काठमाडौं । ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सहुलियत ब्याजदरमा आवासीय कर्जा दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बोधिले भैरहवामा निर्माण गर्ने घर जग्गा खरीदमा बैंकले सहुलियत दरमा घर कर्जा दिनेछ । बोधिले निर्माण गर्ने परियोजनामा ग्लोबल बैंकिङ पार्टनर बनेको छ ।
भैरहवामा बोधि होम्स् हाउजिङ परियोजनामा कुल ३ सय घरहरु निर्माण हुनेछ । दुई चरणमा निर्माण हुने हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुनेछ । पहिलो चरणमा बन्ने घरहरुको निर्माण १८ महिनाभित्र सक्नेगरी काम सुरु भइसकेको छ । दोस्रो चरणमा बन्ने घरहरुको निर्माण मंसिर २०७८ बाट सुरु गरेर दुई वर्षमा सक्ने योजना रहेको छ । कुल १४ बिघा (एक सय ८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हुने देखिन्छ ।