मेरो स्वास्थ्यका कारण म राजिनामा दिदैछु, मेरो कारणले सरकार अप्ठारोमा नपरोस् भन्दै” जापानका प्रधामन्त्री सिन्जो अबेले राजीनामा दिए ।

पछिल्लो समयमा ओली निकट कार्यकर्तालाई छोडेर मूल्याङ्कन गर्ने हो भने सम्माननिय प्रधानमन्त्रीज्यू, जनताको नजरमा तपाईको छबीको गिरावट धेरै तल झरेको छ । त्यसमा पनि तपाई दुई ठाउँबाट असफल भैसक्नु भएको छ । पछिल्लो समय आफ्नै पार्टीका अधिकांश नेता तपाईले प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्दछ भन्दै छन् भने दोस्रो सर्वोच्च अदालतले पनि तपाईको कदम गलत छ भनेर प्रमाणित गरिसकेको परस्थिति छ ।

सम्माननिय प्रधानमन्त्रिज्यू, आफुसँग अलिकति विवेक बाँकी भएको अनुभूति छ भने तत्काल राजिनामा दिनुहोस्, छैन भने पनि केही छैन । तपाईको बाँकी राजनीति आदर्श केही मात्रामा भएपनि बाँच्ला हैन भने जवरजस्ती, गफ र तर्कले मात्रै राजनीति चलाउनु भयोे भने तपाईसँग पद त रहन सक्ला तर तपाईको निष्ठा, इज्जत र मान–प्रतिष्ठ तपाई भन्दा अगाडि नै आर्यघाटमा पुगि सकेको हुनेछ ।

(लेखक शेरबहादुर भण्डारी नेपाली काँग्रेसको संगठन विभाग केन्द्रिय सदस्य हुनुहुन्छ)