सर्वोत्तम सिमेन्टले सर्वसाधारणमा सेयर जारी गर्ने

सर्वोत्तम सिमेन्टले सर्वसाधारणमा सेयर जारी गर्ने तरुण खबर ११ चैत्र २०७७, बुधबार १७:२९
सर्वोत्तम सिमेन्टले सर्वसाधारणमा सेयर जारी गर्ने

कम्पनीले तीन महिनामै बोनस दिने

काठमाडौं । गत फागुनमै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको सर्वोत्तम सिमेन्टले केही ढिलो भएपनि यसको तयारी लगभग पूरा गरेको छ । कम्पनीले सेयरको प्राथमिक निष्काशन (आईपीओ) का लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० लाख कित्ता साधारण सेयरको बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटलसँग चैत ४ गते बुधबार सम्झौता गरेको थियो ।

यस्तै, एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल यसको सह–बिक्री प्रबन्धकमा नियुक्त भएका छन् । कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता साधारण सेयरमध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई गरि २८ लाख कित्ता छुट्याइएको छ । यो सेयर जारीपछि सर्वोत्तमको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ । अहिले यसको पुँजी तीन अर्ब ४० करोड रुपैयाँ छ । सर्वोत्तम सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउन लागेको नेपालको दोस्रो सिमेन्ट कम्पनी हो । यसअघि शिवम्ले थप दुई सय रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई कम्पनीको मालिक बनाएको थियो भने सर्वोत्तमले त्योभन्दा फरक विधिबाट प्रिमियम मूल्यमै सेयर जारी गर्न लागेको हो ।

सर्वोत्तमले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरेर सेयर जारी गर्न लागेको हो । यस विधिबाट सेयर बिक्री गर्नका लागि कम्पनीले आन्तरिक मूल्यांकनबाट प्रतिकित्ता जारी मूल्य ७५० रुपैयाँभन्दा बढी हुने दाबी गरेको छ । यद्यपि यो अन्तिम मूल्य भने होइन । संस्थागत लगानीकर्ताले बोलकबोलबाट यसको कट अफ मूल्य तय गर्नेछन् भने त्यसको १० प्रतिशत कममा सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने हुन्छ । सर्वोत्तमले ७५० रुपैयाँलाई नै कट अफ मूल्य मानेर सर्वसाधारणलाई पर्ने मूल्य त्यसको १० प्रतिशत (रु. ७५) कम अर्थात् प्रतिकित्ता ६७५ रुपैयाँ हुने जिकिर गरेको छ । यस्तै, कम्पनीले स्वमूल्यांकनबाट प्रतिकित्ता सेयर मूल्य ७५० रुपैयाँ हुने दाबी गर्नुका केही आधारहरु समेत उल्लेख गरेको छ ।

यस्तै, कम्पनीका अनुसार यसले उत्पादनको पहिलो वर्षदेखि नै नाफा कमाउन थालेको र विगत तीन वर्षयता भने वार्षिक औसत नाफा रकम एक अर्ब चार करोड रुपैयाँभन्दा बढी रहेको बताएको छ । यो नाफाको आधारमा विगत तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको छ भने आगामी तीन वर्षको प्रक्षेपण ४५ रुपैयाँभन्दा बढी हुने देखिएको कम्पनीको दावी छ । प्राथमिक सेयर निष्काशनबाट प्राप्त रकममध्ये ४० प्रतिशतले कम्पनीले विद्यमान सबै ऋण भुक्तानी गरेर ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर पार्ने योजना अघि सारेको छ । यसबाट चार वर्षपछि सर्वोत्तमको लगानीमा वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण रहेको पनि जिकिर गरिएको छ ।