आफ्नै गाउँको हिमाल चढ्दै कान्छी डोल्मा ह्योल्मो

आफ्नै गाउँको हिमाल चढ्दै कान्छी डोल्मा ह्योल्मो तरुण खबर १२ चैत्र २०७७, बिहीबार १६:५९
आफ्नै गाउँको हिमाल चढ्दै कान्छी डोल्मा ह्योल्मो

नयाँ ट्रेकिङ रुट बनाउँदै हेलम्बु गाउँपालिका

काठमाडौं । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्ला भौगोलिक रूपमा जति विकट छ, उति नै प्राकृतिक दृष्टिले भरिपूर्ण छ ।  उत्तरमा जुगल हिमाल शृंखला लाङ पोगाङ र दोर्जे ल्हाक्पाजस्ता प्रसिद्ध र उच्च हिमचुचुराहरुले सिन्धुपाल्चोकको गौरव बढाएका छन् । र, यी हिमालहरु मुकुटझै बसेका छन् । जिल्लाको उत्तरी साँध जनवादी गणतन्त्र चीनको तिब्बती प्रदेशसँग जोडिएको छ । नेपालका हिमालहरू जानकारमध्येका डा.टोनी हेगनले लाङ पोगाङलाई लोङ गोपो नामक एउटा सानो गाउँको नामले हिमालको नामाकरण भएको हो कि भनी अनुमान गरेका छन् । तर जापानी विज्ञ अकिरा तकाहासीले बीग श्वेत टाकुरा (ह्वाइट पिक स्थूल) नाम प्रस्ताव गरेका थिए । लाङ पोगाङ हिमालको उचाइ ६ हजार ८ सय मिटर (२२,३१० फिट) छ । (सूचना विभागद्वारा प्रकाशित मेचीदेखि महाकाली)

हेलम्बु गाउँपालिकाले समृद्ध हेलम्बुका लागि विभिन्न विकास योजना अगाडि सारेको छ । ग्रेट ट्रेल, मोडल विद्यालय, गुम्बाहरुको पुनर्निर्माण, नेपालमै सबैभन्दा बढी झोलुङ पुल निर्माण गरेर गाउँपालिकाले किर्तिमान राखेको छ । हालै पर्यटन प्रवर्धनका लागि हेलम्बुका हिमाल चढाउने योजना सार्वजनिक गरेको छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिकको गन्तव्यको रूपमा रहेको छ । हेलम्बु गाउँपालिकाको केन्द्र किउल काठमाडौँबाट जम्मा ५५ किलोमिटरको दुरीमा छ । कुनै समय हेलम्बु पर्यटकहरुको पहिलो रोजाइमा पदथ्र्यो । माओवादी कथित युद्धको सुरुदेखि समाप्त भएको हो । अहिले हेलम्बुको पर्यटक र पर्यटन व्यवसाय उठ्ने जमर्को गर्दैछ । आर्थिक समृद्धिका लागि पर्यटन व्यवसायको आवश्यकतालाई महसुश गर्दै गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यहरूको खोजि सुरू गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् । सन्धुपाल्चोको हेलम्बु हुँदै घ्यान्जला पास भएर वा सेमिसादाङ भएर पनि नेपालको प्रसिद्ध लाङटाङ हिमाल पुग्न सकिन्छ ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वधनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको बिकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजारदेखि ६ हजार ८ सय मिटर उचाइसम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरिसकेको छ । यहि चैत्र १३ गते माउन्टेन गाईड सोनाम लामाको नेतृत्वमा एउटा टोलीले हेलम्बुको एउटा नयाँ चुचुराको आरोण गर्ने कार्यक्रम तय भएको छ । सो टोलीमा सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मो, माउन्टेन गाइड राजिव गुरुङ लगायत ३ सदस्यीय टोलीले  १३ गते ५ हजार ८ सय मिटर अग्लो आमापेंग्रेमा चुचुराको आरोहण गर्ने भएका छन् । काठमाडौँबाट हेलम्बुको तार्केघ्याङ हुँदै नयाँ चुचुरो आमापेंग्रेमाको आरोहण गरेर ठाडेपाटी, घोप्टेघ्याङ हुँदै फर्किने सो टोलीले १३ दिनको ट्रेकिङ रुट तय गरेको छ । यो रुटले हेलम्बुको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको माउन्टेन गाइड सोनाम लामाले बताए ।

यही मंसिर १८ गते मिरेका एडभेन्चरर्स प्रालिका आरोही सतिशमान पतिको नेतृत्वमा पासाङ भोटे र जितबहादुर तामाङले ५ हजार ६०८ मिटर उचाइको हिमाल अराहण गरेका थिए । तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०८ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण सम्पन्न गरेका हुन्  । उनीहरूले हेलम्बुको आमायांग्री हुँदै गञ्जला बेसबाट तीन दिन लगाएर उक्त हिमाल आरोहण गरेका हुन् । तर हेलम्बुबाट जान सकिने विभिन्न हिमालमध्ये नौवटा हिमालको नाम अझै राखिएको छैन ।

हेलम्बु गाउँपालिकाको पहलमा नयाँ गन्तव्यसँगै नयाँ ट्रेकिङ रुट बन्न लागेको हो । यसले हेलम्बुलगायत सिन्धुपाल्चोक जिल्लाकै पर्यटन विकासमा ठूलो योगदान पु¥याउने पालिका अध्यक्ष शेर्पाको दाबी छ । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्यहरू रहेका छन् ।
तस्बिरः सञ्जीव अधिकारी