एनसीसी बैंकको ऋणपत्र पर्सीदेखि निष्काशन गर्ने

एनसीसी बैंकको ऋणपत्र पर्सीदेखि निष्काशन गर्ने तरुण खबर ११ चैत्र २०७७, बुधबार १७:२५
एनसीसी बैंकको ऋणपत्र पर्सीदेखि निष्काशन गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको नाम ‘दशलब ५ प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो । सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र निस्काशन तथा बिक्री छिटोमा चैत १८ गते बन्द हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २७ गतेसम्म लम्बिनेछ । सो ऋणपत्रको अवधि १० वर्षको रहेको छ । बैंकले वार्षिक ९ दशमलब ५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । त्यसैगरी, इक्राले ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी एल त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यस्तो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।